काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्दै अहिले नेपालमा लगानीका लागि उपयुक्त समय भएको बताउनुभएको छ।
यूएईका विदेश व्यापार मन्त्री डा. थानी अहमद अल जेयौदी नेतृत्वको सरकारी तथा निजी क्षेत्रको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा चन्द्रागिरिमा आयोजित रात्रिभोज कार्यक्रममा बोल्दै उहाँले नेपाल–यूएई सम्बन्धलाई अब श्रम र विप्रेषणमा मात्र सीमित नराखी व्यापार, लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा संयुक्त लगानीतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले पाँच दशकको अवधिमा यूएईले व्यापार, लगानी, वित्त, पर्यटन, नवप्रवर्तन तथा प्रविधिका क्षेत्रमा हासिल गरेको उल्लेखनीय उपलब्धि दूरदर्शी नेतृत्व, खुला आर्थिक नीति तथा लगानीमैत्री वातावरणको परिणाम भएको उल्लेख गर्दै त्यसबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनुभयो।
आगामी सन् २०२७ मा नेपाल–यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने उल्लेख गर्दै ढकालले यो ऐतिहासिक अवसरलाई दुई देशबीचको आर्थिक साझेदारीलाई थप उचाइमा पुर्याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले नेपाल र यूएईबीच द्विपक्षीय लगानी सम्झौता (बिआइए), दोहोरो कर मुक्ती सम्झौता (डिटिएए) तथा व्यापक आर्थिक साझेदारी सम्झौता (सिइपिए) सम्बन्धी छलफल सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्दै ती सम्झौताहरू निकट भविष्यमा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो। ती सम्झौताले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नुका साथै नेपालमा थप लगानीमैत्री वातावरण निर्माण गर्ने, निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने तथा दुई देशबीच व्यापार र लगानीलाई नयाँ उचाइमा पुर्याउने उहाँको भनाइ थियो।
नेपालमा जलविद्युत्, पर्यटन, डिजिटल भुक्तानी, वित्तीय प्रविधि तथा सहरी पूर्वाधार, कृषि, उत्पादनमूलक उद्योग, औद्योगिक विकास तथा आपूर्ति शृङ्खलासम्बन्धी सेवाका क्षेत्रमा उल्लेखनीय लगानीका अवसर रहेको उल्लेख गर्दै उहाँले यूएईको प्रविधि, अनुभव र लगानी क्षमताले नेपालका विकास प्राथमिकतासँग उत्कृष्ट रूपमा मेल खाने बताउनुभयो।
नेपालसँग अपार सम्भावना रहेको र यूएईसँग विश्वस्तरीय अनुभव, प्रविधि तथा लगानी क्षमता रहेको उल्लेख गर्दै उहाँले पर्यटन, जलविद्युत्, पूर्वाधार, उत्पादनमूलक उद्योग तथा अन्य सम्भावनायुक्त क्षेत्रमा संयुक्त लगानीमार्फत विश्वस्तरीय परियोजना विकास गर्न सकिने बताउनुभयो। त्यसबाट रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा दुवै देशको साझा समृद्धिमा योगदान पुग्ने उहाँको विश्वास थियो।
आईएमई ग्रुपले बैंकिङ, विप्रेषण तथा डिजिटल भुक्तानी सेवामार्फत यूएईका विभिन्न वित्तीय संस्थासँग लामो समयदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी चरणमा पर्यटन पूर्वाधार, केबलकार, स्तरीय पर्यटकीय पूवार्धार, जलविद्युत् तथा एकीकृत मनोरञ्जन पूर्वाधारमा समेत संयुक्त लगानी विस्तार गर्न सकिने बताउनुभयो।
एफएनसीसीआईको अध्यक्ष रहँदा कोप–२८ का अवसरमा दुबईमा नेपाल–यूएई व्यापार सम्मेलन आयोजना गरिएको तथा विश्व सरकार सम्मेलनमा दुई पटक सहभागिता जनाउने अवसर प्राप्त भएको स्मरण गर्दै उहाँले ती अनुभवले यूएईले नेपाललाई सम्भावनायुक्त लगानी गन्तव्यका रूपमा हेरेको विश्वास अझ सुदृढ भएको बताउनुभयो।
“नेपाल तयार छ। अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय हो,” भन्दै उहाँले दुवै देशका निजी क्षेत्रबीच लगानी, नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन आह्वान गर्नुभयो।












