८ असार २०८३, सोमबार
,
Latest
पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि श्रीलंकाली महामहिम राजदूत रुवान्थी डेल्पिटियाले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा शुभकामना आदानप्रदान पश्चात् नेपाल–श्रीलंका सम्बन्धका विविध आयामबारे संवाद भएको थियो । उपराष्ट्रपति यादवले नेपाल र श्रीलंकाबीचको सम्बन्ध मित्रता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित रही सन् १९५७ जुलाईमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि निरन्तर विस्तार हुँदै आएको उल्लेख गर्नुभयो ।

उहाँले दुई देशबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्ध, जनस्तरबीचको आपसी सम्बन्ध तथा बुद्ध धर्मसँगको ऐतिहासिक सम्बन्धले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लुम्बिनीलाई ‘विश्व शान्तिको मुहान’का रूपमा विकास गर्न श्रीलंका सरकारले पुर्याएको योगदानप्रति नेपालले प्रशंसा गर्दछ । ’

उपराष्ट्रपति यादवले श्रीलंकाली तीर्थालुहरूका लागि लुम्बिनी पवित्र स्थल रहेको र काठमाडौं–कोलम्बो सिधा उडानले भ्रमणलाई सहज बनाएको उल्लेख गर्नुभयो । हालै सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् कोलम्बो–भैरहवा सिधा उडानले श्रीलंकाली पर्यटकलाई लुम्बिनी भ्रमणमा थप प्रोत्साहन दिने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।

नेपालले श्रीलंकाली पर्यटकलाई निःशुल्क पर्यटक भिसा सुविधा दिँदै आएको र श्रीलंका सरकारले पनि नेपाली नागरिकलाई निःशुल्क पर्यटक भिसा सुविधा प्रदान गर्ने निर्णय गरेकोमा उपराष्ट्रपति यादवले खुशी व्यक्त गर्नुभयो । उहाँले यसले पर्यटक प्रवाह बढाउने, जनस्तरबीचको सम्बन्धलाई बलियो बनाउने तथा मित्रतालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालले श्रीलंकासँगको सम्बन्धलाई सधैं उच्च महत्व दिने उल्लेख गर्दै उपराष्ट्रपति यादव भन्नुभयो, ‘करिब सात दशकदेखि रहँदै आएको सम्बन्ध पारस्परिक सम्मान, मित्रता र साझा संस्कृतिमा आधारित रही आजका दिनमा अझ प्रगाढ बनेको र आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गर्दछु ।’

श्रीलंकाली महामहिम राजदूत रुवान्थी डेल्पिटियाले दुई राष्ट्रबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल र श्रीलंका व्यापार, पर्यटन लगायतका क्षेत्रमा थप सहकार्य गर्न सक्ने बताउनुभयो ।

उहाँले पर्यटनको विकासका लागि ‘टूरिज्म स्कूल’को स्थापना गरी दुई देशका विद्यार्थीलाई ‘इन्टर्नसिप’मा पठाउन सकिने सम्भावनाबारे जानकारी दिनुभयो ।