काठमाडौं । सरकारले तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन हुनुभएका यमबहादुर अधिकारी ‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ। बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सोको जानकारी दिएको हो ।
मन्त्री बाँस्कोटाका अनुुसार महासेनानी अधिकारीलाई सरकारले सहायक रथी विशेष पद (४ वर्षका लागि) सिर्जना गरी सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेकोे हो।अधिकारीलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो।शान्ति प्रक्रियाको केही काम अझै टुंगोमा पुग्ने अवस्थामा रहेकाले मनोबल गिर्न नदिन सरकारले यस्तो निर्णय गरेको बुझिएको छ।

यसै गरी बैठकले संविधान दिवसको अवसरमा शुक्रबार २ सय ८२ जनालाई माफी दिने निर्णय गरेको छ। संविधानको धारा २७६ अनुसार २ सय ८२ जनाको कैद माफीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए । बैठकले नेपाली सेनाका सेनानीद्वय बानिरा थापा र अमूल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गरेको छ।
मन्त्रिपरिषद्ले वरिष्ठ नेत्ररोग विशेष डा. सन्दुक रुइतलाई ५ लाख रुपियाँ राशीको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने निर्णय गरेको छ। बैठकले दक्षिण एसियाली महिला विकास मञ्चको पाँचौं महिला उद्यमी सम्मेलनका लागि १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ।नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरावलोकनसम्बन्धी तेस्रो बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आर्थिक वर्ष २०७६र०७७ का लागि ४९ अधिकृतहरूको अस्थायी दरबन्दी सृजना गर्ने पनि निर्णय गरेको छ। संविधान दिवसका अवसरमा हनुमानढोका दरबार संग्रहालय, पाटन संग्रहालय र राष्ट्रिय कला संग्रहालय भक्तपुरमा सबैलाई निःशुल्क प्रवेश गर्न दिने निर्णय गरिएको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७६ स्वीकृत गरिएको छ।
१३औं दक्षिण एसियाली खेलकुद २०१९ आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७६ स्वीकृत गरिएको छ। नीति अनुसन्धान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रेल्वे ऐन, २०७६ को विधेयक मस्यौदालाई संघीय संसद्को बैठकमा पेस गर्न स्वीकृति दिइएको छ।
राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ स्वीकृत गर्ने निर्णय गरिएको छ। नेपाल प्रशासन सेवाको समूहीकरण (क्लस्टर) तर्पmको राजपत्राकिंत विशिष्ट श्रेणीको पदमा कायम मुकायम प्रमुख सचिव तोयम रायलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं। ३, हेटौंडाको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ। निर्णय सार्वजनिकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले तत्काल संविधान संशोधनको अवस्था नरहेको बताउनुभयो। उनले कसैले सपना देख्दैमा संविधान संशोधन नहुने पनि बताए ।
यो संविधान जनताले लडेर ल्याएको बताउँदै उनले भने– ‘जनताले ल्याएको संविधान भएकाले यसको कार्यान्वयन सरकारले मात्र होइन जनताले पनि गर्नुपर्छ। जनता दर्शक मात्रै बन्न सक्दैनन्। उनले संविधान संशोधन गर्न पनि सकिने तर, त्यसका लागि औचित्य पुष्टि हुनुपर्ने भनाइ राखे । संविधान कार्यान्वयनभन्दा पहिला संशोधनको हतार गर्न नहुने पनि बाँस्कोटाको भनाइ छ। समाचार नेपाल समाचारपत्र दैनिकबाट












