काठमाडाैँ । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रवार निधन भएसँगै नागरिकहरु सरकारको विरोधमा उत्रिएका छन् ।
बिहीवार राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ‘ह्विल लक’ गरी १० हजार रुपैयाँ जरिवाना तिराएपछि असन्तुष्ट बनेका उनले आत्मदाहको बाटो रोजेका थिए ।
नेपालीको निधनपछि आक्रोशित बनेका सर्वसाधारण, चालक तथा राइडरहरूले शुक्रवार माईतीघर मण्डलमा भेला भई सरकार र स्थानीय प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले राज्य संयन्त्र गरिब र श्रमजीवी वर्गप्रति संवेदनहीन बनेको आरोप लगाएका छन् । सो क्रममा उनीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना र राइडरहरूको हकहितका लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद् घटनाहरू दोहोरिएको बताए ।
प्रदर्शनमा सहभागीहरूकाअनुसार घटनाका बखत महानगरका कर्मचारीहरू कार्यक्षेत्रमै उपस्थित भएपनि नेपालीलाई बचाउन पर्याप्त पहल नगरेको आरोप लगाइएको छ । उनीहरूले सो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
विशेष गरी राइड शेयरिङमा आवद्ध युवाहरूले सरकारले ट्याक्स मात्र असुल्ने तर श्रमिकको सुरक्षा र व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे । यातायात विभागले राइड शेयरिङलाई कानुनी दायरामा नल्याउँदा वैज्ञानिक भाडादर कायम हुन नसकेको र कम्पनीहरूले मनपरी कमिसन लिइरहेको उनीहरूको भनाइ छ ।
उनीहरुले भने, ‘मुलुकमा महँगी र बेरोजगारी चरम सीमामा पुगेको छ, तर सरकार युवाहरूलाई राहत दिनुको साटो जरिवाना र करको नाममा आतङ्कित पारिरहेको छ । यो राज्यको निरङ्कुशता र संवेदनहीनताको पराकाष्ठा हो ।’
प्रदर्शनकारीहरूले अव्यवहारिक जरिवाना खारेज गर्न, काठमाडौंभित्र पर्याप्त पार्किङको व्यवस्था गर्न र राइडरहरूका लागि स्पष्ट कार्यविधि निर्माण गर्न माग गरेका छन् । उनीहरूले राज्यले नागरिकको जीवन रक्षाको ग्यारेन्टी नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन् । –न्युज एजेन्सी नेपाल












