२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी रैथाने फौजी किराले नेपालको मकै सिध्यायो



अ+ अ-

काठमाडौं । अमेरिकी फौजी किराले ओखलढुंगा, भोजपुर, उदयपुर र खोटाङमा मकै बाली सखाप पारेको छ। किराको प्रकोप फलिँदा मकै किसान आतंकित बनेका छन्।

ओखलढुंगाको सिद्धिचरण राजमार्ग र ओखलढुंगा–हलेसी सडक आसपासका क्षेत्रमा फौजी किराले सबैभन्दा बढी मकै बाली सखाप पारेको छ। त्यस क्षेत्रमा ९० प्रतिशत हिउँदे मकैको नष्ट गरेको अनुगमनका क्रममा भेटिएको बाली संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख मुकेशकुमार यादवले बताए। उनले भने, ‘ओखलढुंगापछि खोटाङमा धेरै नष्ट गरेको छ, खोटाङमा ७०, उदयपुरमा २५ र भोजपुरको तथ्यांक आउन बाँकी छ। यो एकै रातमा पनि बढ्न सक्छ।’

ओखलढुंगामा नमुना र किरा परीक्षण गर्दा अमेरिकी फौजी किराको पुष्टि भएको उनले जानकारी दिए। ‘पहिले पनि मकैमा किराको प्रकोप देखिन्थ्यो। प्रदेश १ मै फौजी किराको प्रकोप पुष्टि भयो। यसले एकै रातमा एक सय किलोमिटरसम्मको मकै नष्ट गर्न सक्छ,’ यादवले भने।

फौजी किराले मकैबालीमा क्षति पुर्‍याएको सम्बन्धित जिल्लाका किसानले बताएका छन्। ती जिल्लामा बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्तिम साता हिउँदे मकै लगाएका थिए। हिउँदे मकैमा पनि फौजी किरा फैलिएपछि हिउँदे मकैबाट उत्पादनको आशा मारेको भोजपुर हतुवागढी गाउँपालिका–१ रानीबासका किसान पदमबहादुर बस्नेतले बताए। उनले भने, ‘बर्खे मकै पनि पानी नपरेपछि मरेर सकियो, हिउँदे मकैमा पनि फौजी किराले टिक्नै दिएन। यो वर्ष कसरी जीविका चलाउने रु बस्तुभाउलाई के दिने ? ’ भोजपुरमा हतुवागढी गाउँपालिका क्षेत्रमा फौजी किराको संक्रमण बढेको छ। भोजपुर हतुवागढी गाउँपालिका १, २, ५ र ६ का रानीबास, लुंगिन, होम्ताङ, हर्का, लंखालगायतका क्षेत्रमा पनि फौजी किराको प्रकोप देखिएको छ। भोजपुरमा फौजी किराको प्रकोप देखिएको यो पहिलोपटक हो। प्रकोपले गाउँपालिका क्षेत्रका करिब आठ सय रोपनीमा लगाइएको मकैबाली नष्ट गरेको छ। हतुवागढी गाउँपालिकाका कृषि शाखा प्रमुख सागर पौडेलका अनुसार गाउँपालिकाले कृषि प्राविधिक टोली र प्रकोप क्षेत्रका सम्बन्धित किसानबीच तत्काल किरा नियन्त्रण गर्न, नमुना संकलन, स्थलगत अनुगमन, विषादी छिट्ने तयारीमा जुट्ने निर्णय गरेको छ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको कटारी नगरपालिका १३ मा किराको प्रकोप फैलिएको छ। मानेभन्ज्याङको हिलेपानी, सोक्माटार, थाक्लेमा लगाइएको मकैबाली सखाप पारेको सोक्माटारका किसान क्षमराज राईले बताए। उनले भने, ‘मकै मात्रै होइन, बोटबिरुवाका पालुवासमेत सखाप पारेको छ।’ खोटाङमा एक महिनाअघि फैलिएको अमेरिकी फौजी किराले बालीनालीलगायत वनजंगल सखाप पार्न थालेपछि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सय एमएलको ५० बट्टा विषादी हस्तान्तरण गरेको छ। विषादी सबै किसानलाई वितरण गर्ने र एकैसाथ बालीनालीमा छर्कने व्यवस्था मिलाइने बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए। २० बट्टा विषादी हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा पठाइएको छ।

खोटाङको बाहुनीडाँडामा कृषि ज्ञान केन्द्रका टोलीसमेत पुगेको छ। हलेसी तुवाचुङ नगरपालिकामा खडेरीका कारण मकैको बिरुवा मरेको केही समयपछि फेरि छरेर उम्रिएको मकैको बिरुवा फौजी किराले सखाप पारेको हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईले बताए। उनका अनुसार फौजी किराले घाँस तथा मकैका घोगासमेत नष्ट गरेको छ ।

अन्य जिल्ला उच्च जोखिममा रहेको उनको भनाइ छ। ‘अमेरिकी फौजी किरा पहिलोपटक भित्रिएको हो। पश्चिमका जिल्लामा साउन अन्त्यमा देखिएको अमेरिकी फौजी किरा अकस्मात् प्रदेश १ को ओखलढुंगामा देखिएको हो। यसको नियन्त्रणका लागि सरकारले विशेष योजना बनाउनुपर्छ,’ उनले भने।

यसै विषयमा मंगलबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय १ नम्बरमा कृषि विशेषज्ञसहित प्राविधिक र सरकारी अधिकारीबीच छलफल त भएको थियो। छलफलमा सबै एग्रोभेटमा यसलाई नियन्त्रण गर्ने औषधि झिकाउन र किसानमा जनचेतनामूलक कार्यक्रम लैजाने निर्णय भएको छ।

साउन अन्त्यमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अमेरिकी फौजी किरा नेपाल प्रवेश गरेको औपचारिक घोषणा गरेको थियो। छोटो समयमै यसले नेपालमा प्रकोपको रूप लिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय १ नम्बर प्रदेशका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए।

यसअघि नेपाल कृषि अनुसन्धान परिषद् नार्कका किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटले फौजी किराबारे थप अनुसन्धान गरेर केन्द्रलाई जानकारी गराएका थिए। वैज्ञानिकले अनुसन्धान गरेर नेपालमा फौजी किराको प्रवेश गरेको पुष्टि भए पनि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले यसको थप परीक्षण सुरु गरेको थियो। यस क्रममा विभिन्न जिल्लाको मकैबालीमा देखिएको फौजी किराको नमुना भारत पठाइएको थियो।

नमुना परीक्षण गर्दा मकैको बोट, पात र डाँठमा फौजी किरा लागेको पुष्टि भएपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले नेपालमा फौजी किरा प्रवेश गरेको औपचारिक घोषणा गरेको थियो।

प्रदेश १ मा ४३ हजार हेक्टर क्षेत्रफलमा मकैखेती हुन्छ। त्यसमध्ये आधा भागमा हिउँदे मकै समेत लगाउने गरिएको छ। कृषि विकास कार्यालय प्रदेश १ विराटनगरको तथ्यांकअनुसार एकै सिजनमा प्रदेश १ का जिल्लामा २ लाख १५ हजार ८ सय मेट्रिक टनसम्म मकै उत्पादन हुन्छ ।

रातमा सक्रिय

अमेरिकी रैथाने फौजी किरा समूहमा दिउँसो माटोमुनि र रूखमा बस्छ। राति सक्रिय हुने यो किराले मकै र रूखका पालुवामा फुल पार्छ। एउटा फौजी किराले एकपटकमा २ सय वटासम्म फुल पार्ने विशेषज्ञ बताउँछन्।

माउ किराले रातमा मकैको बोटमा फुल मात्रै पार्छ भने फुलबाट निस्किएको लार्भाले मकै खाएर नष्ट गर्छ। फुल पारेको दुई दिनमै लार्भा निस्कने भएकाले यसको असर चाँडै देखापर्ने बाली संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख यादवले बताए। माउ फौजी किराले एकै रातमा एक सय किलोमिटर क्षेत्रमा रहेका मकै र पालुवा आएका बोटमा फुल पार्ने हुँदा धेरै क्षेत्रफलमा मकै खेती नष्ट हुने गरेको यादवको भनाइ छ।

फौजी किराको आयु १२ दिनसम्मको मात्र हुन्छ। एउटा वयस्क फौजी किराले २४ सय वटासम्म फुल पार्छ र विकासक्रम पनि तीव्र हुन्छ। किसानका अनुसार फौजी किराको समूहले घाम लागेका बेला मकैको गुबोभित्र पसेर खान्छ। रातिको समयमा कलिला पात खाए मकैको बोट सखाप पार्छ। फौजी किराले गुबो खाएपछि मकैको पात नलाग्ने, सुतली नआउने र घोगा नलाग्ने भोजपुर लुंगेनका किसान राजेन्द्र राईले बताए।

अमेरिकाबाट नेपालमा

मकैबाली सखाप पार्ने यो अमेरिकी रैथाने फौजी किरा हो। यो किरा सन् २०१६ मा पश्चिमी अफ्रिकामा देखिएको थियो। त्यसको दुई वर्षमै अफ्रिकाभर फैलिएको वैज्ञानिकहरूले बताएका छन्।

सन् २०१८ मा यो किरा एसियामा पहिलोपटक भारतको कर्नाटकमा देखिएको थियो। यो किराको पुतली एक रातमा १ सय किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकको दाबी छ। फौजी किराको यही क्षमताका कारण गत वर्ष भारतका १९ प्रान्तमा फैलिसकेको थियो। भारतसँगै श्रीलंका, बंगलादेश र म्यानमारमा पनि यसको प्रकोप देखिएको वैज्ञानिकहरूले बताएका छन्।

त्यसलगत्तै सन् २०१९ को सुरुमा थाइल्यान्ड, चीन र भियतनाममा पनि देखिएको थियो। यसक्रममा नेपालका विभिन्न जिल्लामा समेत देखिएपछि नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटले अनुसन्धान सुरु गरेका थिए। अनुसन्धानका क्रममा नेपालमा यो किराले मकैमा क्षति गरेको भेटिएको प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

नियन्त्रणको उपाय छैन

एकै रातमा सय किलोमिटरसम्मको क्षेत्रफलमा फुल पार्ने र लार्भा दुई दिनमा बढेर मकैको गुबो, डाँठ र फेदबाट खाने हुँदा मध्यम चरणमा पुगे नियन्त्रण गर्ने उपाय छैन। गुबो र डाँठ जोगिएका मकै भने औषधि प्रयोग गरेर जोगाउन सकिने कृषिविज्ञ बताउँछन्।

मकै उम्रेदेखि नै आक्रमण सुरु गरे उखेलेर लार्भा नष्ट गर्नुपर्ने बाली संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख मुकेशकुमार यादव बताउँछन्। लार्भा नष्ट गर्न प्रयोग गरिने औषधिमात्रै अहिले यसको नियन्त्रणका लागि प्रयोग भएको र नेपालमा पहिलोपटक यसको प्रकोप देखिएकाले विश्वका अन्य देशमा नियन्त्रणका लागि प्रयोग गरिने विषादीका विषयमा लागि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले छलफल गरिरहेको यादवको भनाइ छ।

प्रकोपकै रूपमा देखिएको स्थानमा इमिडाक्लोप्रिड १७।८५५ एसएल नामक किटनाशक औषधि छर्न सुरु गरिएको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।