१५ असार २०८३, सोमबार
,
Latest
बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह



अ+ अ-

इस्तानबुल। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युरोपका सबै रक्षा तथा सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न र नेटो सदस्य राष्ट्रबीच रक्षा उद्योगसम्बन्धी व्यापारमा रहेका अवरोध हटाउन आग्रह गर्नुभएको छ ।

जुलाई ७ र ८ मा अङ्कारामा हुने नेटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा सोमबार आयोजित कार्यक्रममा उहाँले युरोपेली सुरक्षामा टर्कीको योगदानलाई बेवास्ता गर्न नहुने बताउनुभयो ।

नेटोका ३२ सदस्य राष्ट्रका संसदीय प्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले युरोपेली सुरक्षामा टर्कीको अपरिहार्य योगदानलाई कहिलेकाहीँ उपेक्षा गरिएको उल्लेख गर्नुभयो ।

एर्दोगानले टर्की युरोपका सबै रक्षा तथा सुरक्षा पहलमा सहभागी हुन इच्छुक रहेको बताउनुभयो । एर्दोगानले युरोपेली सङ्घको १५० अर्ब युरो बराबरको युरोपका लागि सुरक्षा कार्यक्रममा टर्कीको सहभागिताका लागि समर्थन गर्न सांसदसँग आग्रह गर्नुभयो ।

यद्यपि उक्त कार्यक्रममा टर्कीको सहभागिताका लागि युरोपेली सङ्घका सबै २७ सदस्य राष्ट्रको सहमति आवश्यक पर्ने र ग्रीसले त्यसमा आपत्ति जनाउने सङ्ककेत गरेको छ ।

उहाँले रक्षा उद्योगसम्बन्धी व्यापारमा सदस्य राष्ट्रबीच कायम अवरोध हटाउनुपर्नेमा जोड दिँदै साझा सुरक्षा चुनौती सामना गर्न निष्पक्ष जिम्मेवारी बाँडफाँट आवश्यक रहेको बताउनुभयो ।

संयुक्त राज्य अमेरिकापछि नेटोको दोस्रो ठूलो सेना रहेको टर्कीले पछिल्ला वर्षमा आफ्नो रक्षा उद्योग विस्तार गरेको छ । तर रूसबाट एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेपछि अमेरिकाले लगाएको ‘काट्सा’ प्रतिबन्धका कारण टर्कीको रक्षा उद्योग प्रभावित भएको छ ।

सोही विवादका कारण अमेरिकाले टर्कीलाई एफ–३५ लडाकु विमान कार्यक्रममा पनि सहभागी हुनबाट हटाएको थियो। यद्यपि वासिङ्टनले दुई देशबीचको विवाद समाधान गर्ने इच्छा व्यक्त गरे पनि ‘काट्सा’ प्रतिबन्ध हटाउन अमेरिकी कंग्रेसको स्वीकृति आवश्यक पर्ने भएकाले निकट भविष्यमा त्यसको सम्भावना कम रहेको विश्लेषकले बताएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो शिखर सम्मेलनका क्रममा एर्दोगानलाई सन्तुष्ट पार्ने विषयमा सकारात्मक संकेत दिनुभएको छ ।

विश्लेषकका अनुसार यो टर्कीले विकास गरिरहेको पाँचौँ पुस्ताको ‘कान’ लडाकु विमानका लागि आवश्यक अमेरिकी निर्मित एफ–११० इन्जिन आपूर्तिसँग सम्बन्धित हुनसक्ने अनुमान गरिएको छ । (रासस/एएफपी)