१३ असार २०८३, शनिबार
,
Latest
भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दरवाङमा सडक कालोपत्र गर्न थालियो



अ+ अ-

दरवाङ। म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको छ ।

सङ्घीय सरकारको समपुरक योजनामार्फत मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो ।

रु एक करोड ६६ लाख ४९ हजार ७३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु एक करोड २६ लाख ८२ हजार ८८८ कबोलेको सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको थियो ।

सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ग्राभेल, बेस र सवबेस राखेर शुक्रबारदेखि बिटुमीन बिछ्याउन थालिएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।

उहाँका अनुसार यस योजनामार्फत दरवाङको तल्लो उल्लो बजार क्षेत्रमा एक किलोमिटर ४०० मिटर कालोपत्र गरिने भएको छ । सडक विस्तार र कालोपत्र भएपछि सवारीसाधन आवतजावत सहज हुने स्थानीयवासीको अपेक्षा छ ।

तीव्र रूपमा बस्ती विकास भएको दरवाङ बजारको भित्रि सडक साँघुरा हुँदा सवारीसाधन आवतजावत असहज हुनुका साथै दुर्घटनाको जोखिम छ । ३०० बढी घर रहेको दरवाङ बजारको जनप्रिय मावि रहेको टोलमा दुई वर्षअघि गण्डकी प्रदेश सरकारमार्फत कालोपत्र भएको थियो ।

दरवाङमा विसं २०६४ मा सडक पुगेको थियो । सडक पुगेको करिब १९ वर्षपछि कालोपत्र हुन लागेकोमा स्थानीयवासी उत्साही भएका छन् । स्थानीय बासिन्दाले सडकलाई फराकिलो पार्न स्वसफूर्त रूपमा घरको पेटी र टहरा भत्काएका छन् ।

धौलागिरी टोलका ३६ र नयाँ बजार टोलका ३१ वटा घरको पेटी र टहरा भत्काउनका लागि नक्शाङ्कन भएको छ । धौलागिरी टोलका अध्यक्ष मेख पुनले बैठकमार्फत नै सडक फराकिलो पार्नका लागि मापदण्डअनुसार आवश्यक पर्ने जग्गा दिने र संरचना भत्काउने निर्णय गरिएको बताउनुभयो ।

धेरै ठाउँमा सडक विस्तारका लागि प्रभावित क्षेत्रका बासिन्दाले घरटहरा भत्काउन नमानेर विवाद हुने गरेको अवस्थामा दरवाङका बासिन्दाले सकारात्मक सन्देश दिएका छन् । नयाँबजार टोलका अध्यक्ष मिराज गौतमले घरधनीहरूको सहमतिमा कम क्षति हुने गरेर संरचना भत्काउने सहमति भएको बताउनुभयो ।

यसअघि गतवर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुुङ्गे पुलतर्फ सडकको दाया र बाया पर्ने संरचना हटाएर करिब ४०० मिटर लामो नाली निर्माण भएको थियो । रासस