२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व मुद्दा दुई तहको अदालतमा



अ+ अ-

काठमाडौँ । सरकारले राजस्व छलीको मुद्दा जिल्ला न्यायाधिवक्ताको अनुमतिमा दुई तहको अदालतमा मात्र दर्ता हुने प्रावधानसहितको कानुन बनाउने तयारी गरेको छ । जिल्ला, उच्च र सर्वोच्च अदालतमा दर्ता हुने हालको प्रावधानलाई परिवर्तन गरेर उक्त व्यवस्था गरिएको हो ।

सरकारले राजस्व अनुसन्धान विभागलाई २०७४ फागुनदेखि प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने निर्णयपछि पहिलोपटक केही प्रावधान थपेर यस्तो कानुन ल्याउन लागिएको हो । राजस्वसम्बन्धी मुद्दालाई छिटो टुंग्याउन सुरुमा उच्च अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था गर्न लागिएको हो । अहिले विभागले जिल्ला अदालतमा मुद्दा दायर गर्दै आएको छ ।

प्रतिनिधिसभाको अर्थ समितिमा छलफलमा राजस्व चुहावट तथा नियन्त्रण ९अनुसन्धान तथा नियन्त्रण० ऐन २०५२ लाई संशोधन गर्न बनेको विधेयकमा उल्लेखित प्रावधानअनुसार राजस्व अनुसन्धान विभागले चलाउने यस्ता मुद्दामा पराजित हुने वादी वा प्रतिवादीले सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ । विभागले तोकेको अनुसन्धान अधिकृतले आफूले तयार गरेको सबुद प्रमाणसहितको मिसिल मुद्दा चल्ने वा नचल्ने निर्णयका लागि सम्बन्धित जिल्ला न्यायाधिवक्तालाई पेस गर्नुपर्नेछ ।

यसअघि भन्सार ऐनमा उल्लेख गरिएको अधिकार प्रत्यायोजनसम्बन्धी प्रावधानको प्रयोग गरेर राजस्व छलीका घटनाको अनुसन्धान र जरिवाना गर्ने दुवै अधिकार अर्थमन्त्रीस्तरीय निर्णयबाट विभागलाई दिइएको थियो । उक्त अधिकार २०७४ फागुनबाटै फिर्ता गरेपछि अहिले राजस्व विभागले अनुसन्धान गरेर न्यायाधिवक्तामार्फत मुद्दा चलाइरहेको छ ।

अनुसन्धान विभागमा महानिर्देशक दीर्घराज मैनालीले भने राजस्वका मुद्दालाई अझ छिटो र सरल ढंगले टुंग्याउन नयाँ व्यवस्था गरिएको हो । उनले उच्च अदालतमा रहेको वाणिज्यसम्बन्धी मुद्दा हेर्ने न्यायाधीशबाट यस्ता मुद्दा हेरिने बताए । विधेयकअनुसार विभागले अनुसन्धान गरेका सबै कसुरका मुद्दा अब अदालत लैजानुपर्नेछ । यसअघि भन्सार ऐनमा उल्लेखित प्रावधानमा टेकेर अनुसन्धान गर्ने र सबैजसो मुद्दा छिनोफानो गर्ने अधिकार विभागलाई नै दिइएको थियो ।

छापा मारेको उपलब्धि खोइ ?
पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सुरेन्द्र पाण्डेले राजस्व अनुसन्धान विभागले उद्योग तथा व्यावसायिक फार्महरूमा छापा मारेर देखिएको परिणाम सार्वजनिक गर्नुपर्ने माग गरे । ‘हामीले वर्षौंदेखि उद्योग र फार्ममा छापा मारेर सिल लगाउँदै आएका छौं त्यसको उपलब्धि के देखियो,’ पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘राज्यले त्यसबाट के प्राप्त गर्‍यो रु’ उनले छापा मारेर सरकारलाई के फाइदा भयो रु राजस्व कतिबढ्यो,’ उनले थपे, ‘त्यो एक्सन ठीक हो भने अरू अधिकार थप्नुपर्‍यो ।’ कति सामान बरामद गरियो, परिणाम हेर्नुपर्छ उनले भने ।

राजस्व चुहावट हुने स्थानमा कर्मचारीको उपस्थिति बढाउने भन्दा पनि सिस्टमले काम गर्ने संरचना बनाउनुपर्ने उनले बताए । पूर्वअर्थमन्त्री कार्कीले केही वर्ष पहिले दरबारमार्गमा मन्त्रीले नै छापा मारको प्रसंग जोड्दै यसको गलत सन्देश गएको बताए । उनले राजस्वको दरभन्दा पनि दायरा बढाउनुपर्ने बताए ।

कर छलीमा व्यपारी मात्र नभई राजनीतिक र कर्मचारीको पनि संलग्नता हुने गरेको बताए । सांसद विजयकुमार गच्छदारले राजस्व अनुसन्धान विभागले उद्योगहरूमा लामो समय सिलबन्दी गरेर राख्ने नीति परिवर्तन गर्नुपर्ने बताए । उनले सुराकीको आधारमा फार्म तथा उद्योगहरूमा सिलबन्दी गरेर महिनौंसम्म नखोल्दा त्यसबाट पर्ने असरप्रति बेवास्ता गरेको बताए । उनले अनुसन्धानका क्रममा सिलबन्दी गरेर गल्ती पत्ता लगाउनेभन्दा पनि उद्योगीसँग आर्थिक लाभका लागि बार्गेनिङ गरेको प्रवृत्ति रहेको दाबी गरे । सिलबन्दी गरिएका उद्योग बढीमा तीन दिनमा खुलाउने कानुन बनाउनुपर्ने तर्क गरे ।

कैद होइन, जरिवाना बढाऊँ
समितिमा बुधबार भएको छलफलमा उद्योगी व्यवसायी तथा सांसदहरूले राजस्व छल्ने व्यक्तिलाई बढी जेल सजाय गर्ने कि जरिवानाको रकम बढाउने भन्ने बहस सुरु गरेका छन् । समितिका सभापति कृष्णप्रसाद दाहालले व्यावसायिक गतिविधिका क्रममा भएका राजस्व छलीलाई अपराध मान्ने कि नमान्ने भन्ने व्यवसायीको भनाइ बहसको विषय भएको बताए ।

उनले व्यवसायीको मानमर्दनभन्दा पनि राजस्व चुहावट रोक्न सबैको पहलमा कानुनी प्रावधान राख्न खोजेको बताए । छलफलमा समितिका सदस्य तथा सांसद र व्यावसायिक संघसंस्थाका प्रतिनिधिले लामो समय जेल राख्ने कानुन बनाएर उद्योगधन्दा र व्यवसायी गतिविधिमा सञ्चालन नै गर्न नसक्ने परिस्थिति बनाउन नहुने सुझाव दिएका छन् ।
समितिले सरोकारवालासँग गरेको छलफलमा व्यापार सञ्चालन गर्दा हुने कमजोरीलाई कैद सजायभन्दा पनि जरिवानामा जोड दिनुपर्ने धारणा राखेका थिए ।

नेपाल उद्योग परिसंघका कृष्णप्रसाद अधिकारीले आर्थिक आर्जनका लागि गरिने कामबाट भएको गल्तीलाई अपराधमा जोड्न नहुने बताए ।

उनले राजस्व छली गरेको अभियोगमा सजाय गर्दा कैदभन्दा आर्थिक पक्षसँग जोडेर जरिवानामा बढाउन सकिने सुझाव दिए । ‘एउटा पुस्तालाई लामो समय जेल हाल्ने हो भने अर्को पुस्ताले त्यस्तो पेसा किन सञ्चालन गर्छ,’ उनले भने, ‘यसले लगानीकर्तामा ठूलो नैराश्यता ल्याउँछ ।’ प्रस्तावित विधेयकमा राजस्व छलीको बिगोको आधारमा ६ महिनादेखि ५ वर्षसम्म कैद तथा जरिवानाको व्यवस्था गरिएको छ ।

बदनियतपूर्वक नभई भुलबस वा अन्य कुनै कारणले गल्ती भएको भेटिए ५० लाख मूल्यभन्दा बढी राजस्व चुहावट भएको देखिएमा कसुरदारलाई ५० प्रतिशतसम्म कैद कम हुने व्यवस्था विधेयकमा छ ।

सिलबन्दीको समय तोक्नुपर्ने
चेम्बर अफ कमर्सका राजस्व समितिको सभापति पर्शुराम दाहालले अनुसन्धानको अवधि कति हुने समय सीमा तोक्नुपर्ने बताए । सिल लगाएको उद्योग महिनौं बन्द हुने अवस्था रहन नहुने उनले बताए ।

उद्योगहरू महिनौं बन्द हुने अवस्था रहेको बताए । आर्थिक अपराधलाई कैद सजायभन्दा पनि जरिवाना बढाउन सकिने तर्क गरे । घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले व्यवसायीले कुनै एउटा घटनामा गल्ती गरेमा कालोसूचीमा राख्न नहुने बताए ।

उनले भने, ‘सरकारको राजस्व चुहावट भए जसरी पनि उठाउने तर व्यवसायीको ह्याम्पर भएमा त्यसको क्षतिपूर्ति दिने व्यवस्था नभएको बताए । भन्सार एजेन्ट महासंघका विष्णुमणि खनालले फार्म र व्यापारीले गर्ने गल्तीको सजाय एजेन्टले पनि भोग्नुपर्ने प्रावधान नराख्न माग गरेका थिए । व्यापारीले दिने विवरणका आधारमा आफूहरूले वस्तुको आयात निर्यात गर्ने तर्क गर्दै खनालले त्यसमा एजेन्टको गल्ती नहुने दाबी गरे ।

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिर ढुंगाना, अर्थ सचिव राजन खनाल, राजस्वका महानिर्देशक मैनालीलगायतले राजस्व छलीलाई संरचनात्मक दायरामा ल्याउने र व्यवसायीमाथि हुने कारबाही पारदर्शी र निष्पक्ष बनाउन विधेयकमा नयाँ प्रावधानहरू उल्लेख गरिएको बताए ।

उनीहरूले सांसदहरू र व्यवसायीले दिने सुझाव समेटेर अझा राम्रो कानुन बन्न सक्ने बताए । उक्त विधेयकमाथिको दफाबार छलफल भने आइतबारदेखि हुने सभापति दाहालले जानकारी दिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।