काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्द्धन तथा भौतिक पूर्वाधार विकासका विषयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना तथा पूर्वाधार निर्माणको प्रमुख आधार भएकाले यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधान गर्न सरकार सकारात्मक रहेको बताउनुभयो।
उहाँले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्न सरकार, निजी क्षेत्र तथा सरोकारवाला सबै पक्षबीच सक्रिय र प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनुहुन्थ्यो।
महासंघका प्रतिनिधिहरूले निर्माण क्षेत्रले भोगिरहेका भुक्तानीमा ढिलाइ, म्याद थप, ठेक्का व्यवस्थापन, आयोजना समयमै कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए।
उनीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै निर्माण व्यवसायमैत्री नीति तथा कार्यान्वयनमा जोड दिनुपर्ने धारणा पनि व्यक्त गरेका थिए।












