७ असार २०८३, आईतवार
,
Latest
बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव



अ+ अ-

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति अझ स्पष्ट, दृढ र विश्वसनीय प्रतिबद्धता जनाउन आग्रह गरेका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै पुनले छोटो समयमै उल्लेखनीय जनसमर्थन हासिल गरेको रास्वपाप्रति आम नागरिकको विशेष चासो र अपेक्षा रहेको बताए।

उनले महाधिवेशनबाट चयन हुने नेतृत्व, तय हुने विचार, रणनीति र कार्यदिशाले राष्ट्रिय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसको महत्त्व निकै ठूलो रहेको उल्लेख गरे।

‘विशाल जनमतसहितको सत्तारुढ दलको यो महाधिवेशनलाई देशभरबाट चासोपूर्वक हेरिएको छ। यहाँबाट तपाईंहरूले कस्तो नेतृत्व, विचार र राजनीतिक मार्ग तय गर्नुहुन्छ भन्ने विषयले समग्र राष्ट्रिय राजनीतिलाई प्रभाव पार्नेछ,’ पुनले भने।

उनले रास्वपा र माओवादी केन्द्रबीच केही वैचारिक, नीतिगत, व्यवहारगत तथा शैलीगत भिन्नता रहेको स्वीकार गर्दै रास्वपाको नियतमाथि भने आफूहरूको कुनै शंका नरहेको बताए।

पुनले संविधान, लोकतन्त्र र स्थापित राजनीतिक प्रणालीबारे रास्वपामाथि उठ्दै आएका प्रश्न र आशंकाहरू महाधिवेशनमार्फत सम्बोधन हुने विश्वास व्यक्त गरे। ‘हामी चाहन्छौँ, सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति तपाईंहरूको प्रतिबद्धता अझ प्रस्ट रूपमा अभिव्यक्त होस्,’ उनले भने।

उनले पहिलो राष्ट्रिय महाधिवेशनले रास्वपालाई वैचारिक तथा सङ्गठनात्मक स्पष्टता प्रदान गर्दै भविष्यको राजनीतिक दिशाबारे थप परिपक्व बनाउने अपेक्षा पनि व्यक्त गरे।




भर्खरै