२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजमार्गमै थुप्रियो फोहोर



अ+ अ-

धादिङ । सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष सुरु हुन केही महिना मात्रै बाँकी छ। तर, पर्यटक राजधानी भित्रने र बाहिरिने प्रमुख नाकामध्ये पृथ्वीराजमार्गको ठाउँ ठाउँमा फोहोरको डंगुर थुप्रन थाले पनि त्यसतर्फ कसैको ध्यान गएको छैन।

भ्रमण वर्षलाई सफल पार्न र प्रचारप्रसार गर्न विभिन्न कम्पनीले प्रचारात्मक सामग्रीसहित होडिङ बोर्ड राखेका छन्। त्यसमा लेखिएको पनि छ, ‘आ(आफ्नो क्षेत्र स्वच्छ र सफा राखौं, नेपाल भ्रमण २०२० सफल पारौं।’ तर, यही नारा लेखिएको बोर्डवरपर नै फोहोरका थुप्रो छरपष्ट देखिनुले भ्रमण वर्षको होडिङ बोर्डमा लेखिएका नाराले नै गिज्याइरहेको गजुरीका स्थानीय शंकरप्रसाद कँडेलले बताए।

व्यवस्थित रूपमा ल्यान्डफिल साइट नहुँदा पृथ्वीराजमार्ग छेउछाउबाट त्रिशूली नदीमा समेत फोहोर फाल्ने क्रम बढेको छ। र्‍याफ्टिङका लागि प्रसिद्ध त्रिशूली नदीकिनारमा यत्रतत्र फोहोरको थुप्रो भेटिन्छ।

अझ कतिपय ठाउँमा त मानव स्वास्थ्यलाई असर गर्ने र नष्ट नहुने फोहोरसमेत थुप्रिएका छन्। त्यस्ता फोहोर मालवाहक गाडीले राति/राति ल्याएर छाडिदिने गरेको एक्लेफाँटका रामबहादुर श्रेष्ठले बताए। उनले भने, ‘प्रयोगमा नआउने सिसाका टुक्रा, सेरामिक्सका टुक्रा रातको समयमा ट्रकहरूले फालेर जान्छन्।’ दिउँसो स्थानीयले देख्ने हुँदा राजधानीबाट बाहिरिने ट्रकले रातिराति फोहोर राजमार्गछेउमै खसालेर जाने गरेको उनको भनाइ छ।

राजमार्ग छेउछाउका बजारको फोहोर फाल्ने ठाउँ व्यवस्थित नहुँदा पनि राजमार्ग क्षेत्र दुर्गन्धित हुँदै गएको हो। मलेखुका एक स्थानीयले भने, ‘फोहोर फाल्ने व्यवस्थित ठाउँ छैन, ठूला बजार र होटल छन्, यहाँबाट निक्लिएको फोहोर कहाँ लगेर फाल्ने त ? ’

फोहोर फाल्ने ठाउँ व्यवस्थित नभएकाले नै स्थानीयले रातसाँझ पारेर राजमार्गका खुला ठाउँमा फोहोर थुपारिदिने गरेको स्थानीयले बताए। राजमार्ग छेउछाउका खोल्साखाल्सीलाई फोहोर फाल्ने डम्पिङ साइट नै बनाइएको छ। कुनै टोल समुदाय अथवा पालिकाले नै उक्त ठाउँ तोकेको नभई दिनहुँ फोहोर फाल्दा फाल्दै डम्पिङ साइटजस्तै बनिसकेका हुन्।

राजमार्ग क्षेत्रका केही स्थानीय तहले राजमार्ग सफाइका लागि विभिन्न गैरसरकारी संस्थासँग मिलेर काम गरेको भए पनि देखिने काम भएको छैन। मौसमी रूपमा राजमार्ग सफाइ अभियान पनि चलाइरहेकै छन् तर त्यसको कुनै असर देखिएको छैन।

बेनिघाटका गुणराज त्रिपाठीले भने, ‘गाउँपालिकाको काम सचेतनामूलक मात्रै छ, पूर्वाधार निर्माण गरेर फोहोर व्यवस्थित गर्नेतर्फ चासो नै छैन, फोहोर नफालौँ, स्वास्थ्यमा असर गर्छ भन्ने सन्देश बाँडेर मात्रै फोहोर व्यवस्थापन हुन्छ र ?’ यता गाउँपालिकाका पदाधिकारी भने भ्रमण वर्षलाई लक्ष्य गरेर आफ्नो पालिकाभित्रका राजमार्ग क्षेत्र सफा र स्वच्छ बनाउने अभियान सुरु गरिएको बताउँछन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।