काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणमा म्यान्मार प्रस्थान गरेकी छिन् । म्यान्मारका राष्ट्रपति यु उइन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा उनी बुधबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । शीतलनिवास कार्यालयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्न राष्ट्रपति भण्डारीले हेलिकोप्टर प्रयोग गरिन् । केही समयअघि भिभिआइपीको प्रयोगका लागि सेनाले खरिद गरेको हेलिकोप्टर प्रयोग गरेर राष्ट्रपति भण्डारी विमानस्थल पुगेकी हुन् ।
राष्ट्रपतिको सवारीमा एक घन्टाभन्दा बढी समय सडक खाली गरिँदा ट्राफिक जामका कारण सर्वसाधारणले दुःख पाएकोमा आलोचना हुन थालेपछि यसपटकबाट हेलिकोप्टर प्रयोग गरिएको हो । तर, राष्ट्रपति भण्डारीको बिदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन अन्तर्राष्ट्रिय विमानस्थल जाँदा र फर्किंदा भने केहीबेर सडक खाली गरिएको थियो ।

जसले गर्दा सर्वसाधारणले पुरानै सास्ती खेप्नुपरेको थियो । भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारीले नेपाली बाहुल्य रहेको पियनओलियनमा नेपालीभाषीले आयोजना गर्ने कार्यक्रममा सहभागीता जनाउने छिन् । नयाँ पत्रिका दैनिकबाट












