२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपामा खर्च विवाद, धेरै खर्चालु शरदसिंह भण्डारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)को अध्यक्ष मण्डलमा पार्टी कोष जथाभावी हिनामिना गरिएको आरोप–प्रत्यारोप चलेको छ । अध्यक्ष मण्डलको संयोजक बनेका वेला चार नेताले आवश्यकताभन्दा बढी खर्च गरेको र हिसाब–किताब पारदर्शी नराखेको नेताहरूले एक–अर्कालाई आरोप लगाएका छन् ।

स्रोतका अनुसार वर्तमान संयोजक राजकिशोर यादव र निवर्तमान संयोजक अनील झाले अन्य चार अध्यक्ष मण्डलका सदस्यले संयोजक बन्दा चाहिनेभन्दा बढी रकम पार्टी कोषबाट खर्चेको भन्दै प्रश्न उठाएका छन् । उनीहरू निकट नेता–कार्यकर्ताले पनि हिसाब–किताब हिनामिनाको विषय उठाएका छन् ।

७ वैशाख ०७४ मा मधेसकेन्द्रित ६ दल मिलेर बनेको राजपामा चक्रिय प्रणालीका आधारमा दुई÷दुई महिना अध्यक्ष मण्डलको संयोजक बन्ने व्यवस्था विधानमा छ । पार्टी एकीकरणका वेला संयोजक बनेका महन्थ ठाकुर सबैभन्दा बढी १९ महिना (०७५ मंसिर ६ सम्म) संयोजक बने । उनी संयोजक बनेका वेलामा पार्टी स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी भयो । निर्वाचन खर्च र पार्टीका तर्फबाट उम्मेदवार बन्नेहरूलाई पनि पार्टीले खर्चको व्यवस्था ग¥यो । त्यसवेला रकम कसरी जम्मा भयो र जम्मा भएको रकम कुन मापदण्डका आधारमा खर्च गरियो भन्ने कुनै अभिलेख पार्टीसँग छैन ।

६ मंसिर ०७५ देखि ६ माघ ०७५ सम्म राजेन्द्र महतो अध्यक्ष मण्डलको संयोजक बने । नयाँ पत्रिकालाई प्राप्त पार्टीको खर्च रेकर्डमा ०७५ मंसिरमा तीन लाख ८२ हजार दुई सय ८३ रुपैयाँ खर्च भएको देखिन्छ । पुसमा ७ लाख ८८ हजार नौ सय ६८ रुपैयाँ खर्च भएको देखिन्छ । दुई महिनाको जोड्दा ११ लाख ७१ हजार दुई सय ५१ रुपैयाँँ खर्च भएको देखिन्छ । रेकर्डमा पार्टीको कोषबाट पुसमा सात लाख १६ हजार एक सय ४६ रुपैयाँको चेक काटेको देखिन्छ । मंसिरमा चार लाख ६६ हजार चार सय ६१ रुपैयाँको चेक काटेको देखिन्छ । कुन बैंकको कति नम्बरको चेक हो, त्यो भने खुलाइएको छैन ।

६ माघ ०७५ देखि ६ चैत २०७५ सम्म संयोजक बनेका महेन्द्र रायका पालामा पनि हिसाब–किताब अव्यवस्थित छ । माघको रेकर्डमा एक लाख २४ हजार पाँच सय ८० रुपैयाँ खर्च देखिन्छ । फागुन र चैतको १३ गतेसम्म १५ लाख ८३ हजार नौ सय खर्च देखिन्छ । त्यसको खर्च भुक्तानीका लागि बैंकबाट तीनवटा चेकबाट गरी १६ लाख निकालिएको उल्लेख छ । तर, कुन बैंकबाट भन्ने खुलाइएको छैन । राय यादवको कार्यकालमा १७ लाख आठ हजार चार सय ८० रुपैयाँ खर्च भएको रेकर्ड छ ।

६ चैत ०७५ देखि ६ जेठ ०७६ सम्म शरत्सिंह भण्डारी अध्यक्ष मण्डलको संयोजक बने । उनको कार्यकालमा सबैभन्दा बढी खर्च भएको देखिन्छ । चैत र वैशाखमा १९ लाख ७७ हजार नौ सय ३५ रुपैयाँ खर्च भएको रेकर्ड छ । ६ जेठ ०७६ बाट ६ साउन ०७६ सम्म संयोजक बनेका अनील झाले भने आफूले पार्टी कोषको कुनै पनि रकम खर्च नगरेको दाबी गरे । ‘म संयोजक भएका वेलामा पार्टी कोषको कुनै पनि रकम खर्च गरेको छैन । आफ्नै व्यक्तिगत रकमबाट पार्टी चलाएँ,’ झाले नयाँ पत्रिकासँग भने ।

स्रोतले भने कर्मचारीलाई तिर्ने रकम पार्टी कोषबाटै चलाएको बताउँछ । राजपाको केन्द्रीय कार्यालयमा कार्यरत नौ कर्मचारीलाई मासिक एक लाख ९६ हजार पाँच सय रुपैयाँ तलब जान्छ । अन्य नेता संयोजक बन्दा खर्च बढी भएको कुरा पार्टीमा उठेको बारेमा उनले भने, ‘मलाई मेरो विषयमा मात्रै थाहा छ, म आफू हुँदा व्यक्तिगत खर्च गरी पार्टी चलाएँ ।’

साउनमा संयोजक बनेका राजकिशोर यादवको कार्यकालको खर्च विवरण भने तयार भइसकेको छैन । राजपामा कार्यकाल सकिएपछि मात्रै खर्च सार्वजनिक गर्ने प्रचलन छ ।

सबैभन्दा बढी खर्च भण्डारीको पालामा
कार्यालयमा रहेको रेकर्डअनुसार शरत्सिंह भण्डारीको पालामा सबैभन्दा बढी खर्च भएको देखिन्छ । उनको पालामा १९ लाख ७७ हजार नौ सय ३५ रुपैयाँ खर्च भएको देखिन्छ । पार्टी स्थापना दिवस ७ वैशाख भण्डारीकै कार्यकालमा परेको, पदाधिकारी समिति बैठक र पार्टी एकीकरणको कार्यक्रम परेकाले उनको कार्यकालमा खर्च बढी भएको कार्यालयका एक कर्मचारीले जानकारी दिए । त्यस्तै, दोस्रो बढी खर्च राययादवको पालामा भएको छ । उनको पालामा १७ लाख आठ हजार चार सय ८० रुपैयाँ खर्च भएको देखिन्छ । त्यसवेलामा राजपाले सात प्रदेशका आठ स्थानमा अध्यक्ष मण्डलका सबै सदस्य पुगेर नेता कार्यकर्तासँग अन्तक्र्रिया गरेको थियो ।

कर्मचारी खर्च मासिक एक लाख ९६ हजार
राजपाको केन्द्रीय कार्यालयमा नौ कर्मचारी कार्यरत छन् । तीमध्ये एक जनाले २६ हजार पाँच सय, पाँच जनाले २५ हजारका दरले र तीन जनाले १५ हजारका दरले मासिक पारिश्रमिक लिन्छन् ।

संयोजक को हुँदा कति खर्च ?

  • १९ महिना संयोजक बनेका महन्थ ठाकुरले हिसाबै राखेनन्
  • अनील झाले पार्टीको पैसा व्यक्तिगत खर्च गरे
  • धेरै खर्चालु शरत्सिंह भण्डारी

राजपाको मासिक आम्दानी कति ?

प्रतिनिधिसभामा १६ र राष्ट्रियसभामा दुई गरी १८ जनाले १० हजारका दरले १,८०,०००
प्रदेश सभामा जम्मा २८ जना

  • प्रदेश नं २ को सरकारमा ६ जना मन्त्री १० हजारका दरले ६० हजार
  • प्रदेश सभा २ को संसदीय समितिमा दुई सभापति १० हजारका दरले २० हजार
  • बाँकी २० प्रदेश सांसदबाट सात हजारका दरले १,४०,००० हजार
  • स्थानीय जनप्रतिनिधिहरूबाट महिनामा एकमुष्ट नौ लाख
  • जम्मा आम्दानी मासिक : १३ लाख

महाधिवेशनको मुखैमा आरोप– प्रत्यारोप
राजपाले आगामी कात्तिक २८–३० मा महाधिवेशनको मिति घोषणा गरेको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेता आरोप–प्रत्यारोपमा लागेका छन् । त्यही क्रम खर्च विवरणबाट सुरु भएको देखिन्छ ।

समाजवादी पार्टीसँग एकता तत्काल गर्ने या पार्टी महाधिवेशनपछि गर्ने भन्नेमा दुई अध्यक्ष मण्डलमा दुई धार देखिएपछि विषयान्तर भएर कोषतिर सरेको छ । ६ सदस्यीय अध्यक्ष मण्डलमा ठाकुर, भण्डारी, राययादव र महतो पार्टी एकताको पक्षमा छन् । वर्तमान अध्यक्ष मण्डलका संयोजक यादव र झा आफूहरूलाई अन्य नेतासरह पार्टी एकीकरणपछि पद हुने निश्चित नहुँदासम्म एकीकरण हुन नदिने पक्षमा छन् ।

आर्थिक विषय उठाउन यादव र झा एक स्थानमा उभिएका देखिन्छन् । दुई महिना अध्यक्ष मण्डलको संयोजक बनेका झाले अध्यक्ष मण्डलको बैठक एकपटक मात्रै डाके । वर्तमान संयोजक यादवको नेतृत्वमा भने एउटा बैठक पनि बस्न सकेको छैन । ‘बैठक नै नबस्ने र पार्टीका कुनै पनि कार्यक्रम नगर्ने, त्यसपछि हामीले पार्टीको कोष बचायौं भन्नुको कुनै अर्थ देखिन्नँ,’ एक नेताले भने । यस विषयमा जानकारी लिन खोज्दा यादव र झा सम्पर्कमा आएनन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।