२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघबारे कांग्रेसमा छलफलै हुन छाड्यो



अ+ अ-

काठमाडौं । नियमित दुई वर्ष र थप गरिएको पाँच महिनामा १२औँ महाधिवेशन हुन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले राजीनामा दिएको ६ महिना बितिसकेको छ । तर, निर्वाचित संगठन स्वतः विघटनमा पुगेको आधा वर्ष बितिसक्दा पनि तदर्थ समिति गठनबारे छलफल हुनै छोडेको छ ।

निर्वाचित कार्यसमितिले महाधिवेशन गर्न नसकेपछि आफूअनुकुलको समिति बनाएर महाधिवेशन गराउने लक्ष्य माउ पार्टी कांग्रेसले गरेको थियो । तर, कांग्रेस आफैँ तदर्थ समिति गठनमै अलमल गरिरहेको छ । यसका विधि, प्रक्रिया, नेतृत्वसहितका भागबन्डा नमिल्दा पार्टी संगठनको सबैभन्दा ठूलो नर्सरी मानिने नेविसंघ यतिखेर अस्तित्वविहीन अवस्थामा छ ।

कुन विषयले अड्कियो नेविसंघको तदर्थ समिति ?
निर्वाचित समितिले महाधिवेशन गर्न नसकेपछि तदर्थ समिति गठनका लागि खुला अवस्था भए पनि समितिको प्रक्रियामै अझै सहमति भएको छैन । विधानको व्यवस्थाअनुसार पदाधिकारीसहित एक सय एक सदस्यीय समिति बनाउने, महाधिवेशन गर्न संयोजक मात्रै तोक्ने वा सीमित पदाधिकारी मात्रै तोक्नेमा भन्नेमा कुरा मिलेको छैन । साथै, ३२ वर्षे उमेर हद पनि अर्को विवादको विषय हो ।

विधानमा व्यवस्था भइसकेकाले ३२ वर्षे उमेर हद लगाउनुपर्ने संस्थापनविरोधी पक्षको माग छ । तर, संस्थापन पक्षका नेताहरू १२औँ महाधिवेशन गराउनका लागि बन्ने समितिका लागि उमेर हद आवश्यक नपर्ने तर्क गरिरहेका छन् ।

अघिल्ला तदर्थ समितिको इतिहास यस्तो छ
यसअघि ज्ञानेन्द्रबहादुर कार्की, धनराज गुरुङ, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा र रञ्जित कर्णको नेतृत्वमा तदर्थ समिति बने पनि कार्की, गुरुङ, राठौर, शर्मा र कर्ण नेतृत्वको तदर्थ समितिले महाधिवेशन गरे ।

गुरुङ नेतृत्वको समितिले महाधिवेशन गर्न सकेन भनेर केशव सिंह सभापति बनाइए पनि उनले पनि महाधिवेशन गर्न सकेनन् । नेविसंघको इतिहासमा तदर्थ समिति बनाइएकामध्ये महाधिवेशन गर्न नसक्ने उनी मात्र हुन् । सिंहले नसकेपछि महेन्द्र शर्माले १०औँ महाधिवेशन गराउँदा प्रदीप पौडेल विजयी भए ।

को–को छन् अध्यक्षका सम्भावित दाबेदार ?
पार्टीले पर्याप्त तयारी नगरे पनि केही नेता अध्यक्ष दाबेदारीको दौडमा छन् । सभापति शेरबहादुर देउवा निकटबाट राजीव ढुुंगाना, ऋषिकेशजंग शाह, सरोज थापा, प्रकाश घिमिरे र प्रेम जोशी दाबेदार छन् । जसमा ढुंगाना र शाह पूर्वउपाध्यक्ष हुन् ।

घिमिरेलाई उपसभापति विमलेन्द्र निधि र बालकृष्ण खाणको पनि समर्थन छ । जोशी सहमहामन्त्री डा. प्रकाशशरण महत निकटका मानिन्छन् । यी दाबेदारमध्ये घिमिरे र जोशी मात्रै ३२ वर्ष मुनिका हुन् । देउवानिकटकै अम्बिका चलाउने पनि अध्यक्षका लागि दाबेदार हुन् । महामन्त्री डा. शशांक निकटबाट नीलकण्ठ रिजाल, सागर परियार पनि दाबेदार छन् । रिजाल ३२ माथिका र परियार ३२ मुनिका हुन् ।

आउँदो केन्द्रीय समिति बैठकपछि तदर्थ समिति गठन गर्छौँ : डा प्रकाशशरण महत
तदर्थ समिति गठनमा ढिलाइ भएको साँचो हो । तर, अब केन्द्रीय समितिको बैठकपछि नेविसंघको समिति गठनमा लाग्ने भन्ने कुरा भएको छ । सभापतिले नै यस्तो आश्वासन दिनुभएको छ । अरू कारणले भन्दा पनि सभापतिले सबैको सहमति लिन खोज्दा ढिलाई भएको हो । अब धेरै ढिलाई हुन्न ।

निवर्तमान अध्यक्ष महर भन्छन्– पार्टीमा भागबन्डाको सकस छ
मैले राजीनामा दिएको ६ महिना बितिसकेको छ । तर, तदर्थ समिति गठनको सुरसार छैन । अबको केन्द्रीय समितिको बैठक सकिएपछि मात्रै नेविसंघको विषय पार्टीको प्राथमिकतामा पर्ने देखिन्छ । पहिले पनि हामी निर्वाचितलाई महाधिवेशनका लागि पर्याप्त सहयोग मिलेन ।

भागबन्डा खोज्न हाम्रो समितिको विकल्प खोजियो, तर फेरि पनि भागबन्डामै कुरा मिलिरहेको छैन । तदर्थ समिति गठन गर्दा विधानअनुसार पदाधिकारीसहित एक सय एक सदस्यीय नै बनाउनुपर्छ । अब यसरी नेविसंघको विषय अड्काइरहनु हुँदैन । सभापतिले छलफल अघि बढाएर टुंग्याउनुपर्छ । कसरी गठन गर्ने भन्ने प्रक्रियागत विषयले नै नेविसंघलाई अड्काउनु हुन्न ।

नेविसंघप्रति पार्टी उदासीन छ : कुन्दन काफ्ले, विद्यार्थी नेता
नेविसंघप्रति पार्टीको उदासीनताले नै यस्तो समस्या आएको हो । अब ढिलाई भयो भनेर विधानविपरीत तदर्थ समिति गठन गर्न हुन्न । लामो समयसम्म समिति नभए पनि हामी सरोकारवालाहरूलाई बोलाएर पार्टीले पर्याप्त छलफल गरेको छैन । नेविसंघको गाँठो फुकाउनेबारे पार्टीमै पनि छलफल नभएको बुझेका छौँ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।