काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका त्रुटी, विरोधाभास र अपूर्णताहरू सच्याउँदै संशोधनमार्फत थप समावेशी, न्यायपूर्ण र समृद्ध बनाउने जिम्मेवारी रास्वपामाथि आएको बताउनुभएको छ ।
चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष यादवले मुलुक अझै पनि सुशासन, समृद्धि, सामाजिक न्याय र वास्तविक समानताको खोजीमा रहेको बताउनु भयो ।
उहाँले संविधानले संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धि संस्थागत गरे पनि ती विषयहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले संविधानभित्रै विरोधाभास र अपूर्णता रहेको उल्लेख गर्दै विभेदमा परेका समुदाय, जातजाति र सांस्कृतिक समूहहरूको अधिकार सुनिश्चित गर्न संविधान परिमार्जन अपरिहार्य रहेको बताउनु भयो ।
उहाँले संविधान संशोधनमार्फत विद्यमान विकृति र विसंगतिहरू हटाई देशको राजनीतिक तथा सामाजिक रूपान्तरणलाई नयाँ उचाइमा र्पुयाउनुपर्ने आवश्यकता औँल्याउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणमा रास्वपाले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मुलुकमा अहिले सुशासन, समृद्धि र सामाजिक न्याय खोजिरहेको छ । मुलुक अहिले सयौँवर्षदेखि विभेदमा परेका, विभेदमा पारिएका विभिन्न भेषभुषा र जातजातीका मानिसहरुले समानताको हक र अधिकार चाहिरहेको अवस्था छ । मुलुकमा विगतमा संविधान सभाबाट संविधानको घोषणा गरियो । त्यो संविधान त्रुटिपूर्ण, अधुरो र अपुरो रहेको छ । आफैंभित्र विरोधाभास रहेको छ । निश्चित रुपमा यसमा केही महत्वपूर्ण आयामहरु पनि छन् । संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण पक्षहरु भएपनि ती धेरै कुराहरु अपुरा र अपूर्ण रुपमा रहेका छन् । र अहिलेको आवश्यकता संविधानलाई संशोधन गरी, संविधानलाई परिमार्जन गरी संविधानमा रहेका विकृति र विसंगतिलाई हटाएर संविधानलाई समृद्ध बनाउनुपर्ने ऐतिहासिक जिम्मेवारी पनि यहाँहरुमाथि आइपुगेको छ ।’
उहाँले मुलुकलाई समृद्धिको दिशामा लैजान सफलता मिलोस् भन्दै रास्वपा परिवारलाई शुभकामना दिनुभयो ।










