काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनुभएको छ ।
रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकार्य, सदभाव र सहिष्णुताले असल मार्गमा हिड्न प्रेरित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसलाई हाम्रो काम, अभ्यास र आचरणद्वारा मूर्तरुप दिएर विश्व शान्ति, प्रगति र मानवकल्याणका लागि समर्पित गर्नु हामी सबैको साझा धर्म हो ।’
राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म हो भन्ने आफूलाई लागेको भन्दै विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिदो परिवेशमा अझ सान्दिर्भक हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘खासगरी समाजसेवा, मानवता र शान्तिको अभियानमा तपाईँहरूको योगदान प्रशंसनीय छ । किनकी यो संस्था सेवा, मित्रता, सद्भाव र विश्वमानवतामा आधारित एउटा विश्वव्यापी अभियान पनि हो जसका सदस्यहरू समाज रुपान्तरणको सत्कार्यमा सक्रिय छन ।’
संयुक्त राष्ट्रसंघको चार्टर लेखनमा रोटरीले दिएको योगदान सदैव स्मरणीय रहेको भन्दै राष्ट्रपति पौडेलले भन्नुभयो – ‘यो मात्र होइन पोलियो उन्मूलन, भविष्यका नेतृत्वकर्ता निर्माण गर्न प्रतिभाशाली युवाहरूलाई प्रत्येक वर्ष पूर्ण छात्रवृत्ति प्रदानसहित नेपाल र भुटानमा रोटरीले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा समुदाय विकासका क्षेत्रमा दिएको योगदान उदाहरणीय छ ।’
कार्यक्रममा १४ जना पूर्व डिस्ट्रिक गर्भनर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो ।












