१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव



फाइल फोटो
अ+ अ-

कास्की। कृषि, पर्यटन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा २१औँ संस्करणको असारे रोपाइँ महोत्सव आयोजना गरिने भएको छ ।

पोखरा पर्यटन परिषद्ले यही असार १४ गते पोखरा महानगरपालिका–३० देउराली खोलाको छेउमा ‘पोखरा सबै मौसमका लागि’ नारासहित महोत्सव आयोजना गर्न लागेको हो ।

हरेक वर्ष राष्ट्रिय धान दिवसका अवसरमा असार १५ गते रोपाइँ महोत्सव गर्ने गरिए पनि यस वर्ष पूर्णिमा परेको र कृषकले हल गोरु नचलाउने परम्परा रहेकाले एक दिन अघि सारिएको हो ।

महोत्सवमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली असारे रोपाइँ संस्कृतिको प्रत्यक्ष अनुभव गराउने लक्ष्य रहेको परिषद्ले जनाएको छ ।

महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष तारानाथ पहारीले भारतीयसहित विभिन्न मुलुकका पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको बताउनुभयो ।

उहाँले परम्परागत धानखेती प्रणालीको संरक्षण, कृषिप्रति युवापुस्ताको आकर्षण अभिवृद्धि तथा कृषि पर्यटनको विकासका लागि महोत्सवलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

“पोखरा भ्रमण वर्षलाई सफल बनाउने, गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा नयाँ पुस्तालाई मौलिक कृषि संस्कृतिसँग जोड्ने महोत्सवको उद्देश्य छ”, अध्यक्ष पहारीले भन्नुभयो ।

महोत्सवका संयोजक तथा परिषद्का महासचिव जीवनराज सापकोटाले विदेशी पर्यटकलाई धान रोपाइँ, हिलो खेल तथा ग्रामीण जीवनशैलीको अनुभव गराउने विशेष कार्यक्रम समावेश गरिएको बताउनुभयो । कृषि र पर्यटनलाई एकै सूत्रमा जोड्दै स्थानीय उत्पादन, संस्कृति र जीवनशैलीको प्रवद्र्धनमा महोत्सवले योगदान पु¥याउने उहाँको भनाइ छ ।

पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले महोत्सवले लेखनाथ क्षेत्रसहित पोखराका अन्य पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सहयोग पुग्ने बताउनुभयो । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले महोत्सवले स्थानीय आर्थिक गतिविधि र पर्यटन व्यवसायलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा हिले फुटबल, पत्रकार हिले दौड, माछा समाउने प्रतियोगिता, धान रोपाइँ प्रतियोगिता, रस्साकस्सी, साउने प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सव पोखराको कृषि संस्कृति तथा पर्यटन प्रवद्र्धनलाई जोड्ने विशिष्ट कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ । रोपाइँ महोत्सवमा आन्तरिकसहित विदेशी पर्यटक उल्लेख्य रुपमा सहभागी हुँदै आएका छन् । रासस