काठमाडौं । साविकअनुसार यस वर्षको मनसुनको समय अवधि सकिएको छ । दुई दिनअघि नेपालको मनसुनको समय अवधि सकिएको हो । तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“मनसुन अन्त्य हुन यसका विभिन्न ‘क्राइटेरिया’ पूरा हुनुपर्छ, त्यो हुने सम्भावना तत्काल देखिँदैन”, मौसमविद् मञ्जु बासीले थपे, “अझै करिब एक साता मनसुन सक्रिय रहने सम्भावना देखिन्छ । ” फाट्टफुट्ट वर्षा भने दशैँसम्म कायम रहने उनले आकलन गरे । यति बेला मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ छ । केही दिनअघि सरेर उत्तर पुग्दा पनि विविध स्थानमा भारी वर्षा भएको थियो ।

यसरी मनसुनी रेखा यताउता सर्ने गर्दा आसपासका क्षेत्रमा हल्कादेखि भारी वर्षा कायम रहने उनले बताए। यसमा स्थानीय वायुको प्रभावले थप मद्दत पुर्याएको छ । पूर्वदेखि पश्चिमसम्म नै शुक्रबारसम्म वर्षाको सम्भावना महाशाखाले गरेको छ । बिहीबारसम्म भने सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा हुने जनाइएको छ । शुक्रबार भने मध्य तथा पूर्वका केही स्थानमा भारी वर्षा हुने आकलन महाशाखाले गरेको छ । यस अवधिमा केही भेगमा स्थानीय नदीखोलामा बाढी आउने र पहाडी भेगमा पहिरोको सम्भावना रहेकाले सतर्क रहन भनिएको छ ।
किसानलाई भने फाइदा
मनसुनको मिति पर सर्दा कृषि क्षेत्र र किसानमा भने खुसी छाएको छ । “धान हुर्किसकेकाले अबको पानीले खासै असर गर्दैन”, कृषि मनसुनविद् रामेश्वर रिमालले भने । तरकारीको नर्सरीमा भने पानीले असर पु¥याउन सक्छ । त्यसैले तरकारीको नर्सरीमा छाना लगाउने र पानीको निकास दिनुपर्ने उनले सुझाए । उनका अनुसार लगातारको वर्षापछि ह्वात्तै चर्को घाम लागेको खण्डमा रोगकीराको समस्या आउन सक्ने भएकाले सावधानी अपनाउनुपर्छ ।
नार्कस्थित कृषि सञ्चार, प्रकाशन तथा अभिलेख महाशाखाका वरिष्ठ वैज्ञानिक मजोजकुमार ठाकुरले पनि धानको गाना बलियो भइसकेकाले वर्षाले त्यति असर पुर्याउन नसक्ने बताए । बाढीले खेत बगाएमा र लामो समय डुबानमा परेमा हुर्केका धानमा क्षति पुग्न सक्छ । उनका अनुसार नेपालमा यस वर्ष ९५ प्रतिशत धान रोपाइँ भएको छ । सुरुआतमा कम वर्षा भए पनि यसपाला धान रोपाइँ राम्रो रहेको जानकारी उनले दिए ।
मध्य र पूर्वतर्फ प्रदेश २ मा ९२ प्रतिशत, प्रदेश १ मा ९७ प्रतिशत र प्रदेश ३ मा ९० प्रतिशत धान रोपाइँ भएको छ । “करिब १८ लाख हेक्टरमा भएको धान रोपाइँलाई बाढी र डुबानले असर नगरेमा राम्रो उत्पादन हुने छ”, उनले भने, “ढिलासम्म वर्षा रहँदा हिउँदको गहुँखेती र तरकारी खेती पनि राम्रो हुन्छ । ” गत वर्ष ४७ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस वर्ष ४६ लाख मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । नेपालको ६५ प्रतिशत जनसङ्ख्या मौसमी खेतीमा निर्भर रहेकाले ध्यान पुर्याउनुपर्ने सुझाव उनको छ । गोरखापत्र दैनिकबाट












