
गुल्मी । घरसँगै रहर बगे । महिना दिनदेखि टेन्टमै । नीमकुमारी सिँजालीको मनमा हर्ष छैन । उनको परिवार अहिले अस्थायी शिविरमा बसेको छ । नीमकुमारीको घर मात्रै पहिरोले लगेन । माइती पनि टेन्टमै छन् । ‘घर माइती दुवैतिर बिजोग छ, कसरी माइत जाने रु उनी भन्छिन्, ‘न घर न दर, त्यसैले त्रिपालमुनि भएकाले छोरीलाई पनि बोलाएको छैन ।’ घर नै नभएपछि छोरीहरूले पनि बोलाउने आश मारेको उनले बताइन् । निमकुमारीको माइत पनि लुम्पेककै कसिंथलामा पर्छ । त्यो स्थान पनि पहिरो प्रभावित भएकाले माइती पनि टेन्टमै बसेका छन् । ‘घरसँगै अन्न र वस्तुभाउ पनि पहिरोले लग्यो,’ उनले भनिन्, ‘के खान छोरी–चेली बोलाउने ?’
गाउँमा दरभन्दा डर धेरै
अहिले गाउँसहर तिजले छोएको छ । माइती जानेको लर्को छ । तर, सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेकका महिलाहरूलाई भने तिजले छोएको छैन । सिंदी गाउँमा लीला तरामुको बिहे गरेको २० वर्ष भयो । तिज माइतमै रमाइलो गरेर बित्थ्यो । तर, अहिले कुनै सुरसार छैन । मनमा खुसी नभएपछि चाडवाडको कुनै अर्थ नहुने लीलाले बताइन् । ‘आकाशमा कालो बादल देखे कता गएर ज्यान जोगाउने भन्ने चिन्ता छ,’ उनले भनिन्, ‘लुम्पेकमा अहिले दरभन्दा डर धेरै छ ।’ सिद्ध प्राविकी प्रधानाध्यापक ज्ञानमाया तरामूले गाउँमै वारपार गर्नसमेत जोखिम रहेको बताइन् । उनले भनिन्, ‘लुम्पेकबाहिर माइत भएकालाई मात्र नभएर ठूल्ठूला पहिरो भएकाले गाउँमै पनि हिँड्डुल गर्न मुस्किल छ ।’
कहरमा छैन मिठो–मसिनो खाने रहर
गाउँमा धेरै महिला छन् । पुरुष कोही परदेशमा त कोही कामका सिलसिलामा घरबाहिर बस्छन् । स्थानीय शिक्षक दुर्गाबहादुर तरामूले दिदी–बहिनीहरूलाई माइतको मिठो मसिनोभन्दा आफ्नै पसिनोको चिन्ता धेरै भएको बताए । उनले भने, ‘राति वा पानी परेमा मात्रै शिविर जाने नत्र घाम लागेको वेला गाउँमै आएर घरगोठ मर्मत गर्ने, बचेको अन्नपात स्याहार्ने, वस्तुभाउलाई घाँसपात गर्नुपर्ने बाध्यता महिलाहरूलाई छ ।’ भीमा तरामू पनि योपटक माइत गइनन् । घरमा बस्न मिल्दैन । सानी छोरी छिन् । गोठमा वस्तुभाउ, छोडेर जाने उपाय छैन । उनले भनिन्, ‘छिमेकमा मादल बज्छ, मनमा खुसी नै छैन । जसले गर्दा तिज नै न्यास्रो भएको छ ।’
कहिल्यै नहार्ने दिदीबहिनीले हारे
ठूलोलुम्पेक धेरै जनजाति भएको गाउँ हो । यो समुदायमा मनोरञ्जनात्मक क्रियाकलाप धेरै हुन्छन् । विगतका वर्षहरूमा लुम्पेकका दिदी–बहिनीले तिजमा भाग नलिएका ठाउँ थिएनन् । सिंदी बजार आमा समूह प्रख्यात नाम हो । ‘गाउँदेखि जिल्लासम्म यो समूह नपुगे सबैले खल्लो मान्थे, तिजका धेरै प्रतियोगितामा हारेको रेकर्ड छैन,’ टोल सुधार समितिका संयोजक दानमाया तरामूले भनिन्, ‘अहिले प्रकृतिले हरायो, गाउँ नै शोकमा छ ।’ समन्वय समितिले गाउँमा अहिले शिविरमै एकदिन खीर खुवाउनेबाहेक अरू कुनै कार्यक्रम नगरेको उनको भनाइ छ । पहिरोका कारण ठूलोलुम्पेकमा पाँच र लिम्घामा आठ गरेर १३ जनाको ज्यान गएको छ, भने झन्डै १३ जना विस्थापित भएका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












