२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली



अ+ अ-

काठमाडौँ। लेखक एवं शिक्षाविद् डा. रघु मैनालीले कक्षाकोठाको रूपान्तरणका लागि ठूलो लगानीभन्दा पनि विद्यार्थीका कुरा सुन्ने शिक्षकको सानो तर सार्थक निर्णय महत्वपूर्ण हुने बताउनुभएको छ ।

आफ्नो नवीनतम कृति ‘सञ्चारशील कक्षाकोठा’ को विमोचनका अवसरमा उहाँले यस्तो धारणा राख्नुभएको हो । डा. मैनालीले ज्ञानको सह–निर्माण र विद्यार्थीलाई सुन्ने शिक्षाका सैद्धान्तिक एवं व्यावहारिक आयामहरूलाई समेटेर यो पुस्तक तयार पारिएको जानकारी दिनुभयो ।

कक्षाकोठामा शिक्षकले विद्यार्थीका कुरा ध्यानपूर्वक सुन्दा मात्र उनीहरूमा बोल्ने र सिक्ने साहस पलाउने उहाँको तर्क छ । उहाँले मानिसको स्वभाव र विश्वास गर्ने प्रक्रियाका बारेमा चर्चा गर्दै कुनै पनि कुरालाई सहजै पत्याउनुअघि मानिसले तीनवटा प्राकृतिक कसी (कमन सेन्स) बाट विश्लेषण गर्ने उल्लेख गर्नुभयो ।

उहाँकाअनुसार भनिएको कुरा वस्तुगत रूपमा सही छ कि छैन, सामाजिक रूपमा उपयुक्त छ कि छैन र भन्ने व्यक्तिको नियत एवं इमानदारी कस्तो छ भन्ने आधारमा मात्र कुनैपनि विषयलाई आत्मसात गरिन्छ । यी तीनवटा प्रश्नमा मन्थन गरेर सन्तुष्ट भएपछि मात्र मानिसले अनुभव सँगाल्ने वा इन्कार गर्ने निर्णय गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जब शिक्षकले कक्षाकोठामा हुने गल्तीलाई सजायको विषय नबनाई सिकाइको अवसरका रूपमा ग्रहण गर्छन् र वातावरणलाई खुला, स्नेही एवं आशावादी बनाउँछन्, तब मात्र वास्तविक रूपमा सिकाइ प्रक्रियाले पूर्णता पाउँछ र चेतना जागृत हुन्छ ।’

पुस्तकले कक्षाकोठालाई सञ्चारमैत्री बनाउँदै विद्यार्थीको मनोविज्ञान बुझ्न शिक्षक र शिक्षासंवद्ध पक्षलाई प्रेरित गर्ने विश्वास लिइएको छ । –न्युज एजेन्सी नेपाल