२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा: प्रकृति, शक्ति र चेतनाको संगमस्थल



अ+ अ-

नेपालको धेरैजसो धार्मिक क्षेत्रहरूले आध्यात्मिक ज्ञान प्राप्तितर्फको मानव यात्राको प्रतीकात्मक प्रतिनिधित्वमा निहित छ। पर्वत आध्यात्मिक ऊर्जाको केन्द्र मानिन्छ, त्यहीँ कारण सनातन धर्म र संस्कृति अध्यात्मको जगमा खडा भएको छ। देवभूमि नेपालको तीर्थ, नदी, पर्वत, कुण्ड र धामहरुले हामीलाई आफ्नो जन्मभूमिको महत्त्वबोध गराउँछ।

ऋषि, मुनि, तपस्वी, साधकहरुको अनरवत तपस्याले पावन बनेको पुण्यभूमि नेपाल वस्तुतः मानवजीवन र जगतका विविध रहस्यहरु केलाउने ज्ञानभूमि हो। मठमन्दिर, देवस्थल, तीर्थस्थल, धामहरु आदि धार्मिक एवं सांस्कृति सभ्यताका ऐतिहासिक महत्ताको द्योतक हुन् ।

पौराणिक, धार्मिक र ऐतिहासिक महत्त्व राख्ने नगण्य तीर्थक्षेत्रहरू छन् , जसको दर्शनमा लाखौँ व्यक्तिहरू यात्रा गर्छन् । तीर्थक्षेत्र सनातन संस्कृति र परम्पराको अभिन्न हिस्सा हो। वैदिक साहित्यमा तीर्थ शब्द अति पवित्र स्थानहरूलाई तीर्थक्षेत्रको रुपमा लिइएको पाइन्छ। पृथ्वी स्वभाविक रुपमा पवित्र मानिए तापनि प्राकृतिक संरचना कारण भूभाग विषेश अति पवित्रतम क्षेत्रहरू वा पृथ्वीको सर्वाधिक ऊर्जा केन्द्र भएका क्षेत्रहरू तीर्थक्षेत्र मानिन्छन् , जुन प्रायः ब्रह्माण्डीय वा पौराणिक महत्त्वसंग सम्बन्धि हुन्छन् ।

नेपालका वराहक्षेत्र, पाशुपतक्षेत्र, हरिहरक्षेत्र, मुक्तिक्षेत्रजस्ता महान् तीर्थ नेपालीहरुको आस्थाको केन्द्र हुन् । अधिकांश ऋषिमुनिहरुको जन्मभूमि, कर्मभूमि, साधानाभूमि बनाएका अति पवित्रतम भूभाग विशेष पनि तीर्थस्थल मानिन्छन् । यी स्थलहरु महान आध्यात्मिक र तपस्वी शक्तिका शाश्वत केन्द्रहरू हुन् । यसैकारण प्रत्येक निर्मल अन्त:करण भएका तपस्वीहरु र ईश्वरका परम उपासक भक्तजनको तीर्थस्थलसँग अटुट सबन्ध रहयो।

भवद्विधा भागवतास्तीर्थीभूता: स्वयं विभो।
तीर्थाकुर्वन्ति तीर्थानि स्वान्तस्थेन गदाभृता।।
– (श्रीमद्भागवत, १-१३-१०)

तीर्थक्षेत्र मानवजीवनका यात्रा गर्नुपर्ने विशेष क्षेत्रभित्र पर्दछ। हाम्रा शास्त्रहरुले पुरुषार्थ सिद्ध गर्ने विभिन्न मार्ग प्रदर्शन गरेका छन् । तीर्थयात्राले शारीरिक र आध्यात्मिक अशुद्धताहरु सफा गर्ने विश्वास गरिन्छ। सनातन धर्ममा आध्यात्मिक परम्परा, तीर्थयात्रा, दान, ध्यान, देवदर्शन मुक्तिसँग जोडिएको हुन्छ।

सनातन धर्मका अनुयायीहरुको श्रद्धा, आस्था र समर्पणले तीर्थयात्राको अविच्छिन परम्परालाई अक्षुण्ण राख्दै तीर्थक्षेत्रको पवित्रतालाई जोगाइराखेको छ किनकि यो सभ्यता, समाज र रीतिरिवाज सबै हाम्रा तत्ववादी पूर्वजहरुले पत्ता लगाएका जगमा उभिएको छ। नगण्य तीर्थक्षेत्र, देवस्थल, देविस्थान छन् , जसले हाम्रो सांस्कृतिक गरिमा र महिमालाई उच्च स्थान दिएका छन् । केहि महत्त्वपूर्ण तीर्थक्षेत्रमध्ये नेपालको सुदूरपूर्वी हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित पाथिभरा तीर्थक्षेत्र हो। पर्वतको शिखरमा अवस्थित देविस्थान समुन्द्र सतहदेखि ३७९४ मी. को उचाईमा रहेको छ।

पाथीभरा मन्दिरमा वैदिक विधिद्वारा पुजा हुने र कुनै जात, धर्म, सम्प्रदाय प्रति विभेद रहित सौहार्दपूर्ण सह-अस्तित्को उच्च मानवीय मुल्य मान्यतामा स्थापित छ। प्रकृतिसौर्न्दर्यले शोभायमान पाथीभरा देविस्थान धार्मिक, सांस्कृतिक, आध्यात्मिक अभ्यास, तीर्थयात्रा, पर्यावरणीय एवं पर्यटकीय गन्तब्यका लागि विशेष महत्त्वपूर्ण मानिन्छ।

यस क्षेत्रको प्राचीन नाम, त्यस भेगका रैथाने भाषा, धर्म र संस्कृतिमा आधारित पाइन्छ। परापूर्वकालदेखि किरात याक्थुङ लिम्बु भाषामा मुक्ते, मुक्तिबुङ्ग अहिले आएर वर्तमान मुकुम्लुङ नामाकरण भएको पाइन्छ। अर्को परिचित एवं चर्चित नाम पाथिभरा भनेर चिनिन्छ। किरात याक्थुङ लिम्बु भाषामा मुकुमको अर्थ ‘शक्ति’ र लुङको अर्थ ‘ढुंगा’ या ‘शिला’ जनाउँदछ। यसकारण शक्ति वा देवीले निवास गरेको अति पवित्र क्षेत्र भनेर बुझ्न सकिन्छ। अर्को दृष्टिले विचार गर्दा शक्ति शब्दले देवी वा प्रकृति रुप बुझाउछ।

त्यहीँ कारण शक्तिशाली देवीलाई शिलाको स्वरुपमा स्थापना गरि पूजा-अर्चना गरिएको भनेर बुझ्न सकिन्छ। पाथीभरा पर्वतलाई किरात याक्थुङ लिम्बु जातिले आराध्य स्थल मान्दै पाथीभरा देवीलाई ‘तागेरानिङ्वाफुमाङ’ अर्थात् मातृशक्तिको स्वरूपमा सर्वोपरि इष्टदेवी मानेर परापूर्वकालदेखि पूज्दै आइरहेको पाइन्छ।

देविस्थान स्थापना विषयमा कैयौं प्रसङ्गहरु छन् , कस्ले र कहिले बाट देविस्थापना गरि पूजा आरम्भ भयो कुनै प्रत्यक्ष प्रमाण भने छैन। अनुमानमा आधारित पाथीभरा देवीको उत्पत्तिको किंवदन्ती भन्ने धेरै छन् , केहि प्रसङ्ग यस्तो छ कि – पाथीभरा आसपासमा भेडीगोठालोका भेडाका बथान अलप भएपश्चात गोठालोलाई राति सपनामा देवीले दर्शन दिई आफ्नो आकृति र उत्पतिस्थलको बोध गराएपछि। सो स्थानमा बलिसहित पूजाअर्चना गरिसकेपछि, हराएका भेडीका बथान पहिलेकै ठाउँमा भेटिए। त्यस ताकदेखि गोठालाहरुले थान थपना थाप्दै सुरुवात गरेको किंवदन्ती पाइन्छ।

भौगोलिक संरचनाको दृष्टिबाट हेर्दा पाथीभरा पर्वतको प्राकृतिक रमणीयताले व्यक्तिको हृदयमा श्रद्धा, आस्था र समर्पणको मूल फुटाउँछ, देवत्वको दर्शन गराउँछ, सजीवताको आभास गराउँछ। हिमश्रृङखलाका अञ्जुलीमा अति पवित्र पाथीभरा पर्वतको प्राकृतिक अवस्थिति, देवी स्वरुप, धार्मिक मान्यता र सांस्कृतिक सौर्न्दर्यले पाथीभरा देवीको महिमा र गरिमालाई सार्थक तुल्याएको छ। पाथीभरा देविस्थानलाई शास्त्रीय दृष्टिबाट हेर्दा पाथीभरा पर्वतले प्राप्त गरेको भौगोलिक अस्तित्व र देवी महिमाको उल्लेख्य विषयहरु-

१. देवी स्वरुप र नामको तात्पर्य

यहाँको भूआकृतिमा आधारित शास्त्रसम्मत दृष्टिबाट हेर्दा पाथीभरा देवीलाई (दुर्गा, पार्वती वा काली र लक्ष्मी) को संयुक्त स्वरूप रहिछन् भन्ने प्रशस्त पुष्टि गर्ने आधार छन् । पाथीभरा अर्थात् पाथी आठ माना अटाउने भाँडो हो। यो आयतन नाप्ने नेपाली परम्परागत मौलिक नापका एकाई पनि हो। आठ मानाले अष्ट प्रकृतिको बिम्ब जनाउँछ। जसलाई अष्टलक्ष्मी अर्थात् लक्ष्मी को आठ रुप मानिन्छ। पाथीभरा देवी अर्थात् “मातृ देवी” लाई सामान्यतया सुरक्षा, मातृत्व र शक्तिसँग सम्बन्धित छिन् ।

• देवी दुर्गा

दुर्गा सबैभन्दा शक्तिशाली देवीहरु मध्येको एक आवस्यक पक्ष हो। देवी दुर्गाले सृष्टिमा नैतिक व्यवस्था र धार्मिकता कायम राख्न सर्वोच्च शक्तिको प्रतिनिधित्व गर्छिन् । संस्कृत शब्द दुर्गाको अर्थ किल्ला व सुरक्षित स्थान हो जहाँ पुग्न गाह्रो हुन्छ। दुर्गा आदिम देवी वा ब्रह्माण्डकि सृष्टिकर्ता हुन् । उनी सर्वोच्च ऊर्जा हुन् , जहाँबाट अन्य ऊर्जा शाखाहरु निस्कन्छन् ।

दुर्गाको ऊर्जा देवीको एक पक्ष हो। सामान्यतया दुर्गालाई सुरक्षा, मातृत्व र शक्तिसँग सम्बन्धित भएपनि तर कलिकाहीँ केही ग्रन्थहरुमा उनी विनाश र युद्धसँग पनि सम्बन्धित छिन् ।

किंवदन्ती अनुसार दुर्गालाई मूल रुपमा महिसासुर हराउनको लागि सृजना गरिएको अद्भुत योद्धा शक्तिशाली र सुरक्षात्मक देवी मध्ये एक मानिन्छ। दुर्गा प्रायः सिंहमा सवार राक्षससँग लड्ने रूपमा प्रतिनिधित्व गर्छिन् । उनलाई देवी, शक्ति, आदि पराशक्ती भनिन्छ। जसको अर्थ “ऊर्जा ” हो। देवी शक्ति ( सकारात्मक ऊर्जा ) को प्रतिक मानिन्छ। उनीले दुष्ट शक्तिहरू ( नकारात्मक ऊर्जा र दुर्गुणहरु – अहंकार, ईष्र्या, पूर्वाग्रह, घृणा, क्रोध, लोभ र स्वार्थ ) लाई नष्ट गरेर मानवजातिलाई दुष्टता र दु:खबाट बचाउँछिन् ।

• काली

देवी काली सनातन धर्मको प्राचीन, जटिल र आध्यात्मिक रुपमा गहन देवीहरु मध्ये एक हुन् । आदि पराशक्ति (सर्वोच्च दिव्य स्त्रीत्व)को एक उग्र, अँध्यारो रुप हुन् । सर्वोच्च ऊर्जा जसले सबै सृष्टिको आधार बनाउँछ। समयको रुपमा काली हो। यसको सबैभन्दा सम्झौताहीन पक्षमा समय किनकि उनी सुरुवात र अन्त्य भएको रेखीय समय होइनन् तर चक्रीय। यो काल अर्थात् सर्वव्यापि शक्ति जसले अस्तित्वमा रहेको सबै कुरालाई निल्छ।

अर्कोतर्फ तान्त्रिक परम्परामा काली एक व्यवस्थित आध्यात्मिक शक्ति हो जुन शरीर, मन र ब्रह्माण्डको ऊर्जासँग काम गरेर मुक्तिको मार्गलाई तीब्र बनाउन केन्द्रिय हुन्छ। तन्त्र भित्र कालीको सर्बोच्च स्थान रहन्छ। उनी एक शक्तिशाली देवीमात्र होइनन् , वास्तविकताको आधार पनि हुन् । जुन आदिम ऊर्जाबाट सबै चेतना र पदार्थ उत्पन्न हुन्छन् ।

अन्ततः सर्वाधिक ऊर्जा केन्द्र भएको भूमि हुनु ,जसको भू- बनोट यन्त्रकार हुनु र त्यसमा आदि पराशक्ति (सर्वोच्च दिव्य स्त्रीत्व) को रूपमा उग्र काली वा पार्वती तन्त्रको अधिष्ठात्री देवी हुनु। हिमालयकी पुत्री भएको कारण पहाडमा विराजमान हुनु। सर्वाधिक ऊर्जा र तन्त्रशक्ति प्रवाह हुनु। यिनै यावत् कारणले गर्दा पाथीभरा देवी खुल्ला आकाश मुनि अवस्थित छिन् ।

• लक्ष्मी

त्यस भूगोलको यथार्थस्वरुप द्वारा नै उद्घोषित गरिदिएको छ कि पाथीभरा देवी भरेर। एक पाथीमा आठमाना हुन्छ जसले पाथी बनाउछ र आठमाना अष्ट प्रकृतिको बिम्ब भनेर स्वत: सिद्ध छ। जो अष्टलक्ष्मी अर्थात् लक्ष्मीको अष्टरुप हो। लक्ष्मीको सम्मानजनक शब्द श्रीले पार्थिव क्षेत्र वा पृथ्वी माताको रुपमा प्रतिनिधित्व गर्छ। ‘भू’ देवी वा ‘श्री’ देविको अवतार मानिन्छ। “श्री” शब्दले लक्ष्मी, सरस्वती, सौर्न्दर्य, ज्ञान र धनको महिमा बुझाउँछ। त्यस्तै पाथी अन्नपूर्णा र लक्ष्मी स्वरुप पनि हो। देवी अन्नपूर्णा खाना, पोषण र पवित्र प्रशस्तताकी देवी हुन् ।

पोषण र हेरचाह मार्फत शारीरिक जीवनमा आध्यात्मिक र सामाजिक सद्भाव कायम रहन्छ भन्ने विश्वासको प्रतिनिधित्व गर्छिन् । यहीँ कारण पाथीभरा मन्दिरमा पाथी चढाएर नयाँ पाथी लिएर जाने र पैसा चढाएर त्यहाको पैसा साटेर घरमा राखे कहिल्यै अन्नपूर्णाको कृपा र लक्ष्मीको अभाव हुँदैन भन्ने चलन छ।

पाथीभरा देवीको पूजाले भौतिक स्मृद्धि मात्र नभएर आन्तरिक शान्ति र सन्तुष्टि प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ। त्यसैले, त्रिदेवी (दुर्गा, काली र लक्ष्मी) को संयुक्त स्वरुप रहिछन् भनेर बुझ्न सकिन्छ। यिनै सार्थक नामले सम्बोधित पाथीभरा देवी विशिष्ट छिन् ।

२. शास्त्रीय दृष्टिकोणमा पाथीभरा पर्वतको भूआकृति

यस पर्वतको भू- बनोट विविधतापूर्ण र अद्वितीय छ। पर्वतहरुले पृथ्वीको अद्वितीय भू-रुपहरु सिर्जना गर्ने शक्ति प्रदर्शन गर्छन् , जमिनलाई आकार दिन्छन् । यस पर्वतको प्राकृतिक संरचना अवलोकन गर्ने हो भने पाँच पाटाहरु र तीन खण्ड छन् , जसले पर्वतलाई पवित्र तीर्थक्षेत्रको रुपमा चिनाउन अपरिमेय भुमिका निर्वाह गर्दछ। त्यसैकारण पाथीभरा पर्वतलाई पञ्चतत्व र त्रिदेवताका संयोजन मान सकिन्छ।

हिमशृङ्खलाका बीचमा शोभायमान हिमधर्मले सिँगारिएको पाथीभरा पर्वतको पाँच पाटाले पञ्चतत्व विम्बित गर्दछ।

शास्त्र र महापुरुषहरुको अनुभवहरुले सृष्टिको गहन रहस्यहरुको व्याख्या गरेका छन् , जसरी भौतिक र आध्यात्मिक जन्म र मृत्युको समानान्तर धाराहरुको रूपमा अवस्थित छन् । त्यस्तै सृष्टिको मूलमा दुई धाराहरु छन् : प्रकृति र मानव। यी बीचको सामञ्जस्य ब्रह्माण्डको जग हो। पञ्चतत्वलाई सबै पदर्थको उत्पत्ति मानिन्छ। आकाश, वायु, अग्नि, पानी र पृथ्वी लाई पञ्चतत्व मानिन्छ जसबाट ब्रह्माण्डको प्रत्येक पदर्थ बनेको हुन्छ।

अर्कोतर्फ यस पर्वतको तीन खण्डलाई- त्रिदेव ( ब्रह्मा, विष्णु, महेश्वर)। यी तीन परम शक्तिहरुको पवित्र संयोजन मान सकिन्छ। जसले सृष्टि, संरक्षण र विनाशको प्रतिनिधित्व गर्दछ। त्रिदेवले अस्तित्वको ब्रह्माण्डीय चक्र र सम्पूर्ण ब्रह्माण्डमा अनन्त सन्तुलनलाई प्रतिनिधित्व गर्दछ। निरन्तर जन्म चक्र, पालनपोषण र नवीकरणलाई निर्देशित गरेर शासन गर्ने जिम्मेवारी राख्छन् । सनातन धर्ममा दिव्य त्रिमुर्तिको उच्च धार्मिक महत्त्व छ र यो आध्यात्मिक अभ्यासहरुसँग पनि जोडिएको हुन्छ।

यस पर्वतको तीन खण्डलाई त्रीशुलको संज्ञा दिइएको पनि पाइन्छ। त्रिशुलजस्तै तीनखण्ड र भरिएको पाथीजस्तो पर्वतको शिखरमा अवस्थित देविस्थानको प्राकृतिक भूआकृतिको कारण शिव र शक्तिको स्वरुपमा पनि निक्कै महत्त्वपूर्ण मानिन्छ। पवित्रता र सत्कर्मको प्रतीक मानिन्ने त्रीशूल भगवान शिवको सबैभन्दा प्रिय हतियार हो। त्रिशूल भूत, वर्तमान र भविष्य प्रतिक मानिन्छ। यी तीनै कालखण्ड शिवकै नियन्त्रणमा रहेको जनाउँछ। अर्कोतर्फ देवी दुर्गा, देवी काली र भगवान शिवको अवतार भैरवनाथको हतियार पनि हो।

आध्यात्मिक दृष्टिबाट हेर्दा पर्वतलाई मानव सभ्यताको शिक्षक मानिन्छ। पर्वत वा पहाडको मौनता, यसको धैर्यता, यसको स्थिरता, यसको उचाई यी सबै आध्यात्मिक साधना, योग, धर्म र प्रकृति दर्शनका आधारभूत रुपहरु हुन् , जसले मानवलाई जिउन सिकाउँछ। जब मानवलाई हलचल, तनाब, क्रोध, अहंकार र असन्तुलनले घेर्छ, तब पहाडहरुले सम्झाउँछन् कि उचाई नम्रताबाट आउँछ, स्थिरता आध्यात्मिक अभ्यासबाट आउँछ, शान्ति मौनताबाट आउँछ।

प्रत्येक कर्मको मूल आधार ज्ञान र उपासना नै हो। ज्ञानले हामीलाई लक्ष्यबोध गराउँछ, कर्मले उत्तरदायी र सृजनशील बनाउँछ भने साधनाले आन्तरिक अस्तित्वको अर्थ खोज्न सिकाउँछ। पर्वतलाई सदैव ज्ञान, तपस्या, धर्म, तीर्थयात्रा, शक्ति र मुक्तिसँग जोडिएको छ। हिमालय पर्वतको छोरी पार्वती भएकै कारण पहाडहरु शक्ति र मातृत्वको प्रतीक मानिन्छ।

पाथीभरा पर्वत केवल भौतिक संरचना मात्र होइन; यो त चेतनाको उच्च स्तरको प्रतिक हो। पौरस्त्य जगतमा ज्ञानको विकास कसरी भयो? भनेर एक अध्ययनीय र मननीय विषय पाथीभरा पर्वतको भूआकृति र देविस्थानको “ऊर्जा” हो। यिनै मुख्य दुई पक्षले हाम्रा प्राचीन सभ्यता, संस्कृति , धर्म, दर्शनको अति सूक्ष्म संकेत गर्दछ कि यस पर्वतको यथार्थ स्वरुप र मर्म बुझ्न सामान्य ज्ञानले पुग्दैन।

अन्ततः हाम्रा पूर्वजहरु द्वारा प्रतिपादित ज्ञान, कर्म र उपासनाले परिष्कृत प्राक्कालिन सांकृतिक धरातललाई आत्मसात् गर्दै नेपालको धार्मिक र सांस्कृतिक विकासका सोपानहरु चढ्दै आइरहेको छ।