काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत ऋतु खनालले आफूविरुद्ध भएको यौन दुर्व्यवहारबारे सार्वजनिक गरेको भिडियोप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले घटनामा संलग्न आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको जानकारी पनि दिएका छन्।
गृहमन्त्री गुरुङले पीडित ऋतु खनालले देखाएको साहसको प्रशंसा गर्दै कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार तथा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य नहुने बताएका छन्। पीडितले आफ्नो पीडा पुष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना हुनु आफैंमा चिन्ताको विषय भएको उनको भनाइ छ।
उनले यस्ता घटनाको घोर भर्त्सना गर्दै दोषी जोसुकै भए पनि कानुनको कठघरामा ल्याई कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेका छन्। प्रत्येक महिलाले सुरक्षित महसुस गर्ने वातावरण सुनिश्चित गर्नु राज्य र समाज दुवैको साझा जिम्मेवारी भएको उनले उल्लेख गरेका छन्।
गृहमन्त्रीले सबै यौन हिंसापीडितलाई निडर भएर आवाज उठाउन आग्रह गर्दै अन्याय सहेर बस्न नपर्ने बताएका छन्। आफू वा अरू कसैमाथि यौन हिंसाको घटना भएमा नजिकको प्रहरी कार्यालयमा उजुरी दिन तथा उजुरी दर्तामा कुनै असहजता वा अवरोध भए सम्बन्धित जिल्ला प्रहरी परिसर वा गृह मन्त्रालयलाई जानकारी गराउन पनि उनले अनुरोध गरेका छन्।
उजुरी लिन अस्वीकार गर्ने वा पीडितको गुनासोलाई बेवास्ता गर्ने प्रवृत्ति पनि स्वीकार्य नहुने भन्दै गृहमन्त्री गुरुङले यस्ता विषयमा पनि आवश्यक कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।












