
काठमाडौं । काठमाडौं उत्पयका खानेपानी लिमिटेड (केयुकेएल), आयोजना कार्यान्वयन निर्देशनालयले २७ भदौअघि नै ५८ सडकखण्डको मर्मत सक्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका लागि पाइप बिछ्याइएका ती सडकको इन्द्रजात्राअघि नै मर्मत गरिसक्ने निर्देशनालयले जनाएको छ । केही दिनअघि काठमाडौं महागरपालिकाले बोलाएको सरोकारवालाहरूसँगको छलफलमा निर्देशनालयले असन, इन्द्रचोक, वसन्तपुर, चिंकमुगल, झोछेँ, ओमबहाललगायतका क्षेत्रमा भएका ५८ वटा सडकखण्डमा इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु हुनुअघि नै काम सक्ने बताएको थियो ।
यस्तै, दसैँअगावै ११ वटा सडकखण्डमा बिस्तारको कामसमेत सम्पन्न हुने भएको छ । सडक विभागले जेब्राक्रसमा चिह्न लगाउने, केवल तथा इन्टरनेट सेवा प्रदायकलाई तार व्यवस्थापनमा जिम्मेवार बनाउने, पोल र सडकमा जथाभावी लत्रिएका तारलाई वातावरण व्यवस्थापन विभागले काट्ने निर्णय बैठकले गरेको छ ।
आकाशे पुलको मर्मत सम्भार, बोटबिरुवाको काटछाँट, सडक किनारामा भएका सरकारी कार्यालय आकर्षक बनाउने कामलाई महानगरले अघि बढाएको सहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।
गत २९ साउनमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको नेतृत्वमा बसेको बैठकले भदौ मसान्तभित्र सडकसँग सम्बन्धित मर्मत सम्भारका काम सक्ने गरी कार्ययोजना बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सडकका खाल्डा पुर्ने, मर्मत गर्ने र सहरी सौन्दर्यको काम अघि बढाउने काम भएको महानगरले जनाएको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












