२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोर्गन र जियोमेटिक्स इन्जिनियरिङलाई विद्यार्थी भर्नामा रोक



अ+ अ-

काठमाडौं । नेपाल इन्जिनियरिङ काउन्सिलले निर्धारण गरेको मापदण्डमा आधा अंक पनि नल्याएपछि काठमाडौंका दुई इन्जिनियरिङ कलेजलाई भर्ना गर्न रोक लगाइएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त धापासीस्थित मोर्गन र बानेश्वरको जियोमेटिक्सलाई यसपटक भर्ना नगर्न काउन्सिलले पत्राचार गरेको हो ।

काउन्सिलका अध्यक्ष इन्जिनियर डिल्लीरमण निरौलाले इन्जिनियरिङ शिक्षाका लागि हुनुपर्ने न्यूनतम मापदण्डसमेत नभएपछि भर्ना रोकिएको बताए । ‘अटेर गरी पूर्वाधार पूरा नगरेकाले यसपटकको भर्ना नलिन पत्राचार गरेका हौँ,’ निरौलाले भने, ‘पुराना विद्यार्थीका लागि समेत सुविधा अभाव भएकाले नयाँ भर्ना रोक लगाएको हो ।’ इन्जिनियरिङ शिक्षा दिने संस्थाका लागि काउन्सिलले ल्याब, लाइब्रेरी, कक्षाकोठा, शिक्षक, स्थानको मापदण्ड बनाएको छ । मोर्गन र जियोमेटिक्समा भौतिक पूर्वाधारदेखि योग्य शिक्षकको समेत अभाव भएको काउन्सिलले जनाएको छ । यी कलेजमा सिभिल, कम्प्युटरलगायत कार्यक्रम सञ्चालन थिए ।

दुवै कलेजलाई मापदण्ड अपुग भएको भन्दै आवश्यक सुविधाको व्यवस्था गर्न काउन्सिलले पहिलेदेखि नै सचेत गराएको थियो । काउन्सिलको टोलीले अनुमगन गरी अत्यावश्यक पूर्वाधार निर्माणका लागि सचेत गराए पनि कलेजले अटेरी गरेको थियो । अध्यक्ष निरौलाले भने, ‘तीन महिनापछि अनुगमनमा जाँदा पनि उस्तै भयो, गुणस्तर कायम गर्नका लागि यसपटकका लागि भर्ना रोक्न बाध्य भयौँ ।’

पास मार्क्सको आधार पनि आएन नम्बर
इन्जिनियरिङको नियामक निकाय इन्जिनियरिङ काउन्सिल हो । सो संस्थाले एउटा इन्जिनियरिङ कलेज सञ्चालनका लागि विभिन्न सूचक निर्धारण गरेको छ । काउन्सिलले गरेको व्यवस्थाअनुसार पास हुनका लागि मात्र पनि विभिन्न सूचकका आधारमा ७० अंक प्राप्त गर्नुपर्छ ।

काउन्सिल पदाधिकारीका अनुसार अनुगमन गर्दा ती कलेजले ४०–४५ अंक मात्र प्राप्त गरेका छन् । ल्याब, लाइब्रेरी, कक्षाकोठा, शिक्षकलगायतको सुविधा पूरा गरेपछि मात्रै कलेजले भर्नाको अनुमति पाउने उनीहरूले बताए । आफूहरूले नियन्त्रण गर्न नभई गुणस्तरीय शिक्षाका लागि प्रयास गरेको काउन्सिल पदाधिकारीको दाबी छ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि अहिले स्नातक तहमा भर्नाको प्रक्रिया सुरु भएको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।