२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसंघमा रोकियो सेना-प्रहरीको आठ अर्ब



अ+ अ-

काठमाडौं । शान्ति मिसनका लागि अमेरिकाले बजेट कटौती गरेपछि राष्ट्रसंघमा परेको आर्थिक संकटको असर नेपालमा पनि देखिएको छ । संयुक्त राष्ट्रसंघको आग्रहमा विभिन्न द्वन्द्वग्रस्त देशमा खटिएका सेना, प्रहरी र सशस्त्र प्रहरीले तलब तथा सामानको शोधभर्ना पाएका छैनन् । मिसनको अवसर पनि कम हुँदै गएको छ ।

राष्ट्रसंघसँग नेपाली शान्ति सैनिकले लिनुपर्ने रकमको बक्यौता आठ अर्ब रुपैयाँ नाघिसकेको छ । नेपाली सेनाको ६ अर्ब, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको एक–एक अर्ब रुपैयाँ राष्ट्रसंघले भुक्तानी गर्न बाँकी छ । गत वर्ष अक्टोबरदेखि भुक्तानी रोकिँदा नेपाली सुरक्षाकर्मी उधारोमा काम गर्न बाध्य छन् । राष्ट्रसंघले भुक्तानी रोक्दा सुरक्षा निकायले पहिले नै जम्मा भएको कोषबाट शान्ति मिसनमा जाने अधिकारीलाई तलब दिएका छन् । उनीहरूको करोडौँ ब्याज आम्दानीसमेत गुमिरहेको छ । हाल शान्ति सेनामा नेपालबाट विभिन्न देशमा पाँच हजार ६ सय ६८ जना कार्यरत छन् । राष्ट्रसंघको आर्थिक संकटले शान्ति मिसनमा सुरक्षाकर्मी खटाएका अन्य देश पनि प्रभावित भएका छन् ।

करोडौँ ब्याज गुम्दै
सुरक्षा निकायहरूले कल्याणकोषको पैसा बैंकहरूबीच प्रतिस्पर्धा गराएर उच्च ब्याजदरमा बैंकमा राख्दै आएका छन् । १० प्रतिशतसम्म ब्याज पाएका छन् । तर, राष्ट्रसंघबाट समयमा तलब र शोधभर्ना नपाउँदा ब्याजबापतको करोडौँ गुमेको छ । पाँच प्रतिशत ब्याजदरले मात्रै पनि आठ अर्बको महिनामा चार करोड रुपैयाँ ब्याज हुन्छ । एक वर्षमा ४८ करोड ब्याज आउँछ । ‘ब्याजको पैसा त अवश्य गुमेको छ,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे भन्छन्, ‘तर, यसबाट ठूलै समस्याचाहिँ छैन, सायद राष्ट्रसंघले छिटै तिर्नेछ ।’

आइपिओ र पर्यवेक्षकलाई छैन समस्या
सेनाबाट बटालियनका रूपमा खटिने र प्रहरीबाट एफपियू मिसनमा खटिनेले सीधै व्यक्तिगत रूपमा राष्ट्रसंघबाट तलब सुविधा पाउँदैनन् । राष्ट्रसंघले सम्बन्धित संगठनलाई नै पठाउने र संगठनले कर्मचारीलाई दिने गर्छ । प्रहरीबाट इन्डिभ्युजल पुलिस अफिसर ९आइपिओ० तथा नेपाली सेनाबाट पर्यवेक्षक तथा स्टाफ अफिसरका रूपमा शान्ति मिसनमा खटिनेले भने नियमित रूपमा तलब पाउँदै आएका छन् । उनीहरूले विदेशमै रहँदा व्यक्तिगत खातामा तलब पाउँछन् । उनीहरू भने राष्ट्रसंघको आर्थिक समस्याबाट प्रभावित भएका छैनन् ।

राष्ट्रसंघको बजेटमा नेपालको योगदान दुई करोड
राष्ट्रसंघको बजेटमा नेपालको योगदान भने ज्यादै न्यून छ । नेपालले सन् २०१९ का लागि राष्ट्रसंघलाई एक लाख ९५ हजार एक सय ७६ अमेरिकी डलर दिएको छ । गत ९ अगस्टमा राष्ट्रसंघले नेपालबाट बजेट पाएको हो । राष्ट्रसंघको बजेटमा नेपालको योगदान ०.०००६ प्रतिशत रहँदै आएको छ । विकसित देशले पैसा दिएर तथा नेपालजस्ता देशले शान्ति मिसनमा सेना तथा प्रहरी खटाएर राष्ट्रसंघलाई योगदान दिँदै आएका छन् ।

राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा ठूलो दाता अमेरिका हो । विगतमा उसले राष्ट्रसंघको जम्मा बजेटको २८.४७ प्रतिशत खर्च बेहोर्दै आएको थियो । त्यस्तै, दोस्रो स्थानमा चीन छ । उसले १०.२५ प्रतिशत बजेट योगदान गर्छ । जापानले ९.६८, जर्मनीले ६.३९, फ्रान्सले ६.२८, बेलायतले ५.७७, रसिया फेडरेसनले ३.९९, इटालीले ३.७५, क्यानडाले २.९१ र स्पेनले २.४४ प्रतिशत बजेट योगदान गर्दै आएका छन् ।

शान्ति मिसनमा सुरक्षकर्मीको योगदान स् नेपाल पाँचौँ स्थानमा
शान्ति मिसनमा सबैभन्दा धेरै सेना–प्रहरीको योगदान दिनेमा नेपाल पाँचौँ स्थानमा पर्छ । पहिलो स्थानमा इथियोपिया, दोस्रोमा बंगलादेश, तेस्रोमा रुवान्डा, चौथोमा भारत र पाँचौँमा नेपाल छन् । राष्ट्रसंघमा उच्च क्षमता प्रदर्शनकै कारण पनि देशको साख विश्वमा बढेको छ ।

अवसर घट्दै
कुनै समय नेपाल प्रहरीबाट एकैपटक तीन सयभन्दा धेरै प्रहरी आइपिओ मिसनमा जान्थे । हाल ४१ जना मात्र कार्यरत छन् । त्यस्तै सुडान र हाइटीमा दुईवटा मिसन रहेकोमा हाइटी मिसन ६ महिनाअघि बन्द भइसकेको छ भने सुडानको एफपियू मिसन पनि सन् २०२० मा फर्कने सम्भावना छ । नेपाल प्रहरीबाट माली र सिरिया मिसनका लागि केही प्रहरी अधिकारीको नाम सिफारिस भए पनि आर्थिक समस्याकै कारण रोकिँदै आएको छ ।

सशस्त्र प्रहरीको पनि सहभागिता विगतको तुलनामा कम भएको छ । विगतमा तीनवटा एफपियू मिसन खटिएकोमा हाल दुईवटा मात्र छन् । नयाँ मिसनका लागि भनेर सशस्त्रले सामानहरू तयारी अवस्थामा राखे पनि आर्थिक संकटकै कारण राष्ट्रसंघले खटाउन सकेको छैन ।

आगामी दिनमा शान्ति मिसनमा सहभागिताको संख्या झन् घट्ने देखिएको छ । शान्ति मिसन सुरक्षाकर्मीका लागि आकर्षक अवसरका रूपमा लिइन्छ । अवसर घट्दै जाँदा संगठनमा निराशा छ ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि राष्ट्रसंघलाई दिँदै आएको बजेट कटौती गरेका हुन् । बाराक ओबामा राष्ट्रपति हुँदा राष्ट्रसंघको बजेटको २८ प्रतिशतसम्म अमेरिकाले बेहोरेको थियो । एउटै देशले धेरै बजेट बेहोर्नु गलत भएको भन्दै ट्रम्पको कार्यकालमा बजेट कटौती गरेको हो ।

सेनाले मिसनमा जानेको तलब बढाउने
नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा जानेको तलब बढाउने भएको छ । कन्टिजेन्टका रूपमा शान्ति मिसनमा जानेको न्यूनतम तलब एक हजार २९ डलरबाट बढाएर एक हजार एक सय १४ डलर दिने प्रस्ताव गरेको छ । अबदेखि मिसन जानेको बेसिक तलब एक हजार एक सय १४ हुने र पदअनुसार भत्ता हुने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । अहिलेसम्म एक हजार २९ देखि एक हजार तीन सय ७८ डलरसम्म पाउँदै आएका थिए । मिसनमा सबैको जिम्मेवारी उस्तै हुने भएकाले तल्लो तहको तलब बढाउने प्रक्रिया अघि बढाइएको, तर कल्याणकारी कोष सञ्चालन समितिबाट स्वीकृत भइनसकेको उनले बताए ।

राष्ट्रसंघीय शान्ति मिसन निकै चुनौतीपूर्ण हुने भएकाले विकसित देशले त्यहाँ जानेलाई राष्ट्रसंघले दिने तलबमा पनि थपेर दिने गरेको छ । मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाले पनि कल्याणकोषमा हुने कटौती कम गरेर थप सुविधा दिनेबारे योजना अघि बढाएको सुनाएका थिए ।

बटालियन तथा एफपियूका रूपमा जाने सैनिक–प्रहरीलाई राष्ट्रसंघले प्रतिव्यक्ति महिनाको एक हजार चार सय २८ डलर दिने गरेको छ । विकसित देशले यसमा थपेर उनीहरूलाई तलब दिने गरेका छन् । कतिपय देशले यसबाट पनि कटौती गरेर दिन्छन् । नेपालमा प्रहरीले एक हजार चार सय २८ डलर नै दिने गरेको छ भने सेनाको हकमा थोरै कम छ । राष्ट्रसंघले तोकेअनुसार बन्दोबस्ती र गस्तीका सामान नभएको अवस्थामा भने राष्ट्रसंघले तलब समेत कटौती गर्छ ।

सेनाको ६ अर्ब, सशस्त्र र नेपाल प्रहरीको एक–एक अर्ब बक्यौता

सेनाको एक अर्ब उठ्यो, ६ अर्ब बाँकी
सेनाले राष्ट्रसंघबाट पाउनुपर्ने बक्यौता करिब साढे ६ अर्ब छ । गत महिना करिब एक अर्ब आएको र ६ अर्बभन्दा धेरै अझै बाँकी रहेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए । विभिन्न १० देशमा पाँच हजार ९५ नेपाली सैनिक शान्ति मिसनमा खटिएका छन् । चार हजार ९३० कन्टिन्जेन्ट, १६५ स्टाफ अफिसर र पर्यवेक्षकका रूपमा कार्यरत रहेको सेनाले जनाएको छन् । स्टाफ अफिसर र पर्यवेक्षकमा खटिएकाले नियमित तलब पाए पनि कन्टिन्जेन्टअन्तर्गत खटिएकाहरूको तलब राष्ट्रसंघले दिन सकेको छैन । चार हजार ९३० सैनिकको महिनाको तलब नै ७० लाख डलर हुन्छ । त्यस्तै बटालियनहरूले प्रयोग गर्ने एपिसी तथा गाडीको शोधभर्ना पनि प्राप्त भएको छैन ।

बन्द भएको मिसनको पैसा पनि पाएन प्रहरीले
नेपाल प्रहरीले गत अप्रिलमै बन्द भइसकेको हाइटी मिसनको भुक्तानी अझै पाएको छैन । करिब ६ महिनाको तलब र शोधभर्ना बाँकी रहेको प्रहरी स्रोतले बतायो । हाल राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सुडानमा रहेको नेपाल प्रहरीको एउटा मात्र एफपियूका १८० जनाले पनि करिब ११ महिनाको तलब तथा शोधभर्ना पाएका छैनन् । उनीहरूको तलब मात्र मासिक दुई लाख ५७ हजार डलर हुन्छ । एक वर्षको अवधिमा सामानको करिब १८ लाख डलर लिनुपर्ने अवस्था छ । नेपाल प्रहरीले राष्ट्रसंघबाट लिनुपर्ने रकम करिब एक अर्ब रुपैयाँ पुगिसकेको छ । सुडानको एफपियू पनि यही टोली अन्तिम हुने सम्भावना रहेको प्रहरी अधिकारीले बताए ।

सशस्त्रको एक अर्ब बक्यौता
दक्षिण सुडानमा राष्ट्रसंघको आग्रहमा सशस्त्र प्रहरीको दुईवटा फम्र्ड पुलिस युनिट छन् । एउटामा १८० र अर्कोमा १४० जना कार्यरत छन् । दुवै मिसनबाट गाडीलगायत अन्य सामानको शोधभर्ना मात्र महिनाको करिब तीन लाख डलर हुन्छ । दुई एफपियूमा तीन सय २० जनाको मासिक तलब चार लाख ५६ हजार ९६० डलर हुन्छ । एफपियू मिसनमा जाने सबै प्रहरीले समान मासिक एक हजार ४२८ डलर पाउँछन् । जसअनुसार तलबबापतको मात्र ५४ लाख ८३ हजार ५२० रुपैयाँ सशस्त्र प्रहरीले पाउन सकेको छैन । त्यस्तै, सामानको बक्यौता करिब ३६ लाख डलर पुगेको छ । सामान र तलब गरेर सशस्त्र प्रहरीले राष्ट्रसंघबाट पाउनुपर्ने भुक्तानी करिब एक अर्ब रुपैयाँ पुगिसकेको छ । दुई–तीन महिनापछि भुक्तानी हुने जानकारी राष्ट्रसंघले दिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठले बताए ।

शान्ति सेनामा कहाँ कति नेपाली ?

नेपाली सेना : ५,०९५

  • दक्षिण सुुडानः १७४६
  • कंगोः ८९७
  • लेबनानः ८७३
  • सेन्ट्रल अफ्रिकन रिपब्लिकः ७३८
  • सिरियाः ३५२
  • लिबियाः २३०
  • मालीः १५७
  • इराकः ७७
  • सुडानः १५
  • वेस्टर्न सहाराः ७
  • इजरायलः ३
  • नेपाल प्रहरी स् २२८

सुडानः २०२ ९एफपियू १८०, आइपिओ २२०

दक्षिण सुडानः १७

कंगोः ४

हाइटीः ४

सोमालियाः १

सशस्त्र प्रहरी स् ३३५

दक्षिण सुडानः ३३०
सुडान स् १२
हाइटीः २
सोमालियाः १

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे भन्छन्: समयमा भुक्तानी नहुँदा ब्याजमा असर परेको छ

गत महिनासम्म शान्ति मिसनबाट लिनुपर्ने सात अर्ब थियो, एक अर्ब आएको छ, अब ६ अर्ब बाँकी छ । राष्ट्रसंघको आन्तरिक समस्याले भुक्तानीमा समस्या भएको हो । भुक्तानीका लागि पहल भइरहेको छ । समयमा भुक्तानी नहुँदा बैंकबाट आउने ब्याज स्वाभाविक रूपमा प्रभावित भएको छ । कोषमा पर्याप्त रकम भएकाले ठूलो समस्या भने छैन ।

वार्षिक १८ अर्ब भित्र्याउँछन् शान्ति सैनिकले
राष्ट्रसंघीय शान्ति मिसनबाट नेपालमा वार्षिक करिब १८ अर्ब रुपैयाँ भित्रने गरेको छ । जसमध्ये करिब १५ अर्ब नेपाली सेना र बाँकी तीन अर्ब प्रहरीबाट आउने गरेको छ ।
सन् २०१८र१९ मा राष्ट्रसंघबाट १३ करोड ३७ लाख ४४ हजार ९३८ डलर आएको सैनिक प्रवक्ता पाण्डेले बताए । सन् २०१७र१८ मा ११ करोड ८७ लाख ६९ हजार चार सय ४३ डलर आएको थियो । त्यस्तै, सशस्त्र प्रहरीको दुईवटा एफपियू तथा नेपाल प्रहरीको एक एफपियूबाट करिब दुई अर्ब रुपैयाँ प्राप्त हुन्छ । त्यस्तै, आइपिओका रूपमा हाल प्रहरीबाट ६३ र सशस्त्रबाट २२ जना खटिएका छन् । आइपिओमा जाने प्रहरीको दैनिक कमाइ करिब एक सय ५० डलर हुन्छ । उनीहरूबाट नै वर्षमा करिब ३० करोड भित्रन्छ ।
नयाँ पत्रिका दैनिकबाट