मुस्ताङ। तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले आयोजित तिलिचो ताल भक्ति यात्रा, २०८३ सम्पन्न भएको छ । श्री १००८ स्वामी ऋषि प्रपन्नचार्यको सङ्कल्पमा आयोजना गरिएका यात्रा आज सकिएको हो ।
विभिन्न स्थानबाट सहभागी भक्ति यात्रामा सहभागी भक्तजनहरुले मुस्ताङको जोमसोम, ठिनी हुँदै तिलिचो तालको भक्ति यात्रा तय गरेको थियो । मुस्ताङ हुँदै तिलिचो पदमार्गमा पर्ने प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली क्षेत्रको अवलोकन गर्दै भक्ति यात्रा टोली धार्मिक तथा सांंस्कृतिक गतिविधिमा सहभागी भएका थिए ।
प्रपन्नाचार्यसहित सहभागीहरु भक्ति यात्रा टोलीले तिलिचो तालमा वाल्मीकीय रामायण पाठपरायण तीर्थ पूजा आराधना, भजन कीर्तन तथा सत्सङ्ग कार्यक्रम सञ्चालन गरेका यात्रामा सहभागी गुरु ईश्वर रेग्मीले जानकारी दिनुभयो । भक्तजनहरुबीचको धार्मिक आस्था, आपसी सद्भाव तथा आध्यामिक चेतनाको विकास गर्न भक्ति यात्राले महत्वपूर्ण योगदान पु¥याएको गुरु रेग्मीले उल्लेख गर्नुभयो ।
यसअघि तिलिचो भक्ति यात्राका लागि मुस्ताङ आएको टोली मुस्ताङको घरपझोङ गाउँपालिका यात्रासम्बन्धी अन्तरक्रिया गरेको थियो । टोलीले तिलिचो भक्ति यात्रा पूरा गरेसँगै व्यवस्थापनका लागि सहयोग पु¥याएको प्रतिघरपझोङ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायलगायत सरोकारवाला निकायलाई धन्यवाद व्यक्त गरेको छ ।
यात्रा टोलीले यसप्रकारको धार्मिक तथा आध्यात्मिक यात्रा आगामी वर्षहरुमा पनि निरन्तरता दिँदै जाने उल्लेख गरेको छ । यात्राका लागि तिलिचो पुगेको भक्तजनसहितको टोलीले सुख, शान्ति र समृद्धिको कामना गरिएको थियो ।
पौराणिककालमा काग भुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरेर कागबेनी धाममा स्नान गरेको जनविश्वास छ । रासस












