१४ असार २०८३, आईतवार
,
Latest
कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन



अ+ अ-

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ हस्तान्तरण समारोह आयोजना गरेकोमा मदन भण्डारी फाउण्डेशनलाई धन्यवाद दिँदै यस कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु । आजको यस महत्वपूर्ण कार्यक्रमका अवसरमा म नेपाली कम्युनिष्ट आन्दोलनका विशिष्ट चिन्तक, दूरदर्शी नेता तथा ‘नेपाल रत्न’द्वारा विभूषित जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

जननेता मदन भण्डारीको हीरक जयन्तीको अवसरमा उहाँद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)का विभिन्न आयामलाई नवयुवा तथा युवा, विद्यार्थी, श्रमजीवी समुदाय तथा आम जनताको बीचमा पुर्‍याउन गोष्ठी, कार्यशाला, छलफल तथा अन्तरक्रिया लगायतका रचनात्मक क्रियाकलापहरू वर्षैभरि आयोजना गर्ने मदन भण्डारी फाउण्डेशनको उद्देश्य रहेको थाहा पाउँदा मलाई असाध्यै खुसी लागेको छ । मलाई विश्वास छ, सदा झैं मदन भण्डारी फाउण्डेशनको यस सिर्जनात्मक कार्यमा सम्बन्धित सबै पक्षको महत्वपूर्ण सहयोग प्राप्त हुने नै छ ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनका शीर्षस्थ नेताहरूलाई एकै मञ्चमा आमन्त्रण गरी उहाँद्वारा अघि सारिएको विचार तथा नेपाली कम्युनिष्ट आन्दोलनका विविध आयामका बारेमा विचारगोष्ठीको आयोजना गर्नु अत्यन्तै सान्दर्भिक र समयोचित पहल हो । यस्ता विमर्शहरूले जननेता मदन भण्डारीका विचार, दृष्टिकोण र योगदानलाई थप उजागर गर्ने मात्र होइन, नेपाली कम्युनिष्ट आन्दोलनले तय गरेको ऐतिहासिक यात्राको वस्तुगत समीक्षा गर्दै वर्तमान चुनौती र राष्ट्रिय आवश्यकताअनुरूप साझा सोच र जिम्मेवारीबोधको विकास गर्न पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनेछन् भन्ने मैले विश्वास लिएकोछु ।

सन् १९९० को दशकमा विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको, सोभियत सङ्घ विघटन भएको, पूर्वी युरोपका समाजवादी व्यवस्थाहरू धराशायी भएका र समाजवादको भविष्यबारे गम्भीर प्रश्न उठिरहेका बेला विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता देखापरेको थियो । त्यही ऐतिहासिक पृष्ठभूमिमा जननेता मदन भण्डारीले नेपालको विशिष्ट सामाजिक, राजनीतिक र सांस्कृतिक यथार्थका आधारमा जनताको बहुदलीय जनवाद (जबज)को अवधारणा प्रस्तुत गर्नुभयो । त्यो अवधारणा तत्कालीन सङ्कटको उत्तर मात्र थिएन, त्यो नेपालको आफ्नै वस्तुगत यथार्थबाट विकसित भएको मौलिक वैचारिक प्रस्तावना थियो ।

कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गर्ने जननेता मदन भण्डारीको उक्त ऐतिहासिक प्रस्तावले कम्युनिष्ट पार्टीलाई जनताबीच स्थापित गर्न, जनविश्वास आर्जन गर्न तथा लोकप्रिय राजनीतिक शक्तिका रूपमा विकसित गर्न निर्णायक भूमिका खेलेको थियो । जननेताद्वारा नेकपा (एमाले)को ऐतिहासिक पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको ‘जनताको बहुदलीय जनवाद’को कार्यक्रम पारित भएपछि नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नै मौलिक वैचारिक आधारमा सामाजिक–आर्थिक रूपान्तरणको स्पष्ट, व्यवस्थित र दूरदर्शी मार्गदर्शन प्राप्त गरेको थियो ।

यसरी जनताको बहुदलीय जनवादले कम्युनिष्टहरू लोकतन्त्रविरोधी र अधिनायकवादी हुन्छन् भन्ने पूँजीवादी शक्तिहरूद्वारा लामो समयदेखि प्रचारित आरोपलाई व्यवहारमै खारेज गरिदियो । बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता, आवधिक निर्वाचन तथा जनताको सार्वभौम अधिकारलाई स्वीकार गर्दै समाजवादी परिवर्तनको मार्ग खोज्न सकिन्छ भन्ने मान्यतालाई यसले स्थापित गर्‍यो । यही सैद्धान्तिक र वैचारिक स्पष्टताले नेपाली कम्युनिष्ट आन्दोलनलाई जनविश्वास प्राप्त गर्न मद्दत गर्‍यो र कम्युनिष्ट शक्तिहरूलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गरायो ।

आज नेपालको कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको सङ्घारमा उभिएको छ । जनताबाट निरन्तर विश्वास, माया र समर्थन प्राप्त गर्न सफल भएको यस आन्दोलनलाई अझ प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउँदै जनतासँगको सम्बन्धलाई थप सुदृढ गर्ने विषय आज गम्भीर समीक्षा र आत्ममन्थन विषय बन्न पुगेको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिष्ट शक्तिहरूका सामु आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ । यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ । तर कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन । राजनीतिक आन्दोलनहरूको मूल्याङ्कन दीर्घकालीन ऐतिहासिक विकासक्रम, जनविश्वास, वैचारिक क्षमता र समाज रूपान्तरणमा पुर्‍याएको योगदानका आधारमा गरिन्छ, कुनै एक निर्वाचनको परिणामका आधारमा मात्र होइन ।

साथै, जनताले व्यक्त गरेका अपेक्षा र सन्देशहरूलाई रचनात्मक रूपमा आत्मसात् गर्नु आजको आवश्यकता हो । बदलिँदो पुस्ता, रूपान्तरण हुँदै गएको सामाजिक संरचना, प्रविधिको तीव्र विकास, युवापुस्ताका नयाँ आकाङ्क्षा तथा विश्वव्यापी परिवर्तनका सन्दर्भमा कम्युनिष्ट आन्दोलनले आफ्ना मूल आदर्श र सिद्धान्तलाई अक्षुण्ण राख्दै समयानुकूल नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई निरन्तर परिष्कृत गर्नुपर्ने आवश्यकता अझ स्पष्ट रूपमा महसुस भएको छ । यही आत्मसमीक्षा/रचनात्मक पुनरावलोकन, नवप्रयोग र जनतासँगको जीवन्त सम्बन्धमार्फत आन्दोलनले आफ्नो सान्दर्भिकता, प्रभावकारिता र भविष्यप्रतिको विश्वासलाई अझ सुदृढ बनाउन सक्छ ।

नेपालको कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै जननेता मदन भण्डारीले भन्नुभएको थियो, “रचनात्मकताको अभाव नै कम्युनिष्ट आन्दोलनको मूल समस्या हो ।” आज आन्दोलनले सामना गरिरहेका चुनौतीहरूलाई हेर्दा उहाँको यो निष्कर्ष अझ सान्दर्भिक भएको अनुभव हुन्छ । बदलिँदो जनआकाङ्क्षा र राष्ट्रिय आवश्यकताअनुरूप नीति, नेतृत्व, संगठन र कार्यशैलीमा अपेक्षित सिर्जनशीलता र रूपान्तरण ल्याउन नसक्दा जनविश्वासमा कमी आएको यथार्थलाई हामीले गम्भीरताका साथ आत्मसत गर्न आवश्यक छ । जनताको विश्वास पुनः आर्जन गर्ने आधार सिद्धान्तको यान्त्रिक पुनरावृत्तिमा होइन, समयानुकूल, उत्तरदायी र परिणाममुखी राजनीतिक अभ्यासको विकासमा निहित छ ।

अब विगतका उपलब्धिको स्मरण मात्र पर्याप्त हुँदैन, वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनीतिक सिर्जनशीलता आवश्यक हुन्छ । युवा पुस्ताका आकांक्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र तथा राष्ट्रिय आत्मनिर्भरताका विषयमा समयानुकूल नयाँ दृष्टिकोण विकास गरी त्यसको व्यावहारिक कार्यान्वयन गर्न सक्दा नै कम्युनिष्ट आन्दोलनलाई सुदृढ र लोकप्रिय बनाउन सकिन्छ ।

जनताद्वारा निर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधान–२०७२ विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन, राजनीतिक संघर्ष तथा नेपाली जनताको लामो त्याग र बलिदानको साझा उपलब्धि हो । तथापि संविधान कुनै जड दस्तावेज होइन । त्यसैले यसको मूलभूत मूल्य, मान्यता र अन्तरवस्तुलाई अक्षुण्ण राख्दै समयको आवश्यकता तथा कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा संशोधन गर्न सकिन्छ । तर निकै लामो र गहन छलफल तथा बहसपश्चात राष्ट्रिय सहमतिको रूपमा संविधानको प्रस्तावना र विभिन्न धारामार्फत अभिव्यक्त गरिएका निष्कर्ष र संवैधानिक मान्यताहरूको संशोधनलाई हल्का रूपमा लिनु हुँदैन ।

संविधान संशोधनको सन्दर्भमा बेला–बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो दृढ विश्वास रहेको छ ।

हामी आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्ने लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छौं । तर जनादेश प्राप्त गरिसकेपछि पनि लोकतन्त्रका मूल्य, संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हो ।

जननेता मदन भण्डारीको नाममा स्थापना गरिएको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष रमेश रुछेन राईको कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवनʼले प्राप्त गरेको छ । यस पुस्तकका सर्जक राईलाई हार्दिक बधाई दिँदै भविष्यमा समेत उहाँबाट थप कृतिहरू सिर्जना हुन सकुन् भन्ने शुभकामना दिन चाहन्छु ।

अन्त्यमा, जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा उहाँका विचारको गहिरो अध्ययन, सिर्जनात्मक विकास र व्यवहारमा प्रभावकारी कार्यान्वयनका लागि हामी सबै प्रतिबद्ध बनौँ भन्ने आह्वान गर्न चाहन्छु । उहाँले प्रतिपादन गर्नुभएको मौलिक चिन्तन, लोकतान्त्रिक आस्था र राष्ट्रिय स्वाभिमानको मार्गलाई समयानुकूल रूपमा समृद्ध बनाउँदै अघि बढ्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले मार्गनिर्देशन गरेअनुसार नेपाली विशेषताको समाजवाद नै अबको हाम्रो राष्ट्रिय गन्तव्य हो । त्यसका लागि लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र जनसहभागितालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्छ ।

पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित “नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी” विषयक विचारगोष्ठी तथा “मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ हस्तान्तरण समारोह” मा गर्नुभएको सम्बोधन