काठमाडौँ। प्रतिपक्ष दल नेकपा (एमाले) ले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिने चिया उद्योगमा देखिएको संकटका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झापा र इलाम क्षेत्रका ८३ भन्दा बढी चिया उद्योगहरू बन्द भएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको बताउनुभएको हो ।
यसलाई राष्ट्रिय समस्याको रूपमा एमालेले चित्रण गरेको छ । उद्योगहरू बन्द हुँदा ६० हजारभन्दा बढी मजदुर बेरोजगार भएको र यसले राष्ट्रिय उत्पादन एवं निर्यातमा ठुलो धक्का पु¥याएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘चिया क्षेत्रको यो समस्या एक गम्भीर राष्ट्रिय समस्या हो। यसको दीर्घकालीन समाधानका लागि सरकारले अविलम्ब कूटनीतिक पहल गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’
प्रमुख सचेतक महरले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र कानूनी कारबाहीका सन्दर्भमा सरकारले विधि सम्मत प्रक्रिया (ड्यू प्रोसेस अफ ल) अपनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले कुनैपनि राजनीतिक दलका नेता वा कार्यकर्ताले गल्ती गरेको खण्डमा कानूनी दायरामा ल्याउनुपर्ने तर त्यसो गर्दा राजनीतिक प्रतिशोध साँध्न नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘एमालेका नेता–कार्यकर्ताले पनि कमी–कमजोरी गरेका छन् भने पक्राउ गरियोस्, तर कानूनी प्रक्रियाको पूर्ण पालना हुनुपर्छ । सरकारले आफ्नालाई काखा र अरूलाई पाखा गर्ने नीति लिनु हुँदैन । राज्य र सरकार सबैको साझा हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
विगतका निर्वाचन र राजनीतिक घटनाक्रमलाई स्मरण गराउँदै महरले राजनीतिक प्रतिशोधको बाटो नहिँड्न सरकारलाई सचेत गराउनु भयो । सरकारले सबैलाई समान व्यवहार गर्दै विधिको शासनको अगुवाइ गर्नुपर्ने एमालेको धारणा रहेको उहाँले उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल












