२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुप्सीपाखामा हिमालको पानी : न मुहान भेटियो, न त बोरिङ



अ+ अ-

गोरखा । न मुहान भेटियो, न त बोरिङ गरेर भूमिगत पानी ल्याउन सम्भव भयो । एकीकृत बस्तीका लागि घरहरू तयार हुँदै जाँदा पानीको संकट हुने देखिएपछि धार्चे–४ लाप्राकको गुप्सीपाखामा हिमालको पानी ल्याउने प्रबन्ध भएको छ ।

एकीकृत बस्तीको काम अन्तिम चरणमा छ । अबको केही साताभित्रै जोखिम बस्ती छाडेर लाप्राकी गुप्सीपाखा सर्नेछन् । ५ सय ७३ घरधुरीको बस्ती रहने पाखा आसपास आवश्यक पूर्वाधार पनि निर्माण जारी छ ।

बस्तीबाट १९ किमि परको हिमालको फेदको मुहानबाट भीर छिचोल्दै पाइप जोडेर गुप्सीपाखामा खानेपानी झरेपछि स्थानीय खुसीसँगै अचम्मित छन् । पाखा आसपास टहरोमा बसेकाहरूले पानी प्रयोग थालिसकेका छन् । ‘कुवाको पानी हिउँदमा हिउँ बन्थ्यो, पगालेर खानुपर्थ्यो,’ स्थानीय कान्छी गुरुङले भनिन्, ‘यस्तो उचाइको ठाउँमा कसरी पानी ल्याउलान् पत्याउनै पनि गाह्रो ।’ बस्तीमा ‘एक घर एक धारा’ जडान गरेपछि पानी विधिवत् वितरणको तयारी गरिएको छ ।

भूकम्पले लाप्राकको पुरानो बस्ती तहसनहस पारेको थियो । घरहरू भत्किनुका साथै जमिन धाँजा फाटेकाले बसोबास योग्य नभएपछि २७ सय मिटर उचाइको गुप्सीपाखामा एकीकृत बस्ती निर्माण थालिएको हो । निर्माणाधीन नयाँ बस्तीमा खानेपानी ल्याउन ३८ सय ५० मिटर उचाइको मुहान रोजेको स्थानीय सुकबहादुर गुरुङले बताए । ‘भुल्मेचेतको मुहानबाट पानी ल्याइएको हो,’ उनले भने ।

मुहानबाट बस्तीसम्म पाइप बिछ्याउने काम निकै गाह्रोसँग गरिएको उनी सम्झन्छन् । ‘हिउँले कामदार जाने बाटो थिएन, हिउँ पन्छाएर बाटो बनाउनै सकस,’ उनले भने, ‘भीरको बाटो पाइप लान उस्तै अप्ठ्यारो । हेलिकप्टरबाट पाइप र सिमेन्ट निर्माणस्थल पुर्‍यायौं ।’ सामान ढुवानीका लागि हेलिकप्टरबाहेक अन्य कुनै विकल्प नरहेपछि महँगो शुल्कमा चार्टर गरिएको थियो । लाप्राकको भूमेडाँडासम्म गाडीले लगेको निर्माण सामग्री मुहानसम्म लैजान हेलिकप्टरले १ सय १७ उडानगरेको थियो ।

उनले भने, ‘हिउँ फाल्दै, बाटो बनाउँदै मुहानको काम गर्‍यौं ।’ खर्क र गोठका अतिरिक्त टेन्ट टाँगेर कामदार राखिएको उनले बताए । ‘यति दुःख गरेर ल्याएको पानी खानको आनन्द पनि बेग्लै,’ उनले भने । बस्तीबाट मुहानसम्म पुग्न मात्र कस्सिएर हिँड्दा डेढ दिन लाग्ने स्थानीय किरण गुरुङले बताए ।

‘भूगोल नै यस्तै भएपछि काम गर्न सजिलो नभएको हो,’ उनले भने । १९ किमिको दूरीमा १२ ट्यांकी निर्माण गरिएका छन् । मुहानको भुल्मेचेतमा २, दिलिङखर्क, मेम्छी भेंडाखर्क, लाम्रखर्क, हुम्चेखर्क, कैका भन्ज्याङ र गुप्सीपाखामा ५ सय लिटरदेखि ८० हजार लिटर क्षमताको ट्यांकी निर्माणको काम सम्पन्न भएको छ ।

हिउँदमा गुप्सीपाखामै हिउँ पर्छ । हिमाल फेदीमा पनि मुहान जम्ने भएकाले अहिले पानी ल्याइए पनि जाडोका बेला पाइपमै जम्ने सम्भावना रहेको भन्दै स्थानीयले चिन्ता जनाएका छन् । ‘पानी नजम्न कस्तो प्रविधि अपनाउन सकिन्छ भनेर प्राविधिकसँग राय पनि लिन्छौं,’ गुरुङ भन्छन्, ‘मिटर जडानपछि २४ सै घण्टा पानी आउँछ । यति धेरै घरधुरीलाई अब पानीको समस्या रहँदैन ।’

बस्ती निर्माणका लागि भने पाखामा ठूलो रिन्जुलिङबाट पम्पिङ गरेर पानी लगिएको थियो । पम्पिङ सिस्टम लामो अवधि टिकाउ नहुने प्राविधिकले बताएपछि स्थानीयकै जोडबलमा हिमालको फेदमा रहेको मुहानबाट यहाँ पानी ल्याइएको हो । खानेपानी कार्यालय लमजुङले उपलब्ध गराएको ५ सय १० वटा मिटर सदरमुकाम आइपुगेको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै