२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ध्वाँसे चितुवा संरक्षणमा नेपाल उत्कृष्ट पाँचमा पर्यो



अ+ अ-

काठमाडौँ । नेपालको ध्वाँसे चितुवा संरक्षण परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । ‘युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन’ले विश्वभरबाट छानेको संरक्षण परियोजनामध्ये नेपालको परियोजना उत्कृष्ट पाँचमा परेको हो । उत्कृष्ट पाँचबाट सबैभन्दा उत्कृष्ट छनोट हुने क्रममा यति बेला विश्वभरबाट अनलाइन मतदान चलिरहेको परियोजना निर्माण गर्ने नेपालस्थित प्रकृतिका साथीहरू नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए ।

“कास्की जिल्लाको मादी गाउँपालिकामा करिब तीन वर्षअघि क्यामरा ट्र्यापिङमा ध्वाँसे चितुवा देखिएपछि संरक्षणको पहल सुरु गरेका थियौँ”, उनले थप्दै भने, “दिनभर नदेखिने ध्वाँसे चितुवा रातमा मात्र विचरण गर्ने हुँदा स्थानीयवासी पनि यसबारे अञ्जान छन् । ” त्यसैले यस क्षेत्रमा ध्वाँसे चितुवा जोगाउँदै पर्यटन र संरक्षणमार्फत स्थानीयवासीको जनजीविका सहज बनाउने गरी परियोजना तयार गरेको उनले बताए। विगतमा तीन पटकसम्म छनोट हुन नसकेको परियोजना बल्ल यसपटक छनोटमा परेको खुसी उनले साटे ।

उनका अनुसार एसोसिएसनले हरेक छ महिनामा विश्वभरबाट यस्तै खालको संरक्षण परियोजनाको प्रस्तावना आह्वान गर्ने गर्छ । परेका आवेदनमा संस्थासँग आबद्ध विज्ञ समूहले मूल्याङ्कन गरेपछि छनोट हुन्छ । यसमा वन्यजन्तु, फोहोरमैला र पहाड वन शीर्षकको संरक्षणको मापदण्ड तोकिएको हुन्छ । त्यसभित्र परेपछि बल्ल अर्को छनोटका चरणमा प्रवेश गर्छ । त्यसबाट छानिएर नेपालको ध्वाँसे चितुवा संरक्षण परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको हो । बिहीबारसम्म कुल आठ हजार सात सय मतदान भएको छ ।

अब तीन दिन मात्र मतदान हुने छ । नेपालको ध्वाँसे चितुवाबाहेक मेक्सिकोको मरुन फ्रन्टेड प्यारोट संरक्षण परियोजना, कोलम्बियाको वन हेरालु संरक्षण परियोजना, इक्वेडरको दस हजार वृक्षरोपण परियोजना र अर्मानियाको मानव–भालु द्वन्द्व समाधान परियोजना उत्कृष्ट पाँचभित्र रहेको छ । मतदानमा नेपाललाई अर्मानियाको परियोजनाले पछ्याउँदै हालसम्म दोस्रो स्थानमा रहेको जनाइएको छ । सबैभन्दा उत्कृष्ट ठहरिएको खण्डमा परियोजनाले ३० हजार युरो हात पार्नेछ ।

प्राप्त रकम मादी गाउँपालिकाको सिक्लेस र ताङ्तिङ बस्तीमा मानव र ध्वाँसे चितुवा द्वन्द्व समाधानसँगै संरक्षण, पर्यटनमार्फत पर्यापर्यटनको प्रवद्र्धन र संरक्षण शिक्षामा खर्च गर्ने योजना परियोजनाले तय गरेको जानकारी आचार्यले दिए ।

सजिलो छैन संरक्षण
बिरालो वर्गमा पर्ने ध्वाँसे चितुवा अन्य चितुवाभन्दा निकै लजालु हुन्छ । “घना जङ्गलमा एक्लै बस्न मन पराउने र राति मात्र बाहिर निस्कने भएकाले यसलाई हत्पत्ति मानिसले देख्दैनन्”, अध्यता एवं संरक्षणकर्मी यादव घिमिरेले भने, “बाघ, चितुवा बारम्बार मान्छेका आँखामा पर्छ तर यसलाई देखिहाल्यो भने पनि मान्छेले चिन्दैनन् । ” उनका अनुसार ध्वाँसोजस्तो पाटा हुने भएकाले यसलाई ध्वाँसे चितुवा भनिएको हो । यो बाघ र चितुवाजस्तो ठूलो र ढाडे बिरालो जत्तिको सानो आकारको नभई मध्यम आकारको हुने गर्छ ।

नेपालमा पाइने १२ बिरालो प्रजातिमध्ये रूख चढ्न खप्पिस ध्वाँसे हुन्छ । बाँदरजस्तै एक रूखबाट अर्को रूखमा हामफाल्न र कुद्न खप्पिस भएकै कारण यसले बढीजसो बाँदरकै सिकार गर्ने गर्छ । त्यस्तै लोखर्के र मृग पनि यसको मन पर्ने आहारा हो । रूखमा भेटिने हुँदा चोरी सिकार, वन डढेलो, अवैध वन्यजन्तुका अङ्ग व्यापार र वन विनाश आदिका कारण यसको संरक्षणमा चुनौती रहेको घिमिरेले बताए । अनुसन्धानकर्मीको पनि निकै कम ध्यान गएका कारण यो प्रजाति नेपालमा ओझेल परेको उनी बताउछन् ।

नेपालमा तराईदेखि मध्यपहाडको ३६ सय मिटरको उचाइमा पर्ने चितवन र अन्नपूर्ण क्षेत्रको पूर्वतिर मात्र यो प्रजाति भेटिएको छ । कास्कीको मादी क्षेत्रमा भने करिब छवटा ध्वाँसे चितुवा रहेको अनुमान छ । तल्लो अन्नपूर्ण क्षेत्रको १४०० देखि ३५०० मिटर उचाइमा पाइने ३० प्रजातिमध्ये यो विश्वव्यापी रूपमा संवेदनशील सूचीमा छ । आईयूसीएनले नेपालभित्र भने यसलाई सङ्कटापन्नको सूचीमा राखेको छ । यस क्षेत्रमा आठ सयभन्दा बढी मानव घरधुरी छन् ।
मानवीय चाप बढ्दै जाँदा र हाइड्रो पावर, सडक जस्ता विकासका कारण वन पैदावर मासिँदा ध्वाँसे चितुवाको बासस्थान नासिँदै गएको उनी उल्लेख गर्छन् ।

सन् २०१० मा भएको एक कार्यशालाअनुसार नेपालमा करिब एक सयको हाराहारीमा ध्वाँसे चितुवा रहेको अनुमान गरिएको छ । सन् २०१७ यता करिब छवटा ध्वाँसे चितुवाका छाला चोरी सिकार गर्दा फेला परेका छन् । योजनाबद्ध अनुसन्धानसँगै संरक्षण हुन नसक्दा यस प्रजातिको वास्तविक अवस्था थाहा हुन नसकेको संरक्षणकर्मीहरू बताउँछन् । गोरखापत्र दैनिकबाट