काठमाडाैँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले स्वास्थ्य बीमा कार्यक्रम यथास्थिति चलाउन नसकिने भनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने भनेर बनेको सरकारले स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालन गर्न नसकिने भनिएको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो । जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य बीमा कार्यक्रम पूरै बन्दै भएकाले त्यसको तत्काल व्यवस्था गर्न पनि सरकारलाई दवाव दिनु भयो । सांसद मल्लले कर्णालीमा विशेषज्ञ चिकित्सकहरु पठाउन पनि सरकारलाई सचेत गराउनु भयो ।
उहाँले भन्नुभयो,‘सल्यान जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा स्वास्थ्य सेवा प्रभावित भइरहेको कुरा गम्भिरतापूर्वक हामीले उठाएका थियौँ । तर पनि अहिलेसम्म सरकारको तर्फबाट कुनै ठोस पहल भएको छैन । त्यहाँ सामान्य उपचार पनि गराउन नसक्दा विरामीहरु घर फर्कन बाध्य हुनुपर्ने दुःखद् अवस्था छ । कर्णालीमा चिकित्सकहरु पठाउनका लागि स्वास्थ्य मन्त्रालयका पटक पटक आग्रह गर्दा पनि सुनुवाई भएको छैन । त्यसैले कर्णालीको स्वास्थ्य उपचारको बारेमा सरकार किन यति धेरै गैरजिम्मेवार भईरहेको छ ? जिल्ला अस्पतालमा भइरहेको स्वास्थ्य विमा कार्यक्रम पूरै बन्द भएको अवस्था छ । अर्थमन्त्री यस्तो खालको स्वास्थ्य विमा कार्यक्रम लागू गर्न नसकिने भन्दै हिँड्नुभएको छ ।’
सांसद मल्लले सरकारले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानमा गम्भिर नभएको जिकिर पनि गर्नुभयो । –न्युज एजेन्सी नेपाल












