झापा। चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको १० हेक्टर जमिनमा आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पतिदेखि वातावरणीय सन्तुलनका लागि महत्व बोकेका बिरूवाहरू रोप्न सुरु गरेको छ ।
भद्रपुर नगरपालिका–९ र १० मा अवस्थित वनमा असारभित्रै १५ हजार विभिन्न वनस्पतिका बोटविरुवा रोपिने वन समितिका अध्यक्ष अनुज खतिवडाले जानकारी दिनुभयो । उहाँले डिभिजन वन कार्यालय झापाको सहकार्यमा बिरुवा रोपन सुरु गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार खाली जमिनमध्ये १५ बिघामा रोपिने आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पतिदेखि वातावरणीय सन्तुलनका लागि महत्व बोकेका बिरूवा आइतबारदेखि सुरु गरिएको छ ।
डिभिजन वन कार्यालय झापाको रु १५ लाख ५० हजार तथा वन समूहको रु दुई लाख २५ हजार लागत सहभागितामा वृक्षरोपण सम्पन्न गरिने समितिका अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । उहाँले श्रीखण्ड, अगरू जस्ता दुर्लभ वनस्पतिदेखि बडहर, लटहर, बयर जस्ता फल तथा शतिसाल, वीरेन्द्र फूललगायत बिरूवा रोप्न थालिएको बताउनुभयो ।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहियार यादवले हरित पर्यटन विकास तथा पर्यावरणको सुरक्षाका लागि वृक्षरोपणलाई योजनाबद्ध रूपमा अगाडि बढाइएको भन्दै वनले ९० प्रतिशत बिरूवा हुर्काउने शर्तमा कार्यक्रम दिइएको बताउनुभयो ।
कुल ३४९ हेक्टर क्षेत्रफलमा फैलिएको यस चन्द्रगढी सामुदायिक वनमा यसअघि साल, कर्मा, जामुन र टिक जस्ता रैथाने प्रजातिका रुखहरूको बाहुल्यता रहँदै आएको छ । हाल भइरहेको नयाँ प्रजातिका बोटबिरुवाको वृक्षारोपणले यहाँको जैविक विविधतालाई थप मजबुत बनाउने विश्वास गरिएको अध्यक्ष खतिवडाले बताउनुभयो ।
वनभित्र रहेका प्राकृतिक सिमसार र पोखरीहरूका कारण यहाँ विभिन्न रैथाने तथा आगन्तुक चराचुरुङ्गीहरूको राम्रो बासस्थान रहेकाले चरा अवलोकनका लागि पर्यटकहरू आउने गरेका छन् ।
वन समितिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न वनभित्र व्यवस्थित वनभोज स्थल, बाल उद्यान, विश्रामस्थल र प्रकृतिको आनन्द लिनका लागि पर्यावरणीय पदयात्रा मार्गसमेत निर्माण गरेर पर्यापर्यटनका गतिविधिहरूलाई तीव्रता दिएको छ । रासस












