८ असार २०८३, सोमबार
,
Latest
मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाध्यक्षको सवारीसाधन खरीद गर्ने बजेटले एम्बुलेन्स



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले दुई वटा एम्बुलेन्स खरीद गर्न लागेका छन् । उनको यस प्रस्ताव कार्यपालिका बैठकलेसमेत पारित गरिसकेको छ ।

“यो हप्ता दुई वटा एम्बुलेन्स गाउँपालिकामा आइपुग्ने प्रक्रियामा छ”, उपाध्यक्ष बर्तौलाले भने । उनलाई गाडी खरीदका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा रु २६ लाख रकम छुट्याएको थियो । उनले गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएदेखि नै पालिकाको कुनै पनि सवारीसाधन प्रयोग गरेका छैन ।

भौगोलिकताले विकट एवं पहाडी भू–भाग भएकाले गाउँपालिकाका बासिन्दाले समयमै उपचार पाउन् भन्ने उद्देश्यले आफ्नो सवारी बजेटबाट एम्बुलेन्स खरीद गर्न लगाएको उपाध्यक्ष बर्तौलाले बताए । उनले भने, “म जनताको सेवा गर्न निर्वाचित भएकी हुँ, म जहाँ पनि हिँडेर पुग्न सक्छु तर गर्भवती र बालबालिका तथा वृद्धवृद्धाका लागि समयमै उपचार होस् भन्ने चाहेर आफ्नो गाडीलाई छुट्याइएको रकमबाट एम्बुलेन्स खरीद गर्न भनेकी हुँ ।”

दुई वटा एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने उपाध्यक्ष बर्तौलाले जानकारी दिए । उनले भने, “मैले निर्वाचित भएदेखि नै घरबाट गाउँपालिका कार्यालय आउन जान सार्वजनिक यातायात प्रयोग गर्दै आएको छु ।”

उपाध्यक्ष बर्तौलाले आफूलाई आउने इन्धन खर्चलाई पनि सामाजिक सेवामै खर्चिएका छन् । उनलाई वार्षिकरुपमा इन्धनबापत आउने रु तीन लाख टुहरा तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्नुभएको हो । हालसम्म १४ विद्यालयका ४८ जना टुहुरा तथा अपाङ्गता भएका बालबालिकालाई उनीहरुको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले जनही रु छ हजार २५० सहयोग गरेका छन् ।

गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकामा अवस्थित ६९ वटा सामुदायिक विद्यालयबाट थप टुहुरा तथा अपाङ्गता भएका बालबालिकाको तथ्याङ्क उपलब्ध भयो भने ती बालबालिकालाई क्रमैसँग सहयोग उपलब्ध गराइने उपाध्यक्ष बर्तौलाले बताए ।

गाउँपालिकाको न्यायिक समिति अध्यक्षलगायत विभिन्न नौ वटा समितिको संयोजकका रुपमा रहनुभएकी गाउँपालिका उपाध्यक्ष वर्तौलाले कुनै पनि बैठकका भत्तासमेत लिनुहुन्न । यसअघि गत असारमा पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षमा जनप्रतिनिधिलाई सवारीसाधन खरीदका लागि छुट्याइएको बजेटबाट दमकल खरीद गरेका थियो ।

गत पुसमा सम्पन्न नपा कार्यपालिका बैठकले उक्त निर्णय गरेपछि कार्यालयको गाडी तथा वडाध्यक्षलाई मोटरसाइकल खरीदका लागि छुट्याइएको बजेटले दमकल खरीद गरिएको थियो । काभ्रेपलाञ्चोकमा छ वटा नगरपालिका र सात वटा गाउँपालिका छन् ।