
काठमाडौं । सुगौली सन्धि र १९५० को शान्ति तथा मैत्री सन्धिको सक्कल प्रति कानुन मन्त्रालयसँग पनि नरहेको मन्त्रालयले स्पष्ट पारेको छ । ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’को बुधबारको बैठकमा निमित्त कानुनसचिव धनराज ज्ञवालीले ती सन्धिको सक्कल प्रति फेला नपरेको बताए । ‘कानुन मन्त्रालयसँग सुगौली र १९५० को सन्धि छैन,’ उनले भने, ‘ती सन्धि हाम्रोमा फेला परेन ।’
समितिले २१ साउनमा गरेको छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कानुन मन्त्रालयमा ती कागजात हुन सक्ने अनुमान गरेका थिए । नेपालका महत्वपूर्ण दस्तावेज कहाँ छन् भन्नेबारे समितिले खोजी गरिरहेको छ । समितिका सदस्यहरू राष्ट्रिय अभिलेखालय, पुरातत्व विभाग, राष्ट्रिय संग्रहालय, सर्वोच्च अदालत पुस्तकालय, केशर पुस्तकालय, संसद्को पुस्तकालय, नारायणहिटी दरबार संग्रहालयसम्म पुगेर खोजी गरेका थिए ।
तर कतै नपाएपछि ५ साउनमा समितिले राष्ट्रिय महत्वका दस्तावेज कहाँ र कसरी राख्ने भन्नेबारेमा सरकार गम्भीर नदेखिएको बताएको थियो । सुगौली सन्धिबारे समितिले मन्त्रालयहरूलाई पत्राचार गरेको थियो । इतिहासविद् रमेश ढुंगेल भने सुगौली सन्धिको सक्कल प्रति तीन ठाउँमा हुन सक्ने अनुमान गर्छन् । ‘बाबुराम आचार्य, योगी नरहरिनाथ वा राजदरबारको लाल ढड्डामध्ये कतै हुन सक्छ,’ उनी भन्छन्, ‘नेपालको सुगौली सन्धिको कपी बेलायतमा छैन । मैले त्यहाँ रहँदा भेटिनँ । एक प्रति नेपालमै हुनुपर्छ । अब कहाँ धमिराले खाएर बसेको छ, त्यो खोज्नुपर्छ ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












