
रोल्पा । केही दिनअघि रोल्पा जिल्ला अस्पतालमा खचाखच बिरामी थिए। इन्डोरमा शड्ढया संख्याभन्दा बढी बिरामी भर्ना गरेर राखिएको थियो। बिरामीलाई औषधि दिनुपर्ने। त्यही समयमा एक महिला प्रस्रवपीडामा छटपटाइरहेकी थिइन्। झ्याप्प बत्ती गयो। सोलार बल्न छोडेको धेरै भएको थियो। हुनुपर्ने जति समस्या भयो। ‘उपाय केही थिएन। मैनबत्ती खोजेर बाल्यौं। अलिबेर त्यसैको उज्यालोमा काम गर्यो,’ अस्पतालका डा. प्रकाश बुढाले भने, ‘यो समस्या निकै पुरानो हो। ’
डा. प्रकाशलाई जस्तै सकस एक्सरे फाँटका कर्मचारीलाई पनि परेको छ। ‘बिचरा बिरामी टाढाटाढाबाट आउनुभएको हुन्छ। बत्ती गइराख्छ। अन्य विकल्प केही छैन। आज हुने कामका लागि बिरामीले अर्को दिन कुर्नुपर्छ,’ रेडियोलोजिस्ट उमेश कालामगरले भने, ‘कहिले त दिनमा १२/१५ पटक बत्ती जान्छ। एक पटक गयो भने सबै मेसिन रि–स्टार्ट गर्नुपर्छ। साह्रै समस्या परेको छ। ’ उमेशलाई जस्तै प्रयोगशालामा रहेका कतिपय जाँचका लागि पनि पटकपटक बत्ती जाँदा हैरानी छ।
केही महिनाअघि बच्चा जन्माउन छटपटाएकी जुनकुमारी ‘जीवन–मृत्यु’को बीचमा थिइन्। बच्चाले पेटमै दिसा गरिसकेको अनि मुटुको धड्कन पनि कम थियो। आमालाई अस्पताल ल्याउन ढिलो भएकाले अपे्रसन गर्न रिस्क थियो। आर्थिक अभावले बाहिर लैजान सक्ने अवस्था थिएन। परिवारलाई बच्चा नबाँच्न पनि सक्छ भनियो। श्रीमान्ले जे पर्छ अप्रेसन गरिदिनुस्, सकेसम्म बचाइदिनुस् भने। सीमित स्रोतसाधन भएको अस्पतालमा रिस्कका साथ अप्रेसन नगरी नहुने भयो। नगर्दा आमाबच्चाकै ज्यान जोखिममा भएकाले डा/ प्रकाश बुढा र अनिल केसीको टिमले अप्रेसन सुरु गरे।
डाक्टरले भर्खर पेटमा घाउ बनाएका थिए, झ्याप्प बत्ती गयो। उपाय केही थिएन। डाक्टर र नर्सले मोबाइलको टर्च बाले अनि अप्रेसन गरे। ‘बच्चाको साइन्स अफ लाइफ नै थिएन। म्युकोनियममा लतपतिएको थियो। आमाको पेट चिरेको घाउमा टेट्रा ‐गज प्याक गरेर छोडें,’ डा. अनिल केसीले सुनाए, ‘बच्चालाई इमर्जेन्सी श्वासप्रश्वासका लागि ब्यागिङ ‐नली राखेर कृत्रिम श्वासप्रश्वास सुरु गरें, अलि सुधार आयो। ’ यसरी अप्रेसनका समयमा बत्तीले धोका दिएको यो पहिलो पटक भने होइन। अस्पतालका चिकित्सक समयसमयमा आउने यस्तो समस्याबाट हैरान छन्।
त्यस्तै जिल्ला अस्पताल रोल्पामा रगतको पनि अभाव हुने गरेको छ। पटकपटक पर्ने बत्ती र रगतको समस्याबारे जानकार भएर पनि सरोकारवाला कसैले समस्या समाधानमा चासो दिएका छैनन्। भौतिक संरचना सहज छैन।
पर्याप्त दरबन्दी र सेवासुविधा छैन। तर अत्यावश्यक समस्या समाधानमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने देखिन्छ। ‘प्रदेशबाट आएन भने हामीले जेनेरेटर किन्ने बजेट छुट्ट्याएका छौं। प्रदेशले किनिदिन्छौं भनेको छ। केही महिनासम्म हेरौं, त्यतिन्जेल पनि प्रदेशले खरिद गरेन भने हामी प्रक्रिया अगाडि बढाउनेछौं,’ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।












