काठमाडौँ । निर्वाचन परिणामको समीक्षा गर्दै पार्टी पुनर्गठनको खाका तयार पार्न गठन गरिएको नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक अब असार २५ गते बस्ने भएको छ।
यसअघि बैठक असार २२ गते तय गरिएको भए पनि पार्टीका विभिन्न तहबाट सुझाव संकलनको कार्यतालिका थपिएपछि बैठक सारिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।
उनका अनुसार असार २२ गते प्रवास कमिटी र असार २३ गते सल्लाहकार कमिटीसँग सुझाव लिने कार्यक्रम राखिएकाले कार्यदलको बैठक तीन दिनपछि सारिएको हो।
कार्यदलले देशभरका पार्टी संरचना र विभिन्न कमिटीबाट प्राप्त सुझाव समेटेर निर्वाचन समीक्षा तथा संगठन पुनर्गठनसम्बन्धी प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ। सोही प्रतिवेदनका आधारमा एमालेले आगामी संगठनात्मक संरचना, कार्यशैली र रणनीतिमा परिवर्तन गर्ने तयारी गरेको छ।
पछिल्लो निर्वाचनमा अपेक्षाभन्दा कमजोर प्रदर्शन गरेपछि एमालेभित्र संगठन सुदृढीकरण, नेतृत्व शैली र चुनावी रणनीतिबारे व्यापक समीक्षा तथा पुनर्गठनको बहस तीव्र बनेको छ। कार्यदलको प्रतिवेदनलाई पार्टीको आगामी दिशा तय गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ।












