काठमाडौँ : गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको आरशालामा लोकप्रिय गायक विधान श्रेष्ठको पलेँटी सम्पन्न भएको छ ।
हरेक अंग्रेजी महिनाको सप्ताहान्तमा आयोजना हुँदै आएको यो कार्यक्रम विगत २१ वर्षदेखि सञ्चालन भइरहेको छ । विशेषगरी नेपाली संगीतका मुर्धन्य व्यक्तित्वहरूलाई प्रस्तुत गर्दै आएको पलेँटीले बेलाबखत नयाँ पुस्तालाई पनि समेट्ने गरेको छ ।
विधान श्रेष्ठले आजभन्दा नौ वर्षअघि पनि पलेँटी कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।
लामो अन्तरालपछि पलेँटीमा पुनः सांगीतिक प्रस्तुति दिएका विधानले झण्डै डेढ दर्जन गीतहरु प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेका अधिकांश गीतहरु उनका पिता गीतकार तथा संगीतकार विजय श्रेष्ठले सृजना गरेका शब्द, संगीत रहेका थिए।
कार्यक्रमको थालनी विजय श्रेष्ठको शब्द र दीप श्रेष्ठको स्वर, संगीतमा प्रसिद्ध बनेको गीत ‘म पत्थरको देवता होइन’ बाट भएको थियो ।
कार्यक्रमको पहिलो चरणमा प्रस्तुत गीतहरूमा सेन्टिमेन्टल गीतहरूको प्रधानता रहेको थियो । जसमा ‘बुहारी झार झैँ’, ‘तिमीलाई साथ’, ‘बिर्सुँ भनेर चोट’, ‘जाँदैछु टाढा’, र ‘जलन छातीको’ शीर्षकका गीतहरू रहेका थिए ।
अन्तरमुखी स्वभावका गायक विधानको गायन शैली भने बोल्ड र खुलस्त सुनिन्थ्यो ।
कार्यक्रमको दोस्रो चरणमा रोमान्टिक गीतहरूको पालो परेको थियो । जसमा ‘आज नाच्छे मेरी गौरी’, ‘हिँड लौ मायालु’ र ‘तारा जून’ शीर्षकका गीतहरू रहेका थिए ।

कार्यक्रमको तेस्रो चरणमा विजय श्रेष्ठ बाहेक अन्य रचनाकारका गीत समेटिएको थियो । यस चरणको पहिलो प्रस्तुतिमा दार्जिलिङका प्रसिद्ध गीतकार तथा संगीतकार पारस गजमेरको रचना ‘ती रमाइला याद’ रहेको थियो ।
यसैक्रमको दोस्रो प्रस्तुति ‘सोल्टिनी भनी बोलाको’ बोलको गीत रहेको थियो । यो गीतलाई हङकङको कुनै बेलाको चर्चित ब्यान्ड ‘संगम’ ले सृजना गरेको थियो । पछिल्लो चरणमा भने विधान श्रेष्ठले नै यस गीतलाई दर्शक, श्रोतामाझ प्रस्तुत गर्दै आएका छन् ।
यसपछि केही लोकगीतहरूको प्रस्तुति रहेको थियो । लोकगीत प्रस्तुत गर्ने क्रममा विधानले आफ्ना अग्रज सुन्दर श्रेष्ठ र तीर्थकुमारीले कुनैबेला रेडियोमा गाएको गीत ‘भक्तपुरे दही’ बोलको गीतलाई छानेका थिए । लोकपाराकै गीत प्रस्तुत गर्ने क्रममा अर्को गीत ‘कान्छीको अल्लारे जोवन’ प्रस्तुत भएको थियो । यस गीतलाई ध्रुव बस्नेतले सङ्कलन गरेका थिए ।
कार्यक्रममा गायक प्रेमध्वजको स्वरमा प्रसिद्ध बनेको ‘यो नानीको सिरैमा इन्द्र कमल फूल फुल्यो’ पनि प्रस्तुत भएको थियो। यस गीतलाई प्रसिद्ध लोक कलाकार झलकमान गन्धर्वले संकलन गरेका हुन् ।
कार्यक्रमको अन्तिम चरणमा देशभक्तिपूर्ण गीतहरूको प्रस्तुति रहेको थियो । जसमा ‘ज्ञानबहादुर छोरो’ बोलको काव्यात्मक गीतका साथै ‘एकता नै बल हो’ र ‘माछी मार्न जाउन दाजै कालापानीमा’ जस्ता चर्चित गीतहरू रहेका थिए ।
शुक्रबारको कार्यक्रमको अन्त्यमा प्रस्तुत भएको ‘माछी मार्न जाउँ न दाजै कालापानीमा’ गीतपछि दर्शकहरूले विधानलाई ‘स्ट्यान्डिङ ओवेसन’ दिएका थिए ।
पहिलोपल्ट पलेँटी हेर्न आएको बताउँदै दर्शक काशिका राणा भन्दै हुन्छिन्- ‘म इन्डियाबाट आएकी हुँ । विवाह भएर उतै बस्छु । आज बाबालाई पनि साथमा लिएर पलेँटी हेर्न आउने मौका जुर्यो । साह्रै रमाइलो अनुभव भयो । विधानको गायन र पलेँटीको प्याकेजिङ र प्रस्तुति सबै एकदमै आकर्षक लाग्यो ।’
आयोजकले आगामी महिनाको पलेँटीमा सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र उनका सुपुत्र कलाकार यमन श्रेष्ठलाई प्रस्तुत गरिने जानकारी दिएका थिए ।
यसपालिको पलेँटीमा वाद्यवादनतर्फ किबोर्डमा दिनेशराज रेग्मी, बाँसुरीमा मिलन घिमिरे, लिड र रिदम गिटारमा प्रवीण पुलामी मगर, बेस गिटारमा आशिष श्रेष्ठ, रिदम सेक्सनमा सुन्दर कुमार महर्जन र पारसमणि सुवेदीको सहभागिता रहेको थियो ।












