२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोेच्चमा भ्रष्टाचार मुद्दाको चाङ, पेसी चढ्दै स्थगित र हेर्न नभ्याउने सूचीमा



अ+ अ-

काठमाडौं। सर्वोच्च अदालतमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर भ्रष्टाचार गरेको अभियोगमा १९ वटा मुद्दाको पेसी चढेको छ । सर्वोच्चले यी सबै मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ । ती मुद्दा दुई वर्षदेखि इजलासमा पेसी चढ्दै स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको छ ।

यी त प्रतिनिधि मुद्दा मात्रै हुन् । २०७१ सालदेखि भरतकुमार यादवको भ्रष्टाचार मुद्दामा मात्रै २२ पटक पेसी तोकिएको छ । सामाजिक सुरक्षा भत्ता अनियमितता गरी भ्रष्टाचार गरेको सो मुद्दाको पेसी ७ असोजका लागि तोकिएको छ ।

प्रथामिक विद्यालयको रकम लिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेकी नर्बदा भट्टराई, डिल्लीराम भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद इसुफ मियाँलाई विपक्षी बनाएर दायर रिट दुई वर्षदेखि अदालतमा अल्झिरहेको छ । उनीहरूको मुद्दामा आठपटक पेसी तोकेर हेर्न नभ्याउने सूचीमा राखिएको छ । पछिल्लो समय ३ असार २०७६ मा न्यायाधीश प्र्रकाशमानसिंह राउत र डा. मनोजकुमार शर्माको इजलासमा पेसी तोकेर बेन्च बस्न नभ्याएको उल्लेख भयो । अब अर्को पेसी ७ असोजका लागि तोकिएको छ ।

अदालतमा वर्षौंदेखि पेसी तोकेर हेर्न नभ्याउने, स्थगित हुने र बेन्च बस्न नभ्याएर पेसी सर्ने क्रमले विगत पाँच वर्षदेखि निरन्तरता पाउँदै आइरहेको छ । प्र्रधानन्यायाधीश चोलेन्द्र्रशमशेर राणाले पदभार गरेकै दिन भ्रष्टाचार मुद्दामा शून्य सहनशीलता अपनाउने गरेको प्रतिबद्धता कागजमा मात्र सीमित हुन पुगेको छ । १९ पुसमा पदबहाल भएयता उनले भ्रष्टाचार मुद्दाको पेसी तोक्ने गरे पनि स्थगित र हेर्न नभ्याउने सूचीले भने रेकर्ड कायम गर्दै आइरहेको छ ।

अदालतमा बर्षेनि भ्रष्टाचारको मुद्दाको चाङ कछुवाको गतिमा अगाडि बढिरहेको छ । अकुत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्कापट्टामा गोलमाल, बैंक घोटालालगायत भ्रष्टाचारका ६ सयभन्दा बढी मुद्दाको पेसी अगाडि बढ्न सकेको छैन ।

विशेष अदालत ऐन, २०५९ को दफा १६ ९२० मा विशेष अदालतको निर्णयमाथि परेको पुनरावेदन मुद्दाको प्राथमिकताका साथ मिसिल प्राप्त भएको मितिले तीन महिनाभित्र किनारा गर्नपर्ने भनिएको छ । तर, सर्वोच्चले मुद्दाको सुनुवाइ त परको कुरा मुद्दाको पेसी चढाउनेमा भने रेकर्ड कायम गरेको छ ।

६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्र्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा वर्षौंदेखि अदालतमा अल्झिरहेको छ । उनीसहित भ्रष्टाचारको दुई दर्जन मुद्दाको पेसीमा कानुन व्यवसायीबाट सुनुवाइ स्थगित गराउँदै आएको छ । जोशीको भ्रष्टाचार मुद्दाको पेसी चढ्दा कानुन व्यवसायी बिरामी भएर उपस्थित हुन नसकेर धेरैपटक स्थगित भएको छ ।
अख्तियारले विशेष अदालतमा २८ माघ २०६० मा ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ पदीय दुरुपयोगबाट कमाएको अभियोगसहित १३ वर्ष कैद सजायसहित जरिमाना मागेको थियो । सो मुद्दामा ३० कात्तिक २०६३ मा तत्कालीन विशेष अदालतका अध्यक्ष भूपिध्वज अधिकारी, कमलनाथ शर्मा र चोलेन्द्र शमशेर जबराको इजलासले अख्तियारले म्याद गुजारेर आएको भन्दै मुद्दाको तथ्यमा नपुगी जोशीलाई भ्रष्टाचार मुद्दामा सफाइ दियो । अख्तियार विशेष अदालतको आदेशको विरुद्ध सर्वोच्चमा रिट दर्ता भयो । सर्वोच्चले भ्रष्टाचार मुद्दामा हदम्याद नलाग्ने आदेश भएपछि विशेष आदालतमा जोशीविरुद्ध मुद्दा चल्यो । विशेष अदालतले १० साउन २०६६ मा विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र, र केदार चालिसेको इजलासले जोशीलाई भ्रष्टाचारी ठहर गर्यो ।

विशेषले जोशीसँग २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ ४१ पैसाको मात्रै स्रोत नपुगेको भन्दै एक वर्ष छ महिना मात्रै कैद सजाय सुनायो । जति रकमको स्रोत खुलेको छैन, त्यति रकम जरिमाना तिर्नुपर्ने पनि आदेश छ । साथै, यी सम्पति पनि जफत हुनेछन् भनिएको छ ।
कांग्रेस नेता जोशीसँगै पूर्वरक्षा सचिव चक्रबन्धु अर्यालको भ्रष्टाचार मुद्दा पनि सर्वोच्चको इजलासमा घुमिरहेको छ । ८ मंसिर २०६९ मा विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका पूर्वरक्षा सचिव चक्रबन्धु अर्यालले सफाइ पाउन माग गर्दै सर्वोच्चमा २०७० सालमा पुनरावेदन निवेदन दर्ता गराएका थिए । सो मुद्दा पाँच वर्षदेखि सर्वोच्च अदालतमा अझै अल्झिरहेको छ । बिहीबार पनि उनको मुद्दाको पेसी सूची चढ्यो तर कानुन व्यवसायीबाट मुद्दाको स्थगित गरिएको छ । विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै उनलाई डेढ वर्ष कैद, ६६ लाख जरिमाना र त्यति नै बिगो असुलउपर हुने फैसला गरेको थियो ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।