काठमाडौं । नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदिप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरि निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले पार्टीलाई सुदृढ र संगठित बनाई अघि बढाउने कुरामा सधै साथ सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले निर्वाचन परिणाम संगै नेपाली कांगेसमा पुस्तान्तरण भएको भन्दै उहाँले बैचारिक रुपान्तरणका लागि विजयी पदाधिकारीहरुले नेतृत्व लिने विश्वास आफुले लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “म उहाँहरुलाई सहयोग गर्ने, पार्टीलाई सुदृढ बनाउने, संगठित बनाउने र अगाडि बढाउने कुरामा सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । नेपाली कांगेसमा पुस्तान्तरण भएको छ । अब बैचारिक रुपान्तरणका निम्ति साथीहरुले प्रयास गर्नुहुनेछ नेतृत्व लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । विधि व्यवस्थालाई कडाईका साथ लागु गरेर पार्टी चल्छ भन्ने मेरो विश्वास छ । ”
उहाँले निर्वाचन परिणामले पुरानो र नयाँ नेतृत्वहरुको समिश्रण पार्टीभित्र श्रृजना गराएको देखिएको भन्दै निर्वाचन पछि पार्टीभित्र आमएकता निर्माण हुने परिस्थिति बन्छ भन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।












