८ असार २०८३, सोमबार
,
Latest
काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार भीमसेन जात्रा मनाइने



अ+ अ-

ललितपुर । मङ्गलबजार परिसरमा रहेको भीमसेन जात्रा शनिबार मनाइने भएको छ । भीमसेनलाई विशेषगरी व्यापार–व्यवसायमा लागेका मानिसले आरध्य देवका रुपमा पुज्ने गरेका छन् । भीमसेनलाई सुगन्धमय धूप साहै्र मनपर्ने भएकाले सो बालेर विशेष पूजा गरिने नेवार समुदायका मानिस बताउँछन् ।

भीमसेन मन्दिरमा शनिबार बिहानदेखि पूजा आरधनाका लागि स्थानीयवासीको ठूलो भीड लाग्ने मङ्गल टोल सुधार सङ्घले जानकारी दिएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन राति भीमसेन जात्रा मनाइने चलन छ । सो जात्रामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर शहरका व्यापारीहरु पूजाका लागि पाटन दरबार क्षेत्र परिसरमा आउने गरेका सङ्घका सचिव रविदर्शन धारीले जानकारी दिए ।

“जात्राका अवसरमा बेलुका भीमसेनको सानो मूर्तिलाई खटमा राखेर सुन्धारा, ओकुबहाल, हौगल, टङ्गाल, पिम्बहाल, पूर्णचण्डी कुम्भेश्वर हुँदै मङ्गलबजार परिक्रमा गराइन्छ”, धारीले भने, “रथयात्रा गराइने सो मूर्तिलाई दिउँसो नै मन्दिरबाट निकालिने गरिन्छ ।” जात्राका लागि भीमसेनको मूर्ति लिन जाँदा आँखा चिम्लेर अँध्यारो कोठाबाट झिकिने र सो मूर्ति हातमा पर्नासाथ रातो कपडाले छोपिने चलन रहेको बताइएको छ ।

भीमसेनलाई प्रत्येक टोलवासीले विशेष महत्व राखेर बासनादार धूप बालेर स्वागत गर्ने गर्छन् । यो जात्रालाई रातो मच्छिन्द्रनाथको जात्रापछिको दोस्रो ठूलो जात्राका रुपमा पाटनवासीले मान्ने गरेका छन् । सो अवसरमा पाटनका हजारौं भक्तजनले विभिन्न टोलबाट विभिन्न परिकार चढाएर नगर परिक्रमा गर्दछन् ।

भीमसेनको उपासनाले घरघरमा श्रीवृद्धि हुने मान्यता रहँदै आएको छ । भीमसेनको प्रिय परिकार लड्डु र पेँडा चढाई पूजाआजा गर्दा व्यवसाय राम्रो हुँदै जाने सुन्धाराकी सरिता महर्जनले बताए । देशभरका विभिन्न स्थानमा मनाइने भीमसेनको जात्रामध्ये ललितपुरमा हुने सो जात्रा सर्वाधिक लोकप्रिय मानिन्छ । चार वर्षअघि भत्किएको सो मन्दिरको पुनर्निर्माण हाल धमाधम अघि बढेको छ ।