काठमाडौं । सत्ताधारी दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँगको सहकार्य मजबुत बन्दै जाने बताएका छन् । कोजाग्रत पूर्णिमाको अवसर पारेर आइतबार पार्टी कार्यालय सानेपामा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस नेताहरूसँग आफ्नो ४५ वर्ष लामो सम्बन्ध रहेको बताउँदै यो सम्बन्ध अझ मजबुत बन्ने बताए भने अध्यक्ष प्रचण्डले नेपाली कांग्रेससँग पहिले पनि सहकार्य गरेको र भविष्यमा पनि सहकार्य हुनसक्ने धारणा राखे ।
प्रधानमन्त्री ओलीले भने– ‘देउवासँग जस्तै नेता रामचन्द्र पौडेलसँग पनि मेरो पुरानो सम्बन्ध छ। यस्ता चाडपर्वले आफ्नो सम्बन्धलाई अझ राम्रो बनाउँछ।’ नेकपा अध्यक्ष प्रचण्डले कांग्रेसको कार्यक्रममा आउँदा आफ्नै सहयात्रीबीच आएजस्तो अनुभूति हुने बताउँदै फेरि पनि कांग्रेससँग सहयात्रा अघि बढ्ने संकेत गरेका थिए ।

‘हेर्दै जाऊँआउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्छ’, अध्यक्ष प्रचण्डले भने– ‘एकता र शान्ति प्रक्रियाको संकल्पकै कारण कांग्रेससँगको सम्बन्ध सहयात्रीकैरूपमा अघि बढ्छ।’
हरेक वर्षझैं यस वर्ष पनि कांग्रेसले बडादशैंको अन्तिम दिन पारेर शुभकामना आदानप्रदान गर्न चियापानको कार्यक्रम आयोजना गरेको थियो। कांग्रेसले २०३४ सालदेखि चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ।
राष्ट्रिय एकता तथा मेलमिलापको सन्देश दिन बीपी कोइरालाले चियापान कार्यक्रमको थालनी गरेका हुन् । यसवर्षको कार्यक्रममा अन्य राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नेपाली सेना तथा प्रहरीका उच्च पदस्थ अधिकारी, संवैधानिक निकायका पदाधिकारीलगायत कांग्रेस पार्टी कार्यालयमा हजारौंले सहभागिता जनाएका थिए । नेपाल समाचारपत्र दैनिकबाट












