
काठमाडौं । संघीयता कार्यान्वयनमा आएपछि सिंहदरबारको सेवा–सुविधा गाउँ–गाउँमा पुग्ने अपेक्षा नागरिकमा थियो । तर, सञ्चालनमा आएको २ वर्ष बितिसक्दासमेत रामेछापका स्थानीय तहमा कर्मचारी अभाव उस्तै छ । गोकुलगंगा गाउँपालिकामा वडा सचिव अभाव हुँदा प्रशासनिक कामकाज नै ठप्प हुने अवस्था सिर्जना भएको छ ।
गोकुलगंगा गाउँपालिकामा ६ वडा छन् । तर, वडा सचिव भने दुईजना मात्रै छन् । भएका दुईमध्ये पनि एक सचिवको अन्यत्रै सरुवा भइसकेको छ । हाल दुई वडासचिवले ६ वटा वडाको काम गर्दै आएका छन् । वडा नम्बर ३ रस्नालु र ६ फर्पुबाहेकक अन्य वडा कार्यालयमा सचिव नै छैनन् । सचिव नहुँदा नागरिकले विगत २ वर्षदेखि हैरानी खेप्दै आएका छन् ।
सचिव खोज्दै भौँतारिन्छन् नागरिक
सम्बन्धित वडा कार्यालयमा सचिव नहुँदा चुचुरे, ठोसे, नामाडी र बेताली क्षेत्रको कामको जिम्मा वडा नं। ३ का सचिवलाई दिइएको छ । वडा कार्यालयमा सचिव नहुँदा चुचुरेका स्थानीय एक दिन पैदल हिँडेर सचिव खोज्दै रस्नालु धाउनुपर्ने बाध्यता छ । गाउँपालिकाको कार्यालयमा समेत कर्मचारी अभाव रहेको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए ।
‘वडा कार्यालयमा कर्मचारी पठाउन हामीले लामो समयदेखि ताकेता गर्दै आएका छौँ,’ अध्यक्ष सुनुवारले भने, ‘तर, सरकारले हाम्रो मागको सुनुवाइ नै गरेन ।’ दुई वर्ष बित्न लाग्दासमेत गाउँपालिकामा कर्मचारी अभाव उस्तै रहेको उनले बताए । ‘कर्मचारी अभाव हुँदा जनतालाई सहज तरिकाले सेवा प्रदान गर्न सकेका छैनौँ,’ अध्यक्ष सुनुवारले भने ।
जिल्ला प्रशासन कार्यालयबाट आश्वासन मात्रै
गाउँपालिका सञ्चालनमा आएसँगै जिल्ला प्रशासन कार्यालयले तत्काल आवश्यक कर्मचारी पठाउने आश्वासन दिएको थियो । ‘जिल्ला प्रशासन कार्यालयले आश्वासन दिएको पनि २ वर्ष बित्यो,’ अध्यक्ष सुनुवारले भने, ‘कर्मचारी नहुँदा नागरिकले भनेका वेला सेवा नपाउने समस्या छ ।’
गाउँपालिकामा भएका दुई वडा सचिवमध्ये पनि एकजनाको समायोजनपछि अन्यत्रै सरुवा भइसकेको छ । एक सचिव सरुवा भएर गएपछि बाँकी रहने एक सचिवको भरमा गाउँपालिकाको काम कसरी अघि बढाउने भन्ने चिन्ताले सताउन थालेको अध्यक्ष सुनुवारले बताए ।
कर्मचारी अभावले गुरुयोजना अलपत्र
कर्मचारी अभावकै कारण गाउँपालिकाले अघि सारको गुरुयोजना नै अलपत्र पर्ने अवस्था सिर्जना भएको अध्यक्ष सुनुवारले बताए । ‘गाउँपालिकाले खानेपानी, सडक र विद्युत्को पूर्वाधार निर्माणलाई गुरु योजनामा समेटेको छ,’ अध्यक्ष सुनुवारले भने, ‘तर कर्मचारी अभावले कुनै पनि कामलाई लक्ष्यअनुसार अघि बढाउन सकेका छैनौँ ।’
रामेछापका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डेले जिल्लाका अतिरिक्त जनशक्ति स्थानीय तहमा पठाइसकेको बताइन् । कृषि, पशु, स्वास्थ्य, जिल्ला समन्वय समिति, प्राविधिक कार्यालयलगाय निकायका कर्मचारी स्थानीय तहमा खटाइएको उनको भनाइ छ । ‘हामीसँग भएका कर्मचारी एक वर्षअघि नै हामीले स्थानीय तहमा खटाइसकेका छौँ,’ पाण्डेले भनिन्, ‘खटाउन बाँकी थप जनशक्ति अहिले जिल्लामा पनि छैनन् ।’
केन्द्रले नै पठाउनुपर्छ कर्मचारीः सिडिओ
जिल्ला प्रशासन कार्यालयले प्रशासनसम्बन्धी काम गर्ने नायब सुब्बा र खरिदार स्थानीय तहमा पठाएको छैन । त्यस्ता कर्मचारीको अभाव जिल्लास्थित कार्यालयमै पनि छ । ‘तत्काल केन्द्रले कर्मचारी नपठाउने हो भने यो कर्मचारी अभाव हट्दैन,’ सिडिओ पाण्डेले भनिन् । स्थानीय तह सञ्चालनमा आएपछि सबै सेवा–सुविधा गाउँमै प्राप्त हुने प्रचारबाजी सरकारले गरे पनि स्थानीय तहबाट प्राप्त हुने सेवा–सुविधामा सुधार नभएको गोकुलगंगा गाउँपालिका–४ बेतालीका विनोद फुँयालले बताए ।
उनले भने, ‘कर्मचारी अभावको कारण जग्गाको तिरो, सिफारिस, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्ता जस्ता काममासमेत धेरै समस्या छन् ।’ वडा कार्यालयमा सेवा लिन जाँदा घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो उनले गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












