२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका दुई ९१८ मेगावाटका जलाशययुक्त आयोजना चिनियाँ कम्पनीले निर्माण गर्ने



अ+ अ-

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणकै सन्दर्भमा ९१८ मेगावाटका नेपालका दुई जलाशययुक्त आयोजना चिनियाँ कम्पनीले निर्माण गर्ने सम्झौता भएको छ । पाँचथरमा पर्ने ७६२ मेगावाट क्षमताको तमोर र रोल्पामा पर्ने १५६ मेगावाटको माडी गरी दुई जलाशययुक्त आयोजना निर्माण गर्न आईतबार सम्झौता भएको हो । सी को नेपाल भ्रमणको सन्दर्भ पारेर सम्झौता गरिए पनि उनी भने उपस्थित थिएनन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलगायतको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल र पावर चाइनाका उपाध्यक्ष पान देङ युले हस्ताक्षर गरेका छन् ।

कुल १ खर्ब ६४ अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को २६ प्रतिशत सेयर हुनेछ । त्यसैगरी चिनियाँ कम्पनी पावर चाइनाको ७४ प्रतिशत हिस्सा हुनेछ । समझदारीअनुसार दुवै आयोजना सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्नेछन् ।

कुल लागतमध्ये तमोरमा करिब १ खर्ब २५ अर्ब रुपैयाँ लाग्नेछ भने माडीका लागि ३९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘दुवै आयोजनामा सकेसम्म बढी लगानी गर्न पावर चाइनाले हामीलाई भनेको छ,’ एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने, ‘कम्तीमा २६ प्रतिशत हामी लगानी गर्छौँ, बढीमा कतिसम्म गर्न सकिन्छ भन्ने टुंगो लगाउन बाँकी छ ।’ ०७५ को चैत १५ र १६ गते काठमाडौंमा भएको लगानी सम्मेलनमा समेत सो आयोजनालाई लगानीयोग्य परियोजनाको सूचीमा राखिएको थियो ।

लगानी बोर्डले गरेको उक्त आह्वानअनुसार आयोजनामा लगानी प्रस्ताव गर्ने कम्पनीमध्येबाट सर्टलिस्ट गरी कम्पनी छनोट गरिएको थियो । सर्टलिस्टमा रहेका कम्पनीमध्येबाट ऊर्जा मन्त्री वर्षमान पुनका संयोजकत्वमा रहेको मूल्यांकन समितिले २४ असोजमा एचआइडिसिएल र पावर चाइनाको संयुक्त उपक्रम (जोइन्ट भेन्चर)लाई उपयुक्त कम्पनी छनोट गरेको हो ।

यो समझदारी पनि यी दुवै कम्पनीले फेरि लगानी बोर्डसँग आयोजना विकास सम्झौता गर्नुपर्ने हुन्छ । ‘लगानी बोर्ड अब जलाशययुक्त आयोजना निर्माणमा अघि बढेको छ,’ पोखरेलले भने, ‘पावर चाइनाले संयुक्त रूपमा जलविद्युत्मा लगानी गर्ने इच्छा देखाएपछि हामीसँगै अघि बढेका हौँ ।’ नयाँ पत्रिका दैनिकबाट