८ असार २०८३, सोमबार
,
Latest
उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड



अ+ अ-

काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३÷०८४ का लागि करिब रु ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिका उपप्रमुख स्वस्थानी रिजालले १३ औँ नगर अधिवेशनका अवसरमा आइतवार रु ८९ करोड ९९ लाखको बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाले ‘समृद्ध सुन्दर कुश्मा नगर’ निर्माणको दीर्घकालीन लक्ष्यलाई आधार बनाएर पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा सुशासनलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरेको जनाएको छ ।

प्रस्तुत बजेटमध्ये चालुतर्फ ५३ दशमलब २५ प्रतिशत र पुँजीगततर्फ ४६ दशमलब ७५ प्रतिशत रकम विनियोजन गरिएको छ । बजेट कार्यान्वयनका लागि सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा मौज्दात रकमलाई स्रोतका रूपमा अनुमान गरिएको उपप्रमुख रिजालले जानकारी दिनुभयो ।

नगरसभाले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधारतर्फ निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन सम्पन्न गर्न रु दुई करोड विनियोजन गरेको छ । वडा तहका सडक, खानेपानी तथा सिँचाइ आयोजनाका लागि रु सात करोड ५० लाख बजेट व्यवस्था गरिएको छ । वडा नं ९ मा सञ्चालन हुने ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत कटुवाचौपारी–मल्याङ्दीखोला लिफ्ट खानेपानी आयोजनाका लागि रु एक करोड विनियोजन गरिएको छ ।

कृषि उत्पादन वृद्धि तथा खाद्य सुरक्षालाई प्राथमिकता दिँदै कृषि यान्त्रीकरण र प्लाष्टिक टनेल विस्तार कार्यक्रमका लागि रु एक करोड ४५ लाख विनियोजन गरेको छ । शिक्षा क्षेत्रतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न रु १५ लाख, सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्न रु १३ लाख ८१ हजार तथा दिवा खाजा कार्यक्रमका लागि रु ७३ लाख एक हजार बजेट छुट्याइएको छ ।

यसैगरी पर्यटन प्रवद्र्धनका लागि गुप्तेश्वर धार्मिक पर्यटन प्रवद्र्धन केन्द्रमा रु ९० लाख तथा लक्ष्मीनारायण मन्दिर (शालग्राम आश्रम) का लागि रु १० लाख बजेट विनियोजन गरिएको उपप्रमुख रिजालले जानकारी दिनुभयो । विपद् व्यवस्थापनका लागि रु ४० लाख तथा फोहोरमैला व्यवस्थापनका लागि रु ३० लाख छुट्याइएको छ ।

साथै स्थानीय सरकारको सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र जवाफदेही बनाउन आवश्यक बजेट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ मा नगरपालिकाले रु ८९ करोड ९७ लाख ४० हजार बजेट कार्यान्वयन गरिरहेको छ ।

असार ५ गतेसम्म रु ५५ करोड ८२ लाख ३६ हजार खर्च भई ६१.७४ प्रतिशत वित्तीय प्रगति हासिल भएको नगरपालिकाको तथ्यांक रहेको छ । उपप्रमुख रिजालले बजेटले नगरवासीको विकास आकांक्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै पूर्वाधार, उत्पादन, रोजगारी, शिक्षा र सामाजिक विकासमार्फत समृद्ध तथा सुन्दर कुश्मा निर्माणमा टेवा पुग्ने बताउनुभयो ।

यस अघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरप्रमुख रामचन्द्र जोशीले प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा नगरभित्र सडक, खानेपानी, सुशासन पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण र पर्यटन प्रवद्र्धन लाई मुख्य जोड दिइएको छ ।

सबैभन्दा बढी जोड संस्थागत सुदृढीकरण, डिजिटल प्रशासन र पूर्वाधार विकासमा दिइएको छ भने आर्थिक समृद्धिको माध्यमका रूपमा कृषि र पर्यटनलाई अगाडि सारिएको छ । जिल्लाका सात स्थानीय तहमध्ये पहिलोपटक कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।