काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम एपीएफ क्लबले पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफले पहिलो जित निकालेको हो ।
एपीएफलाई जित दिलाउन आशिष लामाले दुई गोल गरे भने बिकी तामाङले १ गोल गरे । फ्रेन्ड्सका प्रिजेन तामाङले एक गोल फर्काए ।
खेलको ३० औं मिनेटमा बिकीले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाए ।
खेलको ३२ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे ।
खेलको ५७ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० को अग्रता दिलाए ।
यता, खेलको ६९ औं मिनेटमा प्रिजेनले पेनाल्टीमा गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को स्थितिमा ल्याए ।
एपीएफले ५ खेलमा ४ अंक जोड्दै ११ औं स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले ५ खेलमा २ अंक जोड्दै पुछारमा छ ।
एपीएफका आशिष लामा म्यान अफ दि म्याच घोषित भए ।













