काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताउनुभयो । एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख गर्दै उहाँले वर्तमान सरकार पूर्ण अवधि चलोस् र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘यस्ता मिथ्या आरोपको कुनै अर्थ छैन । एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुची छैन । सरकारमा जान कुनै रुची छैन । नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाउँ भन्ने छैन । हामी विल्कुल यो सरकार पूर्ण अवधि चलोस् । यो गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौँ । र स्पष्ट गर्न चाहान्छु म नेकपा एमालेको तर्फबाटकी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन । कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौँ ।’
विशाल भट्टराई, प्रमुख सचेतक, नेकपा (एमाले)
नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले सत्ता पक्षले संसद अवरोध गरिरहेको आरोप लगाउनुभयो । एमालेले संसद चलाउनका लागि सत्ता पक्ष र प्रतिपक्ष विचको वार्ता चाहेको भएपनि सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको उहाँको भनाई छ । एमाले अझैपनि वार्ता र छलफलको पक्षमा रहेकाले राष्ट्रिय इस्यूहरुमा छलफलबाट निष्कर्ष निकालेर जान सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो –‘हामीले पहिलो दिन देखि नै संसद चलाउने यदी हो भने सत्ता पक्ष र प्रतिपक्ष विचको वार्ता हुनु जरुरी छ । एजेण्डाहरु थुप्रै छन्, ति एजेण्डाहरुमा सहमतीको आधारमा जान सकिन्छ हामीले भनेकै छौँ तर सत्तापक्ष प्रतिपक्षसँग वार्ता गर्ने मुडमा छैन । पेलेरै जानेखालको मुडमा देखिन्छ । त्यसैले हामीले पनि संसदको अवरोध कायमै राख्छौँ । संसद रुपमा प्रतिपक्ष दलले अवरोध गरेको देखिन्छ । सारमा संसदको अवरोध सत्ता पक्षले गरिरहेको छ । सिंगल सिंगल रोष्टममा उभिएर हाम्रा कुरा राख्दाखेरी नसुनेपछाडी सामुहिक रुपमा हामीले नाराको माध्यमद्वारा हाम्रा कुरा राखेको हो । हामीले सत्तापक्षसँग प्रतिपक्षको वार्ता चाहेका हौँ । छलफल चाहेका हौँ । राष्ट्रिय इस्यूहरुमा त्यहाँ छलफल गरेर, निष्कर्ष निकालेर अगाडी जान सक्छौँ हाम्रो कुरा यही हो ।’
शेरबहादुर तामाङ, सांसद, नेकपा (एमाले)
नेकपा (माओवादी केन्द्र)का सांसद राम कार्कीले एमालेले संसद अवरोध गरेर संविधानको मर्यादालाई नाघेको टिप्पणी गर्नुभयो । उहाँले एमालेले प्रजातान्त्रिक अभ्यास आत्मसात् गर्ने हो भने आफुलाई अर्मयादित बनाउनु नहुने बताउनुभयो । उहाँले भन्नुभयो – ‘स्वभाविक रुपमा उसले संविधानको मर्यादालाई नाघिराख्या छ । अदालतमा खोज्नुपर्ने उपचार संसदमा खोज्ने, संसदमा पाउनुपर्ने उपचार गएर मन्त्री परिषद्मा खोज्ने भनेको वास्तवमा डेमोक्रेसीलाई डिरेल गर्ने कुरा नै हो । नेकपा (एमाले)ले लामो समय आफुलाई बडो डेमोक्रेटिक देखाउन प्रयत्न गरेको हो भने उसले यसलाई अर्मयादित गर्नु हुँदैन ।’
राम कार्की, सांसद, नेकपा (माओवादी केन्द्र)
नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डेले संसद अवरोध गर्नुपर्ने खालको कुनै इस्यू नभएको बताउनुभयो । एमालेले केवल अवरोधका लागि अवरोध मात्रै गरिरहेको उहाँको तर्क छ । विभिन्न बखेडा झिकेर संसद अवरोध गरी राजनीतिक अस्थिरता ल्याउन खोजिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले बुझ्नपनि सकिराख्या छैनौँ । अब इस्यू छैन । विषयवस्तु सदनमा त्यो खालले अवरोध गर्नुपर्ने कुनै एजेण्डाबाट भएको छैन । केवल अवरोधको निम्ति अवरोध भएको देखिन्छ । यो एउटा दुखदायी कुरापनि हो । राजनीतिक स्थिरताको निम्ति जसरी आज नेपाली जनताले हामीलाई मत दिएर झन्डै दुईतिहाईको मतको सरकार बनाएका थिए । अहिले यो अवस्थामा आइपुगेको छ । त्यो मात्रै होइन, अरु पनि बखेडा झिकेर सदन अवरोध गर्ने, अरु खालका गतिविधि गरेर राजनीतिक रुपमा जुन स्थिरता ल्याउनुपर्ने त्यसको ठाउँमा अस्थिरता बढी जन्माउने खालको अवस्था जुन सिर्जना भएको छ यो बेठिक हो । अहिले जुन खालको सदन अवरोध भएको छ, त्यो सदन अवरोध गर्ने खालको एजेण्डा त्यो खालको इस्यू होइन । यसले अन्तत् राजनीतिक दलहरुलाई र स्वयम् नेकपा९एमाले०लाई पनि राम्रो गर्दैन ।’
सोमप्रसाद पाण्डे, सांसद, नेकपा (एमाले)
उहाँले जुन विषय उठाएर संसद अवरुद्ध गरिएको छ त्यो विषय संसद अवरुद्ध गर्ने खालको नभएको टिप्पणी गर्नुभयो । संसद अवरुद्ध गर्नाले राजनीतिक दलहरु र स्वयम् एमालेलाई पनि राम्रो नहुने सांसद पाण्डेले बताउनुभयो ।












