काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ।

भेटका क्रममा नेपाल–नर्वेबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
छलफलका क्रममा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा तथा अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका क्षेत्रमा नर्वे सरकारले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरिएको थियो।
मन्त्री मेहताले नेपालको आवश्यकता र बढ्दो रोगको भारलाई ध्यानमा राख्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेशन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य पर्यटन र जडीबुटी क्षेत्र सरकारका प्राथमिकतामा रहेको उल्लेख गर्दै यी क्षेत्रमा थप सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।
राजदूत म्योसले नेपाल सरकारका प्राथमिकताअनुसार स्वास्थ्यलगायतका क्षेत्रमा आगामी दिनमा पनि नर्वे सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
न्यूजपोलार
२५ असार २०८३, बिहीबार ११:१७
न्यूजपोलार
२५ असार २०८३, बिहीबार ११:१७
२५ असार २०८३, बिहीबार ११:१७











