२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारभरि जुम्ली स्याउ



अ+ अ-

बाँके । ढुवानी सहज भएपछि नेपालगन्जभरि जुम्लाका स्याउ बिक्री भइरहेको छ । यहाँका ठेलावालादेखि डोका–डोकामा बोकेर घरघरै स्याउ बिक्री गर्नेको घुइँचो बढेको छ । भदौ सुरु भएपछि जुम्लाबाट स्याउ यहाँ भित्रिन थालेको हो ।

कोहलपुरकी ३५ वर्षीया सावित्री भण्डारी डोकाभरि स्याउ बोकेर ‘जुम्लाको स्याउ हजुर’ भन्दै नेपालगन्ज बजार डुल्छिन् । यसरी डुलेको २ घण्टामै डोको रित्तिन्छ । स्याउ बिक्री गर्न जुम्लाबाट आएर उनी आफन्तको घरमा बसिरहेकी छन् । गाडीबाट स्याउ ढुवानी गरी ल्याउँछिन् ।

त्यसपछि पसल, घरदैलो र बजारसम्म त्यसलाई बिक्री गर्न डुल्ने गरेको उनले बताइन् । एक दिनमा ५० किलोसम्म बिक्री गरिरहेको उनले सुनाइन् । भदौ र असोज महिनाभरि जुम्लाका स्याउ व्यापार गर्न आफू नेपालगन्ज झरेको उनको भनाइ छ । झन्डै ३ कठ्ठा भिरालो जमिनमा लटरम्म फलेका स्याउले गाउँमा बजार नपाएर खेर जान थालेपछि त्यही बिक्री गर्न नेपालगन्ज झरेको उनले बताइन् ।

‘सबै यहाँसम्म ल्याएर बेच्न पाए त पैसाको दुखै हुन्थेन,’ उनले भनिन्, ‘धेरै कुहेरै जान्छन् । बेचे पनि गाउँको बजारमा कौडीको मूल्यमा बिक्छ ।’ उनका अनुसार स्थानीय बजारमा ३० देखि ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्नुपर्छ । त्यही स्याउ नेपालगन्जमा १ सय ८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । पहिले यस सिजनमा भारतबाट फलफूल ल्याएर बिक्री गरिन्थ्यो । अहिले व्यापारीले जुम्लाकै स्याउ बेच्ने गरेको स्थानीयले बताए ।

सिजन अनुसारको फल रुचाउने र अर्ग्यानिक हुने भएकाले जुम्लाको स्याउको माग बढदै गएको बीपी चोकस्थित फलफूल व्यापारी मिलन गुप्ताले सुनाए । तुलनात्मक रूपमा जुम्लाको स्याउको मूल्य भारतको तुलनामा ६० रुपैयाँ बढी छ । अर्ग्यानिक स्वाद भएकाले यहाँका बासिन्दाले बढी मूल्य तिरेर भए पनि जुम्ली स्याउ नै खरिद गर्ने गरेको उनले सुनाए । दुई महिना भारतीय स्याउ नभई जुम्लाकै स्याउ व्यापार गर्ने गरेको उनले बताए ।

उनका अनुसार नेपालगन्जबाहेक काठमाडौंमा समेत माग बढ्न थालेको छ । उनले दैनिक ८ देखि १० किलोसम्म स्याउ काठमाडौंमा भाइको पसलमा पठाउने गरेको सुनाए । ‘त्यहाँ भाइले २ सय प्रतिकिलोमा बेच्छ,’ उनले भने, ‘मागे अनुसार स्याउ पुर्‍याउन सकिएको छैन ।’

त्रिभुवन चोकमा फलफूल व्यापार गरेर बस्ने गायत्री चौधरीले दैनिक २० किलो जुम्ली स्याउ बिक्री गर्दै आएको बताइन् । भर्खरै रुखबाट टिपेर ल्याएजस्तै ताजा हुने हुँदा मान्छेले रुचिका साथ खरिद गर्ने गरेको उनको बुझाइ छ । कहिलेकाहीं बजारमा जुम्लाकै स्याउ हो कि होइन भनेर परीक्षा लिने ग्राहकसँग उनले झेल्नुपर्छ । चौधरी समुदायकी भएकीले स्याउ किन्नुअगाडि व्यापारीको मुहार हेर्ने गरेको उनले सुनाइन् ।

‘जुम्लाकै मान्छेले बेचे भने पत्याइ हाल्छन्,’ उनले भनिन्, ‘हामीले बेच्दा झुक्याएको भन्दै शंका गर्छन् ।’ उनका अनुसार चिनियाँ, भारतीय र जुम्लाको स्याउको आकारबाट छुटयाउन सकिन्छ । हल्का बांगो भएको, किरा लागेजस्तो र साना आकारका स्याउ जुम्लाका हुने उनको दाबी छ ।

मौसमी फलफूलमा यतिबेला सबैभन्दा राम्रो व्यापार जुम्ली स्याउको भएको उनले सुनाइन् । रानीतलाउस्थित सब्जीमन्डीमा तरकारी व्यापार गर्ने निजामुद्दिन राईले स्याउ व्यापार सुरु गरेका छन् । जुम्ली स्याउको माग बढेपछि उनी यतातिर लागेका हुन् । , समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।