
काठमाडौं । वैज्ञानिकहरूले देशभरका स्थानीय तहको फोहोर व्यवस्थापनका लागि आधुनिक प्रविधिको प्रयोग गर्न सुझाब दिएका छन् । फोहोर व्यवस्थापनमै ठूलो रकम खर्च गरे पनि उपलब्धि नदेखिएको भन्दै उनीहरूले स्थानीय तहलाई उपयुक्त प्रविधिको प्रयोगका लागि ध्यान दिन आग्रह गरेका हुन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले मंगलबार गरेको ‘फोहोर व्यवस्थापन, समस्या र समाधान’ विषयक विज्ञान संवादमा सहभागी वैज्ञानिकले प्रतिष्ठान र विश्वविद्यालयसँग अनुसन्धानका लागि बजेटको अभाव हुँदा प्रविधिको विकासमा समेत समस्या भइरहेको बताए ।
फोहोरबाटै हुन सक्छ आम्दानी
वैज्ञानिकहरूले फोहोर नगर्ने बानीको विकास र फोहोर व्यवस्थापनका उपयुक्त व्यावहारिक ज्ञान अवलम्बन गर्न सके फोहोरबाटै आम्दानीसमेत गर्न सकिनेमा जोड दिए । फोहोरको वर्गीकरण गरी पुनः प्रयोग र उपयुक्त ढंगबाट नस्ट नगरिँदा फोहोरका कारण वातावरण प्रदूषित भइरहेको उनीहरूको भनाइ थियो ।
नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले फोहोर जलाएर समस्या समाधान नहुने बताए । ‘हामीकहाँ फोहोर जलाएर नस्ट गर्ने चलन छ, तर त्यो वातावरणका लागि अत्यन्तै हानिकारक छ, यसको विकल्प खोजौँ,’ उनले भने । नास्टकै वैज्ञानिक रवीन्द्र ढकालले नेपालमा रहेको प्लास्टिकजन्य फोहोरबाट इन्धन निकालेर प्रयोग गर्न सकिने बताए ।
उनले नेपालको कुल इन्धन खपतको पाँच प्रतिशत इन्धन प्लास्टिकजन्य फोहोरबाट निकाल्न सकिने वैज्ञानिक आधार प्रस्तुत गरे । ‘बाग्मतीको प्लास्टिक झिकेर त्रिशूलीमा मिसाउँदैमा समस्या समाधान हुँदैन, दिगो समाधानका लागि यसको प्रयोग घटाइनुपर्छ, पुनः प्रयोग गरेर इन्धन निकाल्न सकिन्छ,’ उनले भने ।
फोहोर व्यवस्थापनमा कार्य गर्दै आएको ब्लु बेस्ट टु भ्यालु प्रालिका निर्देशक नवीन विकास महर्जनले फोहोर व्यवस्थापन गर्न सके पुनः प्रयोग गरेर आम्दानी लिनेतर्फ ध्यान दिन आग्रह गरे । ‘हामीले कीर्तिपुर र ललितपुरमा काम गरिरहेका छौँ, फोहोरको राम्रो व्यवस्थापन र आम्दानी दुवै गर्न सकिन्छ, कम्पोस्ट प्रविधि मात्र अपनाए पनि १२–१५ प्रतिशत फोहोर मात्रै डम्पिङ हुन्छ,’ उनले भने । वैज्ञानिकहरूले बढ्दो औद्योगिक, अस्पतालजन्य र इलेक्ट्रिक फोहोरको व्यवस्थापनमा पनि बेलैमा ध्यान पुर्याउनुपर्ने सुझाब दिए ।
काठमाडौं फोहोर भयो स् मन्त्री पण्डित
कार्यक्रमको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काठमाडौं उपत्यका सबैभन्दा फोहोर बनेको बताए । ‘म ०२८ सालदेखि काठमाडौंमा बसेर यहाँका परिवर्तनलाई देख्दै र भोग्दै आएको छु, यो पढेलेखेका, विद्वान र देशकै ठालू बस्ने ठाउँ हो, तर सबैभन्दा बढी फोहोर पनि यही छ, यसले के संकेत गर्छ ?’ मन्त्री पण्डितले प्रश्न गरे । उनले शिक्षित भनिएकाहरूमै फोहोरचाहिँ आफूले गर्ने, अनि सफाइचाहिँ सरकारले गरिदिनुपर्छ भन्ने सोचाइ रहेको बताए ।
उनले उपत्यकाको फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडालाई व्यवस्थित गरिने बताए । मन्त्री पण्डितले फोहोर व्यवस्थापनका लागि उपयुक्त प्रविधिको विकास गर्न चाहिनेजत्ति बजेट उपलब्ध गराउन आफू तयार रहेको बताए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रबकाशित छ ।












