काठमाडौं । अरनिको राजमार्गबाट बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरतर्फ जाने दुईवटा सडक छन् । कौशलटारबाट बालकोट छिर्ने सडक प्रधानमन्त्रीको घरसम्मै कालोपत्रे छ । चारदोबाटोदेखि बालकोट छिर्ने सडकको केही भाग मात्रै कालोपत्रे छ, बाँकी भाग हिलाम्मे छ । सवारीसाधन पानी छ्याप्दै गुड्छन् । सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे बन्छ ।
स्थानीय हिलो र धुलाका कारण सास्ती व्यहोर्न बाध्य छन् । प्रधानमन्त्री ओलीको घरसँगै सरकारी अधिकारी, राजनीतिक नेतृत्व, विभिन्न संघसंस्थामा उच्च अधिकारीलगायतको आवास क्षेत्रका रूपमा चिनिएको बालकोट पुग्ने यी दुवै सडक आवतजावतका हिसाबले महत्वपूर्ण छन् । तर, चारदोबाटो–बालकोट सडकको नाम नै भिआइपी मार्ग राखिएको छ । भिआइपी मार्ग प्रवेश गरेर हनुमन्ते पुल तरेपछि सडक कति भिआइपी छ भन्ने पत्तो लाग्छ ।

सडक निर्माणको काम चुस्त रूपमा नहुँदा स्थानीयले सास्ती पाएका छन् । सूर्यविनायक नगरपालिकाको वडा नं. १, २ र ३ समेटिएका यी सडक अव्यवस्थित निर्माणका कारण अवरुद्धजस्तै छन् । हिलाम्मे सडकले सवारी गुडाउन समस्या छ । निर्माण कम्पनीले समयमै काम नगर्दा सडक क्षतिग्रस्त बनेका र आवतजावतमा सास्ती भएको स्थानीय बताउँछन् । बस्तीभित्र एम्बुलेन्ससमेत छिर्ने सडक नरहेपछि सडक निर्माणमा चरम लापरबाहीको महसुस भएको स्थानीय निरञ्जन खत्री बताउँछन् ।
‘देशका लब्धप्रतिष्ठित व्यक्तिहरू यहाँ बस्छन्, तर सडक बनाउन कसैले चासो दिएका छैनन्, प्रधानमन्त्रीको घरअगाडिसम्म सडक कालोपत्रे छ, त्यसपछि कच्ची,’ खत्री भन्छन् । भिआइपी मार्गलाई फुटपाथसहित ढल र चौडा विस्तारका लागि सरकारले पाँच करोड रुपैयाँमा टेन्डर लगाएको थियो । सडक स्तरोन्नति र कालोपत्रेका लागि सांसद महेश बस्नेतले शिलान्याससमेत गरे । तर, कामले गति नलिँदा सडकको अवस्था सुध्रिएको छैन ।
बालकोट–सिरुटार सडकमा समस्या
सिरुटार भित्रिने मुख्य सडक एक महिनादेखि अवरुद्ध जस्तै छ । दसैँको बेलामा स्थानीय बासिन्दालाई आवतजावत गर्न र सामान ढुवानी गर्न कठिनाइ भएको छ । निरन्तरको वर्षाका कारण बालकोट–सिरुटार सडक अवरुद्ध बनेको र वडावासीलाई सास्ती भएको वडाध्यक्ष सानुकाजी कायस्थले बताए । ‘वडा भित्रिने मुख्य सडक नै महिनौँदेखि अवरुद्ध जस्तै छ, वैकल्पिक सडक पनि छैन, चाडबाडका वेला आवतजावत र सामान ढुवानीका लागि सास्ती भएको छ,’ वडाध्यक्ष कायस्थले भने ।
अरनिको राजमार्गको कौशलटारदेखि बालकोट हुँदै सिरुटार जाने सडकको अधिक खण्ड कालोपत्रे भइसकेको छ । तर, बालकोट–सिरुटार खण्डको एक किमि सडक वर्षौँदेखि बनेको छैन । सडक डिभिजन कार्यालयले ठेक्का लगाए पनि ठेकेदारले काममा ढिलाइ गर्दा समस्या भएको स्थानीय बताउँछन् । डिभिजन सडक कार्यालयले सडक विस्तार, ढल निर्माण र कालोपत्रेका लागि तीन करोडमा पिएसके घिसिङ जेभीलाई निर्माणको जिम्मा दिएको थियो ।
तर, म्याद सकिन करिब दुई महिना मात्रै बाँकी रहँदा ठेकेदार कम्पनीले २० प्रतिशत मात्रै काम गरेको इन्जिनियर बालेश्वर खड्काले बताए । ‘करिब चार सय मिटर सीमांकनवाल लगाइएको छ, जमिनमुनि ढल राख्ने र तत्काललाई ग्राभेल गर्ने काम भइरहेको छ,’ फिल्डमा खटिएका कार्यालयका सुपरभाइजर रामबहादुर केसीले भने । कार्यालयले ४–५ मिटरको सडकलाई फुटपाथसहित ११ मिटरको बनाउन योजना अघि सारेको थियो ।
एक किलोमिटर सडक बिग्रिँदा पूरै आवतजावत ठप्प भएको भन्दै स्थानीयवासी आक्रोशित छन् । सडक भत्काएर महिनौँसम्म नाली व्यवस्थित नगरिदिँदा पानी पर्नासाथ सडकको भेल घरभित्र पस्ने गरेको स्थानीयवासी खत्रीले बताए । ‘सडक बनाउने भन्छन्, महिनौँ बितिसक्यो, भएको पनि भत्काए, अब राम्रो सडक बनाउने कहिले हो, टुंगो छैन ?’ उनले भने । नयाँ पत्रिका दैनिकबाट












